ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

के साँच्चै सिमेन्ट निर्यात हुन सक्ला त ?

May 5, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुको रूपमा विकास गर्ने सरकारको घोषणापछि सिमेन्ट उत्पादकहरूको मिश्रित प्रतिक्रिया आएको छ । शुक्रवार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुको रूपमा अघि सार्ने उल्लेख छ । उत्पादन क्षमताभन्दा कम सिमेन्ट उत्पादन गर्दै आएका नेपाली सिमेन्ट उद्योगका लागि यो घोषणा महŒवपूर्ण भए पनि यसको कार्यान्वयन नभएसम्म घोषणाले मात्रै केही नहुने स्थिति रहेको छ । सिमेन्ट उद्योगको अहिलेको प्रमुख चुनौती भनेको उत्पादन लागत कम गर्नु हो । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा उत्पादन लागत घटाउन सरकारले सहजीकरण गरे नेपालबाट सिमेन्ट निर्यात टाढाको विषय नभएको बताउँछन् । ‘नेपालबाट सिमेन्ट निर्यात गर्न सम्भव छ, तर यसमा देखिएका केही समस्या समाधान गर्नु आवश्यक छ । साथै निर्यातमा सहजीकरणका लागि सिमेन्ट उत्पादकले सरकारको सक्रिय भूमिका खोजेको छ,’ उनले भने, ‘अहिले वन, खानी, भूमिसुधार विभागले उत्पादकबाट बढी नाफा खोज्छन् । सरकारी कार्यालयहरूले नाफा लिनेभन्दा पनि सहजीकरण गर्न जरुरी छ ।’ सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला आयातमा लाग्ने ढुवानी खर्च, चुनढुंगा, बिजुली, प्रदेश तथा स्थानीय तहले लगाउने फरक–फरक कर लगायत समस्याले नेपाली सिमेन्ट महँगो हुँदा निर्यातमा समस्या हुने उनको भनाइ छ । सरकारले अघि सारेको योजनाअनुसार नेपाली सिमेन्ट निर्यात गर्न उत्पादन लागत नै घटाउन जरुरी रहेको सिमेन्ट उत्पादकहरू बताउँछन् । लागत नघटाएसम्म निर्यात असम्भव हुने उनीहरूको तर्क छ । आरएमसी र पाल्पा सिमेन्टमा साढे ९ अर्ब रुपैयाँ लगानी गरेको आरएमसी ग्रूपका निर्देशक राजेश अग्रवाल भने यही अवस्थामा नेपालबाट सिमेन्ट निर्यात सम्भव नै नभएको टिप्पणी गर्छन् । उनले भने, ‘हामी कोइला आयात गर्छाैं, यसमा ढुवानीसहितका खर्च जोडिन्छन् । कोइला आयात गर्दा ५ प्रतिशत भन्सार तिर्नुपर्छ । नेपालमा चुनढुंगा खानीमा जानसमेत पूर्वाधार तयार छैन, भारतका सिमेन्ट उत्पादकले चुनढुंगाको ढुवानीका लागि कुनै रकम तिर्नुपर्दैन । यस्तो अवस्थामा सिमेन्ट निर्यात सम्भव देखिँदैन ।’ सिमेन्ट उत्पादनदेखि निर्यात गर्दासम्म ‘उत्पादन तथा ढुवानी’ लागत अत्यधिक हुने हुँदा सिमेन्ट निर्यातको सम्भावना व्यावहारिक नभएको अग्रवालको तर्क छ । पछिल्लो समयमा ठूला लगानीका सिमेन्ट उद्योगहरू नेपालमा थपिएका छन् । यसले नेपालमा सिमेन्टको उत्पादन बढ्ने देखिए पनि अत्यधिक लागत भने ठूलो समस्याका रूपमा रहेको छ । नेपाल सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार अहिले मुलुकभर ६१ ओटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । उद्योग विभागका अनुसार २०७५ मा कम्तीमा १० भन्दा बढी नयाँ सिमेन्ट उद्योग दर्ता भएका छन् । संघका अनुसार अहिले मुलुकभर वार्षिक १ करोड मेट्रिक टन (मेटन) सिमेन्ट खपत हुन्छ भने वार्षिक उत्पादन क्षमता १ करोड ४० लाख मेटन छ । यस्तै माग भने वार्षिक ९० लाख मेटन रहेको छ । अहिले सिमेन्ट उद्योगहरूबाट मागभन्दा बढी सिमेन्ट उत्पादन भएको यो तथ्यांकले देखाउँछ भने नेपाली सिमेन्ट उद्योगहरूले आप्mनो क्षमताभन्दा कम सिमेन्ट उत्पादन गरेको स्पष्ट देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)