ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तातोपानी नाका जेठ २० देखि सञ्चालन

May 10, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
मितेरी पुल र अरनिको राजमार्ग सहित सबै संरचनाको निर्माण अन्तिम चरणमा काठमाडौं । नेपाललाई चीनसित जोड्ने तातोपानी नाका आगामी जेठ २० देखि पुनः सञ्चालन हुने भएकोे छ । त्यतिन्जेलमा मितेरी पुल लगायत तातोपानी नाकाका संरचनाको निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्ने जानकारी चीनले पठाएको वाणिज्य मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताएका छन् । नेपाल–चीन व्यापारको यो मुख्य नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द छ । उक्त क्षेत्रमा भूकम्पले ठूलो क्षति पुर्‍याएको भन्दै चीन तातोपानी नाका पूर्ण रूपमा बन्द गर्ने मनस्थितिमा देखिएको थियो । केरुङ–रसुवागढी नाका सञ्चालनमा चीनको बढी जोड थियो । तर, काठमाडौंबाट केरुङ–रसुवागढीभन्दा करीब ६० किलोमिटर नजीकको र दुई लेनको सडक सहित सबै पूर्वाधार उपलब्ध रहेको तातोपानीलाई नै प्राथमिकता दिनुपर्नेमा नेपाल सरकार र स्थानीय बासिन्दाको जोड रहँदै आयो । यसैको परिणामस्वरूप चीन तातोपानीलाई पुनः अन्तरराष्ट्रिय व्यापारको केन्द्र बनाउन तयार भएको नेपालका सरकारी अधिकारीहरू बताउँछन् । भूकम्पलगत्तै नाका खुलाउन आएको चिनियाँ जनमुक्ति सेनाले उद्धार र राहतका क्रममा त्यस क्षेत्रमा तिब्बती शरणार्थीको गतिविधि रहेको पत्ता लगाएकाले पनि चीनले उक्त नाका सञ्चालनमा अनिच्छा देखाएको थियो । त्यसबारे चिनियाँ पक्षले अनौपचारिक रूपमा नेपाली अधिकारीहरूसँग गुनासो गर्दै आएका थिए । सो गुनासोलाई भरपर्दो किसिमले सम्बोधन गरिएको नेपाली पक्षले जानकारी दिएको छ । तातोपानी नाका पुनः सञ्चालन गर्न चीन राजी भएको संकेत पाएपछि नेपालले २०७३ पुसदेखि तातोपानी जोड्ने अरनिको राजमार्गको पुनर्निर्माण थालेको थियो । वाणिज्य सचिव अधिकारी भन्छन्, ‘यसको काम लगभग सकिनै लागेको छ । भौतिक पूर्वाधार निर्माण सम्बद्ध निकायहरूले काम गरिरहेका छन् ।’ अधिकारीका अनुसार दुई मुलुक जोड्ने ‘मितेरी पुल’को निर्माण पनि अन्तिम चरणमा पुगेको छ । यसअघि आठ मिटर चौडा रहेको पुललाई १२ मिटर फराकिलो बनाइँदै छ । गत चैत २६ मा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहितको उच्चस्तरीय टोलीले तातोपानी पुगेर पुनर्निर्माणको प्रगतिबारे जानकारी लिएको थियो । अरनिको राजमार्ग मार्फत काठमाडौंबाट तातोपानी १६६ किमीको दूरीमा पर्छ । २०२६ सालदेखि सञ्चालनमा आएको अरनिको राजमार्ग र तातोपानी भन्सार लामो समय नेपाल र चीनबीच व्यापारको एक मात्र माध्यम थिए । २०७४ भदौ १४ मा दुई मुलुकले रसुवागढी–केरुङलाई पनि अन्तरराष्ट्रिय नाका घोषणा गरिसकेका छन् । अरनिको राजमार्ग मार्फत काठमाडौंबाट तातोपानी १६६ किमीको दूरीमा पर्छ । २०२६ सालदेखि सञ्चालनमा आएको अरनिको राजमार्ग र तातोपानी भन्सार लामो समय नेपाल र चीनबीच व्यापारको एक मात्र माध्यम थिए । २०७४ भदौ १४ मा दुई मुलुकले रसुवागढी–केरुङलाई पनि अन्तरराष्ट्रिय नाका घोषणा गरिसकेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)