ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाह ! क्या नीति र कार्यक्रम

May 10, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
‘अब सडकमा जहाज बस्छन् । टुँडिखेलमा तरकारी रोपिन्छ । पहिले पोखरीहरू फुटबल ग्राउन्ड बन्नेवाला थे । अब फेरि पोखरीमा परिणत हुन्छन् । आइन्दा जिंग्रिङ्ग भएर सडकमा मान्छे बस्दैन । कोही भोकै वा धूलो खाएर मर्दैन ।’ यो कुनै जोक वा यो पंक्तिकारले सपना देखेर लेखेको होइन । यी कुराहरू त ‘मेरो सरकार’ले २०७६/७७ का लागि सरकारको वार्षिक नीति र कार्यक्रम पढेपछि बुझेका केही अंश मात्र हुन् । सरकारले ल्याएका यी नीति तथा कार्यक्रम यति क्रान्तिकारी छन् कि, यो पढे भने संसारभरिकै क्रान्तिकारीहरू समेत जिल पर्नेछन् । नेपाली जनता त यसै अक्क न बक्कसँग छक्क परिसकेकै छन् । यसको अर्थ सरकार क्रान्तिकारी त छँदै थियो, अब परिवर्तनकारी पनि देखिँदै छ ।
अब रोप्नुस् न जहाँ खाली जग्गा देख्यो, त्यहाँ काँक्रो, कागती, फर्सी, तरबुजा, आदि । सरकारले सहजीकरण गर्दिन्छु भनेकै छ ।
नीति तथा कार्यक्रमका अनुसार गएको वर्ष समृद्धिको आधार बनिसक्यो । अब आगामी वर्ष इतिहासकै तीव्र विकासको वर्ष बन्छ रे । त्यो कसरी भन्दा यो सरकारले अब सबै कुरा फरक ढंगले गर्दै छ नि त । जस्तै– सरकारले लेखिदिएको राष्ट्रपतिले पढिदिएको नीति तथा कार्यक्रम नामक भाषणमा अब सडकमा नै विमान ओराल्ने कार्यक्रम ल्याउने रे । हुन पनि एयरपोर्ट बनाउने काम सक्किगो । अब सडकमै न हो जहाज उतार्ने । त्यसो भएसि भीभीआईपीहरूलाई विदेश गइरहनुपर्दा एयरपोर्ट होल्ड गरिरहने आवश्यकता पनि पर्दैन । सडकबाटै सीधै विदेश उड्न मिल्छ । त्यति मात्र काहाँ हो र ? सरकारले त सडकलाई पनि धूलोमुक्त पार्नेे रे । काठमाडौं उपत्यका छिर्ने गौंडा गौंडामा र ठूला निर्माणस्थलहरूमा स्वचालित प्रविधिबाट सवारीसाधनका खुट्टा याने चक्का धोइपखाली गरेर (शायद तेल पनि लाइदिएर) मात्र भित्र पठाउने रे । यता महानगरले पनि यसै वर्ष २–४ ओटा ब्रुमर सडकमा उतारेर काठमाडौंलाई करीब करीब धूलोमुक्त गरिसकेकै छ । देशभरिका बारीका पाटा र खेतका गरा सबै हराभरा पार्ने सरकारको नीति तथा कार्यक्रम त छँदै छ । त्यसमाथि अझ सार्वजनिक बाँझो जमीनमा समेत तरकारी रोप्न सरकारले जनतालाई आह्वान गरेको छ । यसको मतलब अब बालुवाटार, सिंहदरबार, टुँडिखेल र खुलामञ्चहरूमा समेत हरियालीले भरिने भएजस्तो छ । अब रोप्नुस् न जहाँ खाली जग्गा देख्यो, त्यहाँ काँक्रो, कागती, फर्सी, तरबुजा, आदि । सरकारले सहजीकरण गर्दिन्छु भनेकै छ । सरकारले १ वर्षभित्रै सरकारी जग्गा सरकारकै नाममा ल्याउरे रे । अहिले भने प्रायःजसो धेरै सरकारी जग्गा सरकारका पहुँचमा भएकाहरूको नाममा झुक्किएर नामसारी भएको रहेछ । अब नझुक्किकन त्यस्ता जग्गालाई सरकार भा ठाउँमा आउन आह्वान गरिने भएछ । अब देशैभरिका बालुवाटारदेखि बानियाँटार, पालुङटारदेखि सल्यानटार आदि सबै ठाउँका सरकारी जग्गा सरकारकै भागमा आउने भएछ । त्यसका लागि सरकारले एकदम शक्तिशाली आयोग पनि बनाइदिइसकेको छ । अब जग्गाहरू फिर्ता नआई सुक्ख ? अर्को कुरा, सरकारको त आगामी वर्षदेखि नै सुन पाउने ठाउँबाट सुन, सुन नपाउने ठाउँबाट फलाम, त्यो पनि नपाए युरेनियम नभए पेट्रोलियम उत्खनन, प्रशोधन गरेर व्यावसायिक उत्पादन शुरू गरेर बहुमूल्य पत्थर पाए निकासी समेत गर्ने योजना छ रे । यो आशय पनि मेरै सरकारको नीति घोषणा कार्यक्रममा स्वयं महामहिम राष्ट्रपति महोदयको मुखारविन्दबाट मर्जी भाको छ । आफ्नो नीति तथा कार्यक्रममा सरकारले त भनिसकेको छ कि, अब कोही भोकै मर्दैन । (खाना खान नपाएर मर्‍यो भने अलग कुरा हो) । किनकि सरकारले भोका, नांगा, बेरोजगार सबैको माग पूरा गर्ने भएको छ । प्रम ओलीले त ‘पहिलेजस्तो सडकमा मान्छे जिंग्रिङ्ग कपाल भएको, मैलो भएको, घाउ सरीबरी भएको, सडकका पेटीमा पसारिएको त्यो देख्न पाउनुहुन्न नेपालमा । त्यसको प्रबन्ध सरकारले गर्छ’ समेत भनिसक्नु भएको छ । जस्तै– हिजोआज मन्त्री बन्न नपाएर बेरोजगार बनेका कमल थापाले जिंग्रिङ्ग कपाल पारेर वर्षौंदेखि सडकमा राजतन्त्र फर्काउने कुरा मागिराथे । त्यो समेत पूरा गर्दियो सरकारले । सरकारमा आएदेखि नै यो सरकारको रंगढंग राजकीय नै थियो । यो पटकको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा त सरकारले राष्ट्रपतिलाई आफ्नो सम्बोधनमा नै राजाले जसरी नै ‘मेरो सरकार कि मेरो सरकार’ भन्न लगायो । यसरी थापाको मागअनुसार एक प्रकारले देशमा राजतन्त्र फर्किसकेको छ । राजतन्त्र फर्काउने माग पूरा भएको खुशियालीमा थापाहरूले अब ‘सेलिब्रेट’ गर्न थाले भयो जस्तो छ । अब ‘पशुपतिनाथले सबैको कल्याण गरून्’ भन्ने वाक्यांश चैं बजेट वक्तव्यमा पक्कै आउला । सबै एकैचोटि त काहाँ आउँछ त ? प्रजाहरूले पनि मौसुफ सरकारहरूको मर्का बुझिदिनुपर्‍यो नि । प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको विषयमा प्रतिक्रिया दिँदै अर्को वर्ष अझ नयाँ कुरा शुरू गर्छौं पनि भन्नुभएको छ । शायद त्यति बेलासम्म नेपाल ‘हिन्दू राष्ट्र’ पनि बनिसक्छ भन्न खोख्नुभएको हो कि ! संकेतहरू पनि त देखिँदै छन्, याद गरिरहनु भएकै होला ? वास्तवमा सरकारले यति धेरै सफलता प्राप्त गर्नुमा हाम्रा दूरद्रष्टा प्रम ओलीका एक्लो कारण मात्र सम्भव भएको हो । अझ उहाँको वाक्चातुर्यका कारण पनि देश दिनप्रतिदिन समृद्धिको बाटोमा लमक लमक अगाडि लम्किरहेको छ । जस्तै– सरकारले ल्याएको नीति तथा कार्यक्रमको संसद्मा कुनै बौद्धिक छलफलै नभै बहुमतले पारित भयो । स्वयं विपक्षीसमेत केबल राष्ट्रपतिले बोलेको ‘मेरो सरकार’मा अल्मल्लिए । वाह ! यो हो नि विपक्षीलाई गलाउने कला । कसैलाई पनि बेलायती, अमेरिकी, फ्रान्सेली, क्यानडेली, जापानी, अस्ट्रेलियाली, भारतीय, पाकिस्तानी आदि संसदीय प्रजातन्त्रको अभ्यास सिक्न मन भए संसद् बैठक भएका बेला नेपालको संसद् भवनभित्र हेर्नुपर्छ । संसदीय प्रजातन्त्र कस्तो हुनुपर्छ भनेर सिक्न र खासगरी सिकाउन होला ४२ जनाको सानो टोली लिएर प्रधानमन्त्री ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमणमा निस्कनुभएको छ । हुन पनि दुई तिहाइको सरकारको नेता प्रधानमन्त्रीसँग देशभित्रका आक्रोश, कुण्ठाग्रस्त र निम्छरो प्रश्नहरूको उत्तर दिएर बस्ने समय पनि त छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)