ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जापानको ओशाका उडान गर्दै निगमको वाइडबडी

Apr 28, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी विमानबाट जापानको ओशाका उडान गर्ने निश्चित भएको छ । निगमले गत फागुनमै उडानको सबै तयारी पूरा गरे पनि जापान सिभिल एभिएसन ब्यूरोबाट उडान अनुमति प्रमाणपत्र (एओसी) प्राप्त गरेको थिएन । उक्त ब्यूरोबाट एओसी पाइसकेकाले छिटै उडान थाल्ने योजना रहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । उनका अनुसार वाइडबडी विमानबाट सातामा तीनओटा सीधा उडान गर्ने तयारी भइरहेको छ । निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भने केही महीनाअघि नै एओसी पाइसकेको छ । केही समयपछि जापानकै नारिता विमानस्थलमा पनि सीधा उडान गर्ने तयारी भइरहेको खरेलले जानकारी दिए । त्यसपछि काठमाडौं–ओशाका दुई र काठमाडौं–नारिता दुई गरी सातामा चारओटा उडान गरिने उनले बताए । काठमाडौं–ओशाका उडान समय करीब आठ घण्टाको हुनेछ । ओशाकाका लागि निगमले कर्मचारी खटाइसकेको छ । ‘अन्तरराष्ट्रिय उड्डयन संगठन (आईकाओ)को सेफ्टी लिस्टबाट नेपाल हट्दा पनि यूरोपियन यूनियनले कालोसूचीमा राखिरहेको छ । जापान उड्नासाथ अन्य देशहरूमा जान पनि यसले सकारात्मक सन्देश प्रवाह गर्ने निगमको विश्वास छ,’ खरेलले भने । अहिले निगमको अन्तरराष्ट्रिय बजार हिस्सा करीब १२ प्रतिशत छ । जापान उडान शुरू गरेपछि बजार हिस्सा करीब १८ प्रतिशत पुग्ने निगमको अनुमान छ । निगमले अहिले पुराना गन्तव्य भारतको नयाँदिल्ली, बैंगलोर र मुम्बई, मलेशियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ, दुबई र कतारको दोहामा उडान गर्दै आएको छ । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि हाल दुईओटा वाइडबडी ए–३३०, दुई न्यारोबडी ए–३२० र एक बोइङ–७५७ गरी पाँचओटा विमान छन् । निगमले लामो गन्तव्यमा उडाउने बताउँदै ल्याएका वाइडबडीले गन्तव्य नपाउँदा छोटो दूरी र आधा क्षमतामै उडिरहेका थिए । जापान उड्न थालेपछि वाइडबडीले क्षमता अनुसारको काम पाउनेछन् । नेपाल र जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सहरूले जापानको हानेदाबाहेकका सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)