राम्रो जागीर खाएर आफ्नो घर बनाउनु जो कसैको पनि मीठो सपनाजस्तै हुन सक्छ । घर बनाउन अथवा खरीद गर्न मानिसले अधिक परिश्रम र मेहनत गरेर पैसाको जोहो गर्ने गर्छन् । तर, हालै गरिएको एक अध्ययनले भने घर किन्नतर्फ लाग्दा मानिसले आप्mनो रोजगारी नै गुमाउने अवस्था सृजना हुने पाइएको छ । मानिसलाई घर खरीद गर्न प्रोत्साहन गर्नु बेरोजगारीलाई निम्ता दिनु जस्तै रहेको अमेरिकाको न्यू ह्यामस्फाइरस्थित डार्टमाउथ कलेज तथा बेलायतको युनिभर्सिटी अफ वार्मिकका अनुसन्धानकर्ताहरुले बताएका छन् । उनीहरुले बताएअनुसार कुनै पनि देशमा घरमालिकको सङ्ख्या बढेको केही वर्षपछि बेरोजगारीको सङ्ख्या पनि बढ्ने गरेको पाइएको छ ।
घर खरीद गरेपछि मानिसमा काम खोज्ने चाहना पनि हराउँदै जाने अनुसन्धानकर्ताको भनाइ छ । त्यस्तै, घर खरीद गरेपछि श्रम बजारको गतिशिलतामा पनि कमी आउने उनीहरुको कथन छ । घरको स्वामित्व पाएका मानिसले आफ्नो छरछिमेकमा नयाँ खुल्न लागेका कम्पनी तथा व्यवसायको पनि विरोध गर्ने सम्भावना बढी रहेको बताइएको छ । यो अध्ययन अमेरिका तथा अन्य विकसित राष्ट्रको ऐतिहासिक तथा वर्तमान अवस्थामा आधारित भएर तयार पारिएको हो । यस अध्ययनले बेरोजगारीको स्तर बढाउन अन्य तत्वहरुको योगदान रहेको भए पनि घरको स्वामित्वले भने स्पष्ट रुपमा बेरोजगारी बढाउन भूमिका निर्वाह गर्ने बताएको छ ।
‘घरमालिकले बेरोजगारीमा पार्ने प्रभाव आश्चर्यजनक रुपमा ठूलो रहेको छ,’ अनुसन्धानकर्ताले भनेका छन् । घरमालिकको सङ्ख्या दोब्बरले बढ्दा बेरोजगारीको सङ्ख्या दोब्बरभन्दा बढीले बढ्नेछ । यस्तो प्रवृत्तिको विकास सन् १९८० को दशकयताबाट शुरु भएको बताइन्छ । ‘घर खरीद गर्ने तीव्र चाहनालाई तोड्न जरूरी रहेको छ,’ वार्मिक विश्वविद्यालयका प्राध्यापक एण्ड्रिउ ओस्वाल्डले भने । ‘यसले श्रम बजारको लचकतामा कमी ल्याउने र रोजगारीलाई विघटन गर्नेछ,’ उनले अगाडि भने । आफ्नो तर्क प्रस्ट्याउन ओस्वाल्डले स्पेन र स्वीट्जरल्याण्डको उदाहरण दिएका छन् । उनले स्पेनको बेरोजगारी र घरस्वामित्व स्वीट्जरल्याण्डको तुलनामा अधिक रहेको बताएका छन् ।
तर, यसको मतलब कसैले घर खरीदै नगरोस् भन्नेचाहिँ होइन । वृद्ध कर्मचारीहरु सेवानिवृत्तको तयारीमा रहने हुनाले घर खरीद गर्ने चाहना राख्छन् । उनीहरुले रोजगारीको स्तरमा पनि कम प्रभाव पार्छन् । त्यसैले युवा अवस्थामा भन्दा वृद्ध अवस्थामा घर खरीद गर्नु लाभदायक रहने बताइन्छ । ‘जर्मनी र स्वीट्जरल्याण्ड जस्ता विकसित राष्ट्रमा मानिसहरुले आफ्नो जीवनकालको करीब अन्त्यतिर घर खरीद गर्ने गरेको पाइएको छ,’ ओस्वाल्डले भने ।