धूम्रपान स्वास्थ्यका लागि हानिकारक हुने हामी सबैलाई थाहै भएकै कुरा हो । धूम्रपानबाट टाढा रहने चेतावनीसहितका नारा तथा विज्ञापन हामीले सुन्दै अनि हेर्दै आएका छौं । यो समस्या समाधा गर्न ई–सिगरेटको आविष्कार पनि भइसकेको छ । र बेलायती बौद्धिक समूह रोयल सोसाइटीको हालै भएको सम्मेलनका सहभागीहरुले भने इलेक्ट्रोनिक सिगरेटले धूम्रपान गर्ने लाखौं मानिसको ज्यान बचाउने तथ्य सार्वजनिक गरेका छन् । पछिल्लो समय चुरोटको लत लागेका मानिसहरुले आफ्नो लत छुटाउन ब्याट्रीबाट चल्ने ई–सिगरेट प्रयोग गर्ने प्रचलन बढिरहेको छ । विगत ४ वर्षयता मात्र ई–सिगरेटको विक्री बढेर वार्षिक रुपमा दोब्बर भइरहेको र यूरोपमा मात्र यसका अनुमानित ७० लाखभन्दा बढी प्रयोगकर्ता रहेको सम्मेलन आयोजकको कथन छ । अक्टोबरमा मात्र यूरोपेली नीतिनिर्माताहरुले यसको विक्रीमा कडाइ ल्याउन ई–सिगरेटलाई मेडिकल उत्पादनका रुपमा वर्गीकरण गरेका थिए ।
‘चुरोटका कारण विश्वमा हरेक वर्ष ५४ लाख मानिसले आफ्नो ज्यान गुमाइरहेका छन्,’ स्वास्थ्य मनोविज्ञानका प्राध्यापक तथा बेलायतस्थित क्यान्सर रिसर्चका टोब्याको स्टडिज निर्देशक रोबर्ट वेष्टले सम्मेलनमा भनेका छन् । यसैक्रममा उनले ई–सिगरेटको प्रयोगले लाखौं जीवन बच्ने बताएका हुन् । तर, यो लक्ष्य कसरी हासिल गर्ने भन्नेचाहिँ विवादको विषय भएको बताइएको छ । चुरोट छोड्न चाहनेमध्ये एक तिहाइले ई–सिगरेटकै साहरा लिने वेष्टको भनाइ छ । सूर्तिजन्य पदार्थ सेवनको तुलनामा यो ९५ देखि ९९ प्रतिशत सुरक्षित भएपनि केही देशमा यसको प्रयोग प्रतिबन्धित छ । यसैक्रममा ई–सिगरेट सुरक्षित र प्रभावकारी हुन्छ भन्ने कुरालाई नियमनविना ग्यारेण्टी गर्न नसकिने ‘एक्शन अन स्मोकिङ एण्ड हेल्थ’ (एएसएच)की प्रमुख कार्यकारी डेबेराह आनोट बताउँछिन् ।