ककल्ले हो बालुवाटारको जग्गा खाए रे । अर्काथरीले खुलामञ्च र टुँडिखेल नि भ्याए रे । हरेक दिन, हरेक हप्ता पार्टीका नेता, सरकारी पदाधिकारी, व्यापारी आदिले खाएका र भ्याएका यस्तै झिनामसिना कुरा गरेर नेपाली मिडिया अलमलिइरहेको छ । बल्ल बल्ल बनेको स्थिर सरकार देशमा समृद्धि ल्याउने ठूलो लक्ष्य लिएर हिँडिरहेको बेला यस्ता सानातिना कुरामा मानिसहरू किन अल्झिरहेका छन् कुन्नि !
गरीब नहुने हो भने राष्ट्रिय योजना आयोग, गरीबी निवारण कोष, सुकुमबासी आयोग जस्ता दर्जनौं आयोगले कसका लागि योजना बनाउने वा के काम गरेर बस्ने ? सरकारले कसका लागि भनेर सपना बाँड्ने ?
हाम्रो देश सानो भएकाले पो हो कि, मानिसहरू स–साना सपनामा, स–साना काममा आफूलाई अलमल्याइरहेका छन् । (भलै कतिपयलाई नेपाल ठूलै छ भन्ने भ्रम पनि हुन सक्छ । लक्ष्मीप्रसाद देवकोटाले त ‘के नेपाल सानो छ ?’ भन्ने निबन्धमार्फत नेपाल ठूलो छ भन्ने प्रमाणित गर्न पनि खोजेका थिए क्यारे ।) तर यो पंक्तिकारको विचारमा नेपाल सानो छ र साना भएकैले प्रायः नेपालीहरू स–साना कुरालाई बढी महत्त्व दिन्छन् । जस्तै– कसले कसको जग्गा खायो, कतिवटा वाइडबडी र स्लिमबडी जहाज खायो, कसले सरकारी सुविधा हत्यायो, आदि इत्यादि । अहिलेको समय सानो होइन, ठूलो सोच्ने, ठूलै कुरा गर्ने पो हो ।
वास्तवमा हाम्रो सरकारको हृदय ठूलो छ । त्यसैले यो ठूला ठूला कुरामा लागिरहेको छ । जस्तै– देशमा गरीबी मेटाउने र समृद्धि ल्याउने । त्यसैले ऊ रातदिन कसरी गरीबी हटाउने भनेर गरीबहरूको चिन्तामा डुबेको छ । नडुबोस् पनि किन ? आखिरमा त्यै एउटा गरीब भनिने स्रोत त हो देशमा सित्तैंमा उपलब्ध । त्यसैले मिडिया र सडकदेखि संसद्सम्म त्यै गरीब र गरीबीको चर्चा परिचर्चामा दत्तचित्त भएर लागेका छन् । किनकि, गरीब एउटा भरपर्दो विषयवस्तु हो ।
देशैभरि यति गरीबहरू उपलब्ध छन् कि सरकारले उनीहरूको विषयलाई लिएर वर्षौंदेखि गम्भीर चिन्तन गरिरहेको कुरा सधैं सुन्न पाइएको छ । यसरी सरकारले गरीबहरूलाई एक प्रकारले राम्रै इज्जत पनि दिइराखेकै छ । देशमा सबैभन्दा चर्चित र कुनै पनि भाषणमा नछुट्ने केही छ भने त्यो अहिले गरीब नै हो । जताततै गरीब नै गरीब छन् । त्यसैले सरकारले गरीबी निवारण मन्त्रालय नै खडा गरेर गरीबको चर्चा अझ बढाएको छ । यसले गरीबको महत्त्व बढेकै छ । यसले गरीबहरूको हौसला पनि बढाइरहेकै हुनुपर्छ ।
हुन पनि गरीब नै हाम्रो देशमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हो । गरीब नहुने हो भने कसका लागि भोट माग्ने ? कसका लागि भनेर राजनीति गर्ने ? आन्दोलनमा मर्न र मार्न गरीबलाई नै अघिअघि सार्न पाइन्छ । गरीब नहुने हो भने कसलाई हेयको दृष्टिले हेर्ने ? गरीब नहुने हो भने कसको झुपडीमा गएर हाम्रा नेताले भात खाएको फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने ? चुनावको बेला रक्सी र मासु सित्तैमा कसलाई ख्वाउने ? सरकारी अस्पतालमा कसलाई भर्ना गर्ने ? सरकारी विद्यालयहरूमा कसका छोराछोरीहरू लगेर भर्ने ? सडकपेटीबाट सटरमा र सटरबाट फेरि सडकमा कसलाई लखेट्ने ? भीरपाखामा गुड्ने गाडीमुनि कुल्चाउन पनि त गरीब नै चाहिन्छन् नि !
गरीब नहुने हो भने राष्ट्रिय योजना आयोग, गरीबी निवारण कोष, सुकुमबासी आयोग जस्ता दर्जनौं आयोगले कसका लागि योजना बनाउने वा के काम गरेर बस्ने ? सरकारले कसका लागि भनेर सपना बाँड्ने ? विदेशी दाताहरूसँग कसका लागि भनेर दानको भिक्षा माग्ने ?
गरीब यस्तो प्राणी हो कि जसमाथि जति बेला मन लाग्यो, त्यतिबेला आफ्नो रिस पोख्न पाइन्छ । अस्पतालदेखि यातायातसम्म उसैलाई दुत्कार्न पाइन्छ । जीवन जिउन चाहिने न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्ने अवसर समेत नदिई भोकभोकै राख्न पाइन्छ । गरीबका बच्चाहरूलाई गुणस्तरको त कुरै छाडौं, सामान्य खानेकुरा र पानीको पहुँच नदिएरै मार्न पनि पाइन्छ । जे जे गरे पनि ऊ बोल्दैन । किनकि ऊ त गरीब हो नि त ।
हो, ऊ गरीब छ । त्यसैले ऊ भोको छ र निश्चिन्त ऊ सुतिरहेको पनि छ । तर कुनै बेला ऊ ब्यूँझियो भने के गर्ला हँ ?