ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पियानो अभ्यास गर्दा जेलमा !

Nov 19, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

ठूलो आवाज कसैलाई पनि मन पर्दैन । ठूलो स्वरले कराउनु, गाडीले अनावश्यक हर्न बजाउनु, छिमेकीको शान्तिमा खलल पुर्‍याउनुजस्ता कुरा ध्वनि प्रदूषणका उदाहरणहरु हुन् । ध्वनि प्रदूषण आजको युगको जटिल समस्याका रुपमा देखा परेको त सबैलाई विदितै छ । प्रायःजसो मानिसलाई ध्वनि प्रदूषण टाउको दुखाइको विषय हुँदै आएको छ । ध्वनि प्रदूषण कम गर्ने अनेक उपाय पनि सुझाउँदै आइएको छ । यद्यपि, ध्वनि प्रदूषण गर्नेलाई ठोस कारबाही भने भएको छैन । तर, स्पेनकी एक महिलाले भने पियानो बजाउने अभ्यास गरेकै कारण जेलको चक्कर लगाउनुपर्ने भएको छ । स्पेनकी एक महिलाले आफ्नो छिमेकमा बस्ने एक पियानोवादक महिला तथा उनका आमाबाबुलाई अदालतमा पुर्‍याएकी छन् । स्पेनको उत्तरपूर्वी शहर गेरोनाकी सोनिया बोसोमले छिमेकी लाइया मार्टिनलाई ध्वनि प्रदूषणको आरोप लगाएकी हुन् । ध्वनि प्रदूषणबाट मनोवैज्ञानिक असर पुर्‍याएको आरोपमा ती तीनै जनालाई ७ वर्ष कारावासको सजाय दिलाउन माग गरिएको छ । यद्यपि, उनले बजाएको पियानोको आवाज सामान्य वार्तालापभन्दा कम डेसिबल रहेको बताइएको छ ।

अधिक मात्रामा ध्वनि प्रदूषण हुने शहरका रुपमा परिचित स्पेनमा ध्वनि प्रदूषण प्रमुख समस्याका रुपमा लिइएको छ । स्पेनमा सडक तथा बारहरुमा हुने ध्वनि प्रदूषणका बारेमा मानिसहरुले गुनासो पोख्दै आएको भए पनि यसरी पियानो अभ्यास गर्नेलाई कारावासको सजाय दिने कुराचाहिँ पहिलोपटक सुनिएको हो । लाइया मार्टिनले हप्तामा ५ दिन दैनिक ८ घण्टाका दरले पियानो अभ्यास गर्दा आफू सन् २००३ देखि सन् २००७ सम्म ध्वनि प्रदूषणबाट पीडित बनेको सोनिया बोसोमले उजुरीमा उल्लेख गरेकी छन् । उता, मार्टिनले भने सो आरोपको खण्डन गर्दै उनले दैनिक आफ्नो घरमा अभ्यास नगरेको बताएकी छन् । आफूले पियानो कक्षा अर्कै शहरमा लिँदै आएको र छुट्टीमा मात्र अभ्यास गर्ने गरेको पनि उनले प्रस्ट्याएकी छन् ।

अदालतमा दायर गरिएको सो मुद्दाको पहिलो दिन बोसोमले बताएअनुसार उनी पियानोबाट यति धेरै वाक्क भइसकिन् कि अब फिल्ममा पनि पियानो बजाएको दृश्य हेर्न र सुन्न नसक्ने भएकी छन् । उनको पक्षबाट मुद्दा लडिरहेका अधिवक्ताले लगातार वर्षौंसम्मको ध्वनि प्रदूषण खेप्दा खेप्दा बोसोम मनोवैज्ञानिक रोगीजस्तै बनेको बताएका छन् । त्यस्तै, उनको मेडिकल रिपोर्टले पनि उनी अनिद्रा, चिन्ता, त्रास, स्त्री रोगबाट ग्रसित बनेको देखाएको छ । आफूमा देखिएको यस्ता समस्याका कारण आफूले काम पनि छोड्न बाध्य भएको उनले बताएकी छन् । त्यस्तै, उक्त पियानोबाट निस्किएको ध्वनि प्रदूषण सङ्गीत वाद्ययन्त्रलाई तोकिएको ३० डेसिबलभन्दा १० डेसिबल बढी रहेको स्थानीय अधिकारीद्वारा गरिएको परीक्षणमा पाइएको छ । स्थानीय अधिकारीले लाइया मार्टिन तथा उनका परिवारलाई पियानो अभ्यास बन्द गर्न अथवा आफ्नो कोठालाई साउण्ड प्रुफ बनाउन बारम्बार अनुरोध गरेका थिए । स्पेनको अटोनोमस युनिभर्सिटी अफ बार्सिलोनाका वातावरण वैज्ञानिक नुरिया ब्लेन्सले भने ४० डेसिबलसम्मको ध्वनि प्रदूषणलाई सामान्य रुपमा लिइने बताएकी छन् । ‘सामान्य वार्तालापबाट निस्किने ध्वनि ५५ देखि ६० डेसिबलसम्मको हुन्छ भने रेष्टुराँ बार तथा उडिरहेको विमानबाट निस्किएको ध्वनि क्रमशः ६५ देखि ७० र १ सय १० देखि १ सय २० डेसिबलसम्मको हुने गरेको छ,’ उनले भनिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)