ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रष्टाचारज्यूको खोजी !

Apr 26, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
युक्रेनमा हास्य कलाकार भ्लादिमिर जेलिन्स्की राष्ट्रपति बनेछन् । उनले जीवनभरि हँसाए, सरकार चलाउन परेपछि अब पक्कै सिरियस हुन्छन् होला । तर, यता नेपालमा हाम्रा प्रधानमन्त्री ओली लामो समय सिरिएस भएर राजनीति गर्नुभयो । अहिले प्रम भएपछि भने सबैलाई हँसाउने गर्नुभएको छ । अब उहाँलाई सिरिएस हुनु जरुरी पनि भएन होला । अर्को शब्दमा भन्दा, जेलिन्स्की जोकर हुँदै राजनीतिज्ञ बने । ओली राजनीतिज्ञ हुँदै जोकर बनिरहनुभएको छ । प्रायः जोक सुनाइरहनुहुन्छ । उहाँले बारम्बार सुनाइरहने एउटा जोक हो ‘भ्रष्टाचारीलाई समात्छु र निर्मूलै पार्छु’ भन्ने । त्यसो त सत्ता र शक्तिमा पुग्नेबित्तिकै प्रायः सबैले भ्रष्टाचारज्यूलाई मेटेरै छाड्छु भनेर कसम खाने गरेका छन् ।
भ्रष्टाचारज्यू नेपाली परम्पराका धरोहर हुन्, कुलका गौरव हुन् । उहाँ विरुद्ध हजारौं प्रतिवेदन लेखिए, सयौं मुद्दा परे । आम्दानीभन्दा बढी आर्जन कसरी भयो भन्ने प्रश्न पनि उठे । तर, उहाँ सधैं ससम्मान दोषमुक्त हुनुभयो ।
बिचरा भ्रष्टाचारज्यूले कसको के बिगार्नु भएको थियो र उहाँलाई निर्मूलै पार्नुपर्ने ? कहिले माइतीघरमा धर्ना, कहिले सिंहदरबार गेट अगाडि जुलुस प्रदर्शन र नाराबाजी । भ्रष्टाचारज्यूलाई मेट्नैपर्ने, हटाउनै पर्ने रे । किन होला ? भलै यी सबै गतिविधिले भ्रष्टाचारज्यूलाई कुनै फरक पर्नेवाला भने छैन है । उहाँले इतिहासमा भ्रष्टाचारविरोधी ठूला मान्छे धेरै नै देखिसक्नुभएको छ । भ्रष्टाचारज्यूलाई लाग्दो हो कि ‘यस्ता गफ दिने जोकरहरू कति आए, कति गए, आफूलाई केही फरक पर्नेवाला छैन, आफ्नो काम गर्दै जाऊ बाबु’ भनेर । हरेक भेला, गोष्ठी, छलफलमा प्रधानमन्त्रीले पनि आफू सत्तामा आएपछि भ्रष्टाचार डराएकोले ऊ देशबाट भागिसक्यो भनेर पनि ठोकुवा गर्ने गर्नुभएको छ । उहाँले देशमा कतै भ्रष्टाचार भेटिए समातेर ल्याउनू, इनाम दिन्छु समेत भन्नुभएको छ । रमाइलो कुरो चैं के छ भने प्रायः जुन सभा र गोष्ठीहरूमा प्रम पुग्नुहुन्छ, त्यहाँ उहाँसँगै कुम जोडेर भ्रष्टाचारज्यू पनि मुसुमुसु हाँसेर बसिरहनु भएको हुन्छ । तर, बिचरा प्रम उहाँलाई देख्न सक्नुहुन्न । धेरै नजीकको वस्तु देख्न सकिँदैन नि त । जस्तै, आफ्नै नाकमुनिको भाग कसले पो देख्न सक्छ र ? उहाँ अर्थात् भ्रष्टाचारज्यू देखिनुहुन्न, तर उहाँ सर्वव्यापी हुनुहुन्छ । यहाँ, वहाँ, जहाँ, तहाँ, उहाँ सबैतिर हुनुहुन्छ । अफिस अफिसमा, टेबल टेबलमा, फाइल फाइलमा, कलम कलममा । दूधका पोका पोकामा, मेलम्चीको पानीको फोकामा, सिंहदरबारको ढोकामा, सडकमा, विश्वविद्यालयमा, न्यायालयमा । यहाँसम्म कि राष्ट्रपति निवासदेखि ललिता निवास, चेलीबेटीका रोजीरोटीदेखि पशुपतिका भेटीसम्ममा उहाँको कमाल देख्न सुन्न पाइन्छ । पाए भ्रष्टाचारज्यूलाई भेट्न नचाहने कोही हुँदैनन् होला । तर, भेटेको कुरा कोही बताउन भने चाहँदैन । रमाइलो कुरा के छ भने हाकिमहरू आफ्नो कार्यालयमा भ्रष्टाचारज्यू छैन भनेर सगौरव घोषणा पनि गर्छन् । तर, फेरि भ्रष्टाचारज्यूलाई पक्रने कुरा पनि गर्छन् । ए बाबा ! हुँदै नभएको भए उसलाई पक्रने कुरा चैं किन गरिराको होला ? अझ भ्रष्टाचारज्यूकी सहोदर दिदी महँगीलाई त धेरैले चिन्दा पनि चिन्दैनन् । दिदीको उत्तरोत्तर प्रगतिमा भाइ भ्रष्टाचारकै प्रत्यक्ष अप्रत्यक्ष हात रहेको हुन्छ । महँगी र भ्रष्टाचार दिदीभाइ प्रायः सँगै हिँड्ने, खाने गर्छन् । कहिले दिदी अगाडि, कहिले भाइ । प्रत्येक कदम कदममा एकअर्काको साथ र सहयोग रहेकै हुन्छ । यो क्रम कपडादेखि किताब खरीदसम्म, मेडिकल कलेजको फीदेखि तरकारी, फलफूलसम्म, वाइडबडी जहाजदेखि सेनाको बिस्कुट खरीद गर्दासम्म दिदी महँगीको भाइ भ्रष्टाचारज्यूसँग सल्लाह, सहयोग र सहभागितामा हुन्छ । सबैले अनुभव गरेकै कुरा हो कि लडाकूको भत्तादेखि नक्कली भ्याट बिल, सुडान काण्डदेखि, नुन, सुन, तेल र एनसेल काण्ड लगायतका सबै श्रृंखलामा यी दिदीभाइले राम्रै नृत्य प्रदर्शन गरेका थिए । जान्ने बुझ्ने अर्थशास्त्रीहरू भन्छन्, भ्रष्टाचारज्यू र विकास पनि नजीककै दाजुभाइ पर्ने हुन् । जहाँ जहाँ विकास जान्छ, त्यहाँ त्यहाँ भ्रष्टाचारज्यू आफै पुग्नुहुन्छ । कहिले करोड पर्ने कार, जीप वा भ्यान चढेर, कहिले एस्क्याभेटर वा लोडरमा गुडेर । यति कुरा दाबीका साथ भन्न सकिन्छ कि नेपालको कुनै पनि सरकारी कार्यालयमा उहाँविना कुनै काम हुनै सक्तैन । सरकारमा बसेर जनताको सेवाका लागि समर्पित कतिपय राष्ट्रसेवकहरूलाई नै हेर्नुस् न । सुरुवालको इँजारले कसिएर दाउरी परेको पेट भ्रष्टाचारज्यूको शरणमा जानेबित्तिकै दिन दुईगुना, रात चौगुनाका दरले कसरी भुँडीको विकास भइरहेको हुन्छ ? भ्रष्टाचारज्यू जहाँ जानुहुन्छ त्यहाँ उहाँसँग सहमत सबैको प्रगति गराईदिनुहुन्छ । त्यसैले यो पंक्तिकारको मत छ कि भ्रष्टाचारज्यू हात्ती हो भने विकास पुच्छर, भ्रष्टाचारज्यू आगो हो भने विकास धूँवा, एउटा पछिपछि अर्को, सँगसँगै । जो भ्रष्टाचारज्यूको तेजोवध वा विरोधमा लाग्छन्, तिनीहरूको हविगत प्रेम सञ्जेलजस्तै ठिसलाग्दो हुन्छ । विगतमा जजसले भ्रष्टाचारज्यूलाई भगाउँछु भनेर लागे, उनीहरू आफै लगौंटी कसेर भागे । कोही बन्दूक देखाएर भागे । कोही प्रतिवेदन देखाएर भागे । कोही दौरा र टोपीमा भागे । कोही धोती र गम्छासँगै भागे । कोही रूखमा चढेर भागे । कोही हँसिया हथौडा देखाएर भागे । कोही गाई र हलो देखाएर भागे । कोहीले बोतलै पिएर भागे । कोही जुस मात्र पिएर भए पनि भागे । कोही नयाँ कोट सिएर भागे । भाग्न चैं सबै सबै भागे । भ्रष्टाचारज्यू नेपाली परम्पराका धरोहर हुन्, कुलका गौरव हुन् । उहाँ विरुद्ध हजारौं प्रतिवेदन लेखिए, सयौं मुद्दा परे । आम्दानीभन्दा बढी आर्जन कसरी भयो भन्ने प्रश्न पनि उठे । तर, उहाँ सधैं ससम्मान दोषमुक्त हुनुभयो । अन्तमा आय त सबैको बढाउनैपर्ने हुन्छ नि त । त्यसैले यो सिङ र पुच्छरै नभेटिने भ्रष्टाचारज्यूको खोजीमा समय बर्बाद गर्नुभन्दा बरू उहाँलाई एउटा सर्वशक्तिमान् दैवी शक्ति सम्झेर उहाँको प्रशस्तिमा भजन गाउन शुरू गरौं । उहाँको अनुकम्पाले यो भौतिक जीवनमा केही उन्नति भैहाल्छ कि ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)