ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जका होटल : पर्यटक छैनन्, औद्योगिक पाहुनाको भर

May 12, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगञ्ज । औद्योगिक तथा व्यापारिक केन्द्र वीरगञ्जमा पछिल्लो समय होटल व्यवसायमा आक्रामक रूपमा लगानी बढेको छ । तर, यहाँ रहेका करीब ६० ओटा ठूला/साना सबै आवासीय होटल पर्यटकबाट नभई औद्योगिक प्रतिष्ठानका पाहुनाको भरमा टिकेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ, वीरगञ्जका अध्यक्ष हरि पन्तका अनुसार यहाँका होटल बारा–पर्सा करिडोरमा खुलेका औद्योगिक प्रतिष्ठानका पाहुनाका कारण धानिएका हुन् । उनी भन्छन्, ‘यस क्षेत्रमा उद्योग स्थापना र मर्मतका लागि आउने उच्च तहका प्राविधिक, अडिटर लगायत व्यक्ति नै अहिलेका मुख्य पाहुना हुन् । अब हामी पर्यटक लक्षित व्यवसाय विस्तारमा केन्द्रित हुनुपर्छ ।’ वीरगञ्जमा हालै रू. एक अर्बको लगानीमा पहिलो चारतारे होटल दियालो लर्डस् प्लाजा खुलेको छ । होटलका सञ्चालक अनिलकुमार रुंगटा राजनीतिक स्थायित्वसँगै पर्यटन क्षेत्रको विकासले गति लिने अपेक्षामा लगानी गरेको बताउँछन् । यो होटल खुलेपछि यहाँ अति विशिष्ट पाहुनाको आतिथ्यमा आइपर्ने समस्याले निकास पाएको छ । यसअघि विशिष्ट अतिथि सहभागी हुने वीरगञ्जका कार्यक्रमहरू २६ किलोमिटर टाढा बाराको सिमरास्थित होटल इच्छामा हुने गर्थे । व्यवसायीहरूका अनुसार वीरगञ्ज क्षेत्रमा खुलेका होटलमा रू. २० अर्बभन्दा बढी लगानी भइसकेको छ । औद्योगिक क्षेत्रका पाहुनालाई मात्र लक्षित गर्ने हो भने यहाँको होटल व्यवसायले अब थप नयाँ लगानी थेग्न सक्दैन । एक वर्षयता मात्रै वीरगञ्जमा ठूलो लगानीका आधा दर्जन होटल खुलिसकेका छन् । पर्यटक शून्य वीरगञ्ज र आसपासका क्षेत्रमा पर्यटकलाई लोभ्याउने र घुम्न लायक ठाउँको अभाव छ । भएका एकाध स्थान पनि प्रभावकारी व्यवस्थापनको अभावमा आकर्षणभन्दा विकर्षणका केन्द्र जस्ता बनेकाले यहाँ पर्यटकीय गतिविधि शून्य जस्तै छ । ‘सम्भावना नभएर होइन, प्रचारप्रसार हुन नसक्दा पर्यटक तान्न नसकिएको हो,’ संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्रसिंह थापा भन्छन्, ‘तर यस क्षेत्रमा पर्यटन विकासका लागि हालसम्म केही काम भएको छैन ।’ क्यासिनोको लाभ सानालाई वीरगञ्जका ठूला होटलमा खुलेका क्यासिनोले यहाँका साना होटल लाभान्वित भएका छन् । अध्यक्ष पन्तका अनुसार क्यासिनोका ग्राहकहरू सुत्न भने आसपासका साना होटलमा पुग्ने गरेका छन् । यहाँका होटलहरू भिसुवा, सुरज र दियालो लर्डस् प्लाजाले क्यासिनो चलाएका छन् । भारतको विहारमा मदिरामा प्रतिबन्ध लगाइएकाले मदिराप्रेमीहरू नेपालतिर आउने गरेका छन् । तिनले पनि यहाँका होटललाई फाइदा दिएका छन् । विवाह गर्न वीरगञ्ज वीरगञ्जमा सीमावर्ती भारतीय क्षेत्रबाट वैवाहिक कार्यक्रम लिएर आउने क्रम बढेको छ । होटलमा बसेर गरिने यस्तो कार्यक्रममा उनीहरूले रू. ५ लाखदेखि १० लाखसम्म खर्च गर्ने गर्छन्, जुन भारतीय शहरको तुलनामा निकै सस्तो हो । तर, भारतीय क्षेत्रमा वीरगञ्जको होटल सुविधाको पर्याप्त प्रचार भएको छैन । होटल तथा पर्यटन व्यवसायी संघले भारतको विहारका बेतिया, दरभंगा, मोतिहारी, नरकटिया, पटना र पश्चिम बंगालको कोलकातासम्म पुगेर प्रचारप्रसार अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)