ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

May 13, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
चालू आवको लक्ष्यभन्दा आधा मात्र उठाइँदै काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७५/७६ को १० महीनासम्म आन्तरिक ऋण उठाउन चासो नदिएको सरकारले चौथो त्रैमासमा आएर रू. ८६ अर्ब यस्तो ऋण उठाउने भएको छ । चालू आवका लागि रू. १७२ अर्ब आन्तरिक ऋण उठाउने सरकारी लक्ष्य थियो । नेपाल राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार सरकारले नै यति मात्र आन्तरिक ऋण उठाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तालिका अनुसार यस्तो ऋण ट्रेजरी बिल र विकास ऋणपत्र मार्फत उठाइनेछ । राष्ट्रिय, नागरिक, विशेष र वैदेशिक रोजगार बचतपत्र जस्ता अन्य औजार यो तालिकामा उल्लिखित छैनन् । कार्यकारी निर्देशक थापाका अनुसार चालू आव २०७५/७६ को तेस्रो त्रैमाससम्म सरकारले आन्तरिक ऋण उठाउन निर्देशन दिएको थिएन । आन्तरिक ऋण उठाउनु नपरेकोलाई सरकारले आफ्नोे उपलब्धिका रूपमा व्याख्या गर्दै आएको थियो । अब राष्ट्र बैंकले वैशाख ३० मा रू. १२ अर्ब बराबरको ट्रेजरी बिलको बोलकबोल गर्दै छ । यस्तै, जेठ ७ मा रू. १३ अर्ब र जेठ १४ मा रू. ११ अर्ब बराबरको ट्रेजरी बिलको बोलकबोल जारी गर्दै छ । यसैगरी, वैशाख र जेठमा राष्ट्र बैंकले विकास ऋणपत्रबाट रू. ५० अर्ब आन्तरिक ऋण पनि उठाउने भएको छ । त्यसको ब्याजदर भने बोलकबोलबाट निर्धारण गरिने कार्यकारी निर्देशक थापाले जानकारी दिए । नेपाल राष्ट्र बैंक ऐन, २०५८ र राष्ट्र ऋण ऐन, २०५९ अनुसार सरकारका तर्फबाट आन्तरिक ऋण उठाउने काम केन्द्रीय बैंकले गर्छ । हरेक वर्षको बजेटमा आन्तरिक ऋण उठाउने लक्ष्य निर्धारण गरिएको हुन्छ । यसरी निर्धारित लक्ष्यको सीमाभित्र रहेर सरकारले आवश्यकता अनुसार जुनसुकै बेला आन्तरिक ऋण उठाउन पाउने कानूनी व्यवस्था छ । राजस्वका स्रोतहरूले खर्च धान्न नसक्ने अवस्थामा सरकारले आन्तरिक ऋण उठाउँछ । चालू आव २०७५/७६ मा सरकारसँग राजस्व बचत भइरहेकामा अब आन्तरिक ऋण उठाउन थाल्नुको अर्थ खर्च धेरै बढ्नेमा सरकार विश्वस्त भएको संकेत मान्न सकिन्छ । राष्ट्र ऋण विभागको खुला बजार सञ्चालन समितिले आन्तरिक ऋण उठाउने तालिका तयार पार्ने गर्छ । अर्थ मन्त्रालयबाट स्वीकृत भएको उक्त तालिकामा आधारित रहेर ऋणपत्रहरू निष्कासन गर्ने गरिन्छ । संकलित रकम सरकारको आन्तरिक ऋण खातामा जम्मा हुन्छ । ऋणपत्रहरूको दोस्रो बजार कारोबारको व्यवस्थापन गर्ने दायित्व सरकारकै हुन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)