ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निगमले असार १९ देखि ओसाका उडान गर्दै, दुई वाइडबडीले काम पाउने (कुन–कुन बार उड्छन् ?)

May 3, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख २०, काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाजमार्फत जापानको ओसाकामा नियमित उडान पुनः शुरु गर्ने भएको छ । निगमको ६१औं वर्ष प्रवेशका अवसरमा निगमले असार १९ गते (जुलाई ४ तारिख) देखि ओसाकाको नियमित उडान शुरु गर्ने निगमले जानकारी दिएको छ ।

निगमले गत फागुनदेखि नै उडानको सम्पूर्ण तयारी पूरा गरेपनि जापान सिभिल एभिएशन ब्युरो (जेक्याब)बाट उडान अनुमति प्रमाण–पत्र (एओसी) प्राप्त गर्न ढिला भएकोले हालसम्म उडान हुन सकेको थिएन । गत हप्तामात्रै निगमले एओसी पाएको थियो ।

निर्धारित उडान तालिका अनुसार ओसाकाको सबै उडानहरु वाइडबडी ए ३३०–२०० बाट हप्ताको तीन (३) ओटा उडान मंगलवार, बिहीवार र शनिवार हुने छन् । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ः०० बजे काठमाडौं आइपुग्ने निगमले जानकारी दिएको छ ।

यस अघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुंदै ओसाकासम्म उडान गर्दै आएको थियो र तत्कालिन समयमा विमानको कमीका कारण जापान उडान स्थगित गरिएको थियो । सन् २००० मा जापानबाट काठमाडौंका लागि सबैभन्दा बढी ४१ हजार ७० जनाले नेपाल यात्रा गरेका थिए । जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करीब २२ हजार यात्रु आएका थिए । राष्ट्रिय ध्वजाबाहकको सेवा नभएपछि यात्रु संख्या घट्दै गएर सन् २०१५ मा १७ हजार ६१३ यात्रुमा सीमित भएको थियो ।

निगमले ओसाका र नारितामा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

निगमको गृष्मकालीन तालिका अनुसार काठमाडौं–ओसाका र ओसाका–काठमाडौं उडान एक तर्फी करीब ६ घण्टा ३० मिनेटको हुनेछ । दोश्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई तदनुरुप प्रक्रिया अगाडि बढाइएको छ । टोकियोको नारितामा उडान शुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई ओटा उडान गर्ने योजना रहेको छ ।

जापान उडानसंगै निगमको अन्तरराष्ट्रिय बजार हिस्सा बढ्ने छ । निगमले लामो गन्तव्यमा उडाने भन्दै ल्याएको वाइडबडीले गन्तव्य नपाउँदा छोटो दूरीकै गन्तव्यमा आधा क्षमतामा उडिरहेका थिए । जापान उड्न थालेपछि वाइडबडिले काम पाउने छन् । नेपाल–जापान बीचको द्विपक्षीय हवाइ सम्झौताअनुसार नेपालका एयरलाइन्सहरूले जापानको हानेडा विमानस्थल बाहेकका सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने छन् । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)