ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तारमा ढिलाइ

Apr 29, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगञ्ज । वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजना थपिएको समयमा पनि निर्माण सम्पन्न नहुने भएको छ । स्थानीय बासिन्दाको अवरोध, निर्माण कम्पनीहरूको ढिलासुस्ती र भुक्तानीमा ढिलाइका कारण आयोजना पछाडि धकेलिएको हो । २०७५ असारमै काम पूरा हुनुपर्नेमा नसकिएपछि १ वर्ष थपिएको थियो । तर, थपिएको अवधि अढाइ महीना बाँकी रहँदा ६० प्रतिशत मात्र काम पूरा भएको व्यापारिक मार्ग सडक विस्तार आयोजनाको कार्यालय पथलैयाले बताएको छ । आगामी असारभित्र बाँकी काम पूरा हुन नसक्ने दाबी आयोजनाका अधिकारीहरूको छ । २०७३ साउनदेखि बेग्लाबेग्लै ६ खण्डमा शुरू भएको सडक विस्तार योजनाको दुईपटक म्याद थपिइसकेको छ । विस्तारमा अनेक अवरोध आएको आयोजनाका इन्जिनीयर अशोक यादवले बताए । ‘५० मिटर सडकको दायरामा थुप्रै अवरोध छन्,’ उनले भने, ‘स्थानीय बासिन्दादेखि उद्योग कलकारखानाको अवरोधले योजनालाई अपेक्षित गतिमा अगाडि बढाउन सकिएको छैन ।’ निर्माण कम्पनीहरूको ढिलासुस्ती पनि विलम्बको कारण बनेको आयोजनाले बताएको छ । आयोजना ६ भागमा विभाजन गरी चारओटा निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण व्यवसायी भने आफूहरूले पेश गरेको बिल भुक्तानीमा आयोजनाले महीनौं आलटाल गर्दा दैनिक कार्य सञ्चालनमै समस्या आएको गुनासो गर्छन् । आयोजनाको समय थप्ने प्रक्रियामा ढिलासुस्ती हुँदा काम प्रभावित भएको उनीहरूको दाबी छ । मुख्य नाका वीरगञ्जसँग जोड्ने त्रिभुवन राजपथ अन्तर्गत भइरहेको विस्तारले सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ । यसबाट औद्योगिक र व्यापारिक प्रतिष्ठानका कच्चा पदार्थ र तयारी वस्तु ओसारपसारमा सजिलो हुनेछ । तर, विस्तारमा भइरहेको ढिलाइले आवगमनमा समस्या थपिएको छ । देशकै ठूलो नाकामा रहनुका कारण सबैभन्दा बढी पारवहन र यातायातका साधन सञ्चालन हुने यो सडकको निर्माण चाँडै सकिने अपेक्षा रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । ‘सडक जतिसक्दो चाँडो सम्पन्न होओस् भन्ने अपेक्षा गरेका छौं तर झन् ढिलाइ हुँदै गएको छ,’ अध्यक्ष केडियाले भने । विस्तारका क्रममा जताततै भत्काइएका कारण राजमार्गमा धुलोको समस्या बढेको छ । धूलोबाट स्थानीय बासिन्दा पीडित हुनुपरेको बाराको सिमराका अगुवा मनोज पौडेलले बताए । यस्तो छ व्यापारिक मार्ग व्यापारिक मार्ग विस्तार अन्तर्गत बाराको पथलैयादेखि त्रिभुवन राजपथ हुँदै पर्साको लिपनीबिर्तास्थित परवानीपुरबाट अलौको एकीकृत जाँच चौकीसम्म ६ लेन सडक निर्माणाधीन छ । उक्त व्यापारिक मार्गलाई ५० मिटर फराकिलो बनाइँदै छ । सडकको बीचबाट ११/११ मिटर दायाँबायाँ ६ लेनको मुख्य सडक निर्माण हुने व्यापारिक मार्ग विस्तार आयोजनाले बताएको छ । दुवैतर्फ साढे ३ मिटरको ग्रीन बेल्ट र साढे पाँच मिटरमा दुईतर्फी सर्भिस लेन बनाइनेछ । सर्भिस लेनभन्दा पछाडि दुवै किनारामा साढे ३ मिटरमा नाली र फूटपाथको डिजाइन छ । परवानीपुरदेखि गण्डकसम्मको त्रिभुवन राजपथ पनि योजनामा समेटिएको छ, जसलाई चार लेन बनाइनेछ । उक्त सडक हाल दुई लेनको छ । यस खण्डमा तीनओटा पुल निर्माणाधीन छन् । यही खण्डमा बढी अवरोध छ, जसका कारण योजनाको प्रगति सुस्त भएको यादवले बताए । परवानीपुर बजार क्षेत्रमा मुआब्जाको समस्या छ । यहाँ उद्योगहरूले फाल्ने भुसको खरानी र फोहोर पानीका कारण पनि आयोजनाले गति लिन नसकेको यादवको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)