ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रपतिको राजकीय भ्रमण : चीनसँग भन्सार सहयोग सम्बन्धी सम्झौता हुने

Apr 26, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको जारी चीन भ्रमणका क्रममा दुई मुलुकबीच भन्सार प्रशासन सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बाहिरका मुलुकसँग हुन लागेको त्यससम्बन्धी यो पहिलो सम्झौता हो । सरकारले सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी अर्थ मन्त्रालयलाई प्रदान गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । अन्तरराष्ट्रिय सहकार्यका लागि दोस्रो बेल्ट एण्ड रोड फोरमको सम्मेलनका अवसरमा चीनले राष्ट्रपति भण्डारीलाई राजकीय भ्रमणको निम्तो दिएको हो । राष्ट्रपति भण्डारी सहितको टोली यतिबेला चीनमा छ । सम्झौतामा अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे र चिनियाँ समकक्षीले हस्ताक्षर गर्ने तय भएको छ । नेपालको भन्सार विभाग र चीनको भन्सार प्रशासनबीच सहयोग सम्बन्धी सम्झौताले दुई मुलुकबीच व्यापार सहजीकरणमा ठूलो सहयोग पुग्ने भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी शिशिर घिमिरेले आर्थिक अभियानसित बताए । ‘अहिलेसम्म नेपालको भन्सार प्रशासनको पहुँच ल्हासासम्म मात्र छ । यो सम्झौतापछि यस्तो पहुँच सीधै पेचिङसम्म पुग्नेछ,’ उनले भने, ‘भन्सारका विषयमा आउने समस्या समाधान तथा व्यापार सहजीकरण गर्न अब सहज हुनेछ ।’ सम्झौतामा चीनको आधुनिक भन्सार प्रणाली र प्रविधिको सहयोग र अन्य भन्सार सम्बन्धी सूचना आदानप्रदानका विषय समावेश हुने उनले बताए । नेपाल र चीनबीच विभिन्न भन्सार नाकाहरूबाट पारवहनको विषय अगाडि बढेको सन्दर्भमा उक्त सम्झौताले दीर्घकालीन प्रभाव पार्ने उनको भनाइ छ । नेपालले अहिले रसुवागढी–केरुङ नाकाबाट चीनसँग व्यापार गरिरहेको छ । २०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालनको तयारी अन्तिम चरणमा छ । यस्तै, रणनीतिक महत्त्वको कोरला नाकामा चीनतर्फ धेरै काम भइसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)