ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० बज्ने बित्तिकै ३५० भन्दा बढी कामदार त्रिभुवन विमानस्थलको रनवे पस्छन् (यसरी हुँदैछ काम, फोटो फिचर)

Apr 24, 2019  
मुख्य खबर फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख ११, काठमाडौं । झण्डै ४० वर्षभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर सञ्चालन गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गको नयाँ कालोपत्रे गर्ने कार्य तिब्र गतिमा अघि बढेको छ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच पहिलोपटक पुरै फालेर नयाँ पिच गर्न काम भइरहेको छ । नयाँ पिचले पुनः ३० देखि ४० वर्षसम्म काम दिने छ ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले रू. ४ अर्ब २७ करोडमा रनवेको स्तरोन्नतिको काम गर्दैछ । यो कामको लागि नेपाली र चिनियाँ गरी दैनिक ३५० जनाभन्दा बढीको जनशक्ति खटिरहेको छ । अप्रिल १, २०१९ बाट शुरु गरिएको रिह्यावको काम ३ महीना भित्र सक्ने नेपाल नागरिक उडड्यन प्राधिकरणको लक्ष्य छ ।

त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किने चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना अनुरुप यो परियोजना शुरु गरिएको हो । धावनमार्ग निर्माणको कामका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द रहन्छ । विमानस्थलका उडान बन्द हुनासाथ तयारी अवस्थामा रहको जनशक्ति विमानस्थल प्रवेश गरी काममा खट्ने गरेका छन् ।

विमानस्थलमा नोटाम (नोटिस टु एअर मेन) लाग्नासाथै काम शुरु हने र बिहान ८ बजेसम्म पुनः नियमित उडान गर्न मिल्ने गरी रिह्यावको काम भइरहको प्राधिकरणमा महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए । उनले भने, ‘यो काम निकै चुनौतीपूर्ण छ । एक मिनेट मात्रै काममा ढिला हुँदा पनि बिहान जहाज होल्ड गराउनुपर्ने अवस्था आउँछ । दिनमा गर्न हामीसँग अर्को विमानस्थल नभएकाले सम्भव छैन ।’

अहिले केही घण्टा विमानस्थल बन्द गर्दा केही समय समस्या देखिएपनि यसको निर्माण भइएसक्दा यसले दिने परिणाम सुखद हुने गौतमको भनाइ छ । काम शुरु भएपछि वर्षाका कारण एक दिनमात्रै पूर्ण रुपमा काम रोकिएको महानिर्देशक गौतमले जानकारी दिए ।

यसरी हुँदैछ काम जब राति १० बजे विमानस्थल बन्द हुन्छ । विमानस्थलको धावनमार्गको दक्षिण क्षेत्र (जिरो टु) तर्फबाट निर्मााण कम्पनीले काम शुरु गर्छ । तम्तयार अवस्थामा बसेका उपकरणसहितको जनशक्ति विमानस्थलको (जिरो टु) रनवेमा प्रवेश गर्छ । रनवेमा पुगेका उपकरणमध्ये मिलिङ (पुरानो पिच उप्काउने) मेसिनले पिच उप्काउने काम गर्छ । मेसिनले तीन चरणमा १०/१० सेन्मिटरका दरले पिच काट्ने काम गर्छ । उसको अगाडी तयारी अवस्थामा रहको ट्रिपरमा मिलिङ मेसिनले काटेको पिच स्वचालित मेसिनबाट सिधै लोड गरिन्छ । पिच उप्काइएको ठाउँमा सफा गरी पुनः तीन चरण गर्दै आधुनिक पेभलर मेसिनबाट नयाँ पिच गरिन्छ । रनवेमा राति १० बजेबाट बिहान करीब ५ बजेसम्म काम गरिन्छ । रनवेमा थपिएको नयाँ पिच सेट हुन कम्तिमा ३ घण्टाको समय लाग्ने हुँदा ८ बजेसम्म त्यसै छोडिने गरिएको नागरिक उड्ययन प्राधिकरण अन्तर्गतको अन्तरराष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलले जानकारी दिए ।

हरेक दिन अवस्था हेरेर निश्चित मिटर रनवेमा स्तरोन्नतिको काम हुने गरेको र हालसम्म करीब २५० मिटर रनवेको पिच फेरिएको उनले बताए । यही प्रक्रियाअनुसार ३ महीनाभित्र ३ किलोमिटर ५० मिटर लामो धावनमार्ग पुरै नयाँ बन्नेछ । धावनमार्गको कामसँगसँगै सेन्ट्रल लाइट (धावनमार्गको बीचमा जमिन मुनि राखिने लाइट) राख्ने काम पनि सँगसँगै भइरहको छ ।

रिह्याबको काम गरे विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुने प्राधिकरणको धारणा छ । रनवेको काम सकिएपछि ८ महीनाभित्र ‘ट्याक्सी वे’को काम सक्ने योजना प्राधिकरणको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान गरी दैनिक सरदर ४०० उडान हुने गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)