ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्यान्माले अड्कायो हिमालय–२ हवाई मार्ग

Apr 24, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपालको आकाश हुँदै अन्तरराष्ट्रिय उडान गर्न सकिने हिमालय–२ रूट म्यान्मा (बर्मा) का कारण अन्योलमा परेको छ । बंगालको खाडीमा रहेको ट्राफिक कन्जेशन (भीड) घटाउन अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले सन् २००१ देखि सञ्चालन गर्न खोजेको यो रूट म्यान्माको माथिल्लो क्षेत्रमा सञ्चार तथा निगरानी (कम्युनिकेशन एन्ड सर्भिलेन्स) को राम्रो व्यवस्था नहुँदा अलमलमा परेको हो ।

पश्चिममा महाकालीबाट नेपाल प्रवेश गरेर मेची हुँदै भारतीय आकाशमा जोडिने हवाई रूट नै हिमालय–२ हो । यो रूटले प्राविधिक भाषामा ‘एल–६२६’ भनिने नेपाली आकाशको हवाई मार्ग हुँदै भारतका पश्चिम बंगाल, असम र अरुणाचल प्रदेश जोड्छ । त्यहाँबाट म्यान्माको माथिल्लो क्षेत्र हुँदै चीन र हङकङ तथा त्यहाँबाट जापानसम्म विमानहरूको उडान हुन सक्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले चल्तीमा रहेको बंगालको खाडीको रूटभन्दा यो रूट ११४ नटिकल माइल छोटो छ । यसबाट उडान समय १५ देखि २० मिनट घट्नेछ । यो रूट चालू भएमा हरेक वर्ष १ हजार ६६० टन इन्धन बचत हुनेछ र ५ हजार २०० टन कार्बन उत्सर्जन घट्नेछ ।

यो रूटका विषयमा २०७३ पुस ६ मा भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत द्विपक्षीय हवाई सेवा वार्तामा सहमति भएको थियो । यो रूटबारे चीनसमेत सहमत भइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनका अनुसार यो नेपालका लागि मात्रै नभएर यस क्षेत्रकै लागि महत्त्वपूर्ण हवाई रूट बन्न सक्छ । हिमालय–२ रूट सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक भएको र यसनिम्ति पर्यटन मन्त्रालयले परराष्ट्र मन्त्रालयमा लेखिपठाएको तर त्यसपछि कुनै प्रगति नभएको लामिछानेको भनाइ छ ।

प्राधिकरणका निर्देशक दीपक बराल भन्छन्, ‘यो रूट चालू हुन सके अन्तरराष्ट्रिय उडानहरूले नेपालको आकाश प्रयोग गर्ने र त्यसबापत कम्युनिकेशन तथा नेभिगेशन चार्ज लिन सकिने भएकाले नेपाललाई प्रत्यक्ष फाइदा हुनेछ ।’ यो मार्ग छोटो मात्र नभई हिमालयको नजीकमा समेत पर्ने भएकाले नेपालको पर्यटन प्रवर्द्धनका लागि पनि सहयोगी बन्न सक्ने बरालको धारणा छ ।

प्रारम्भिक चरणमा भारत, चीन र मध्यपूर्वका मुलुकले आफ्नो हवाई सेवामा असर पर्ने बताउँदै यस मार्गलाई बेवास्ता गरेका थिए । तर, सन् २००९ देखि कार्बन उत्सर्जनमा कमीको मुद्दालाई केन्द्रमा राखेको चीनले विस्तारै यसप्रति चासो व्यक्त गर्न थालेको हो । यसबीच भारतमा एअर ट्राफिक बढ्दै गएकाले उसका लागि पनि यो रूट उपयोगी हुने देखिएको छ ।

‘एल–६२६’ हवाई मार्ग अहिले काठमाडौंबाट नयाँदिल्ली हुँदै पश्चिमी गन्तव्यमा उडान गर्ने विमानले मात्र प्रयोग गरिरहेका छन् । नेपालको आकाश हुँदै भुटान–नयाँदिल्ली उडान गर्ने विमानले पनि यही रूट प्रयोग गर्छन् । यसमा नेपाल–भारत–म्यान्मा–कुन्मिङ–हङकङ रूट थपिएपछि हिमालय–२ को रेखांकन पूरा हुने प्राधिकरणले जानकारी दिएको छ ।

 

यो पनि पढ्नुहोस्

अझै अन्योलमा हिमालय–२
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)