ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसेलबाट कर नउठाउन सर्वोच्चको अन्तरिम आदेश

Apr 26, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
वैशाख २३ मा एनसेल र सरकारी निकायबीच छलफल काठमाडौं । एनसेल प्रालिबाट कर उठाउने काम वैशाख २३ सम्म स्थगित राख्न सर्वोच्च अदालतले बिहीवार ठूला करदाता कार्यालय लगायत निकायलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले उक्त आदेश दिएको हो । सर्वोच्च अदालतले यसअघि गरेको आदेश र कानून विपरीत करदाता कार्यालयले रू. ३९ अर्बभन्दा बढी कर दाखिला गर्न पत्र पठाएको उल्लेख गर्दै एनसेलले गत सोमवार सर्वोच्च अदालतमा रीट दायर गरेको थियो । उक्त पत्र अधिकारविहीन भएको दाबीसहित बदर गर्न एनसेलले माग गरेको थियो । करदाता कार्यालयले एनसेल खरीद विक्री गर्दा लाग्ने लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ९१५ रुपैयाँ ७१ पैसा बुझाउन वैशाख ३ मा पत्र पठाएको थियो । गत माघ २३ मा सर्वोच्चले एनसेलले यसअघि बुझाइसकेको रकम समेतलाई दृष्टिगत गरी ३ महीनाभित्र कर निर्धारण र असुल गर्न आदेश दिएको थियो । एनसेलले २०७३ वैशाख २६ मा पूँजीगत लाभकर बापत रू. २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९०० र विलम्ब शुल्क बापत २०७४ जेठ २१ मा रू. २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८५१ करदाता कार्यालयलाई बुझाएको थियो । पूँजीगत लाभकर २५ प्रतिशत तिर्नुपर्ने कानूनी व्यवस्था छ । सोही अनुसार आफूले यसअघि रू. २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९०० तिरिसकेको एनसेलको रीटमा उल्लेख छ । उक्त रकम आफूले तिर्नुपर्ने करको १५ प्रतिशत भएको र बाँकी १० प्रतिशत अर्थात् रू. १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० बुझाउनुपर्ने देखिएको एनसेलको दाबी छ । एनसेलको खरीद विक्री मूल्य रू. १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख ६ हजारको लागत मूल्य रू. १ अर्ब १२ करोड ८८ लाख भएको रीट निवेदनमा दाबी गरिएको छ । खरीद विक्री मूल्यबाट लागत मूल्य घटाउँदा कायम भएको रू. १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारलाई एनसेलले पूँजीगत लाभ रहेको जिकीर गरेको छ । बिहीवार भएको बहसमा एनसेलको तर्फबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शम्भु थापा, कोमलप्रकाश घिमिरे लगायतले आफ्नो भनाइ राखेका थिए । यस्तै, उक्त विवादमा सामेल भई वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रीट निवेदन खारेज गर्न माग गरेका थिए । एनसेलको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले करदाता कार्यालयले आयकर ऐन, २०५८ मा भएको कानूनी व्यवस्थालाई छली कम्पनीलाई कर लगाएको दाबी गरेका थिए । यसअघि करदाता कार्यालयले लगाएको कर टेलियासोनेरालाई भएको उल्लेख गर्दै त्यस्तो कर सर्वोच्चले खारेज गरी पुनः कानून बमोजिम कर निर्धारण गर्नु भनेर आदेश दिएको उनीहरूको दाबी थियो । सर्वोच्चले दिएको आदेश बमोजिम कर निर्धारण नगरी करदाता कार्यालयले टेलियासोनेरालाई लगाएको कर नै निर्धारण गरी एनसेललाई पत्र पठाएको इजलाश समक्ष उनीहरूले बताएका थिए । टेलियासोनेरा, नर्वेले २०७२ चैत २९ मा एनसेलमा रहेको आफ्नो शेयर आजियटा, यूकेलाई विक्री गरेको थियो । त्यस बापतको लाभकर विवाद हालसम्म कायम छ । यसैबीच, बिहीवार जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने भन्ने सम्बन्धमा आगामी वैशाख २३ मा रीट निवेदक र रीटमा विपक्षी बनाइएका सरकारी निकायका प्रतिनिधिहरूबीच सर्वोच्चमा छलफल हुने भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)