ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनुदानमा बनेका घरहरूको बीमा योजना अन्योलमा : पुनर्निर्माण प्राधिकरणमै रोकियो कार्यविधि

May 13, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं ।भूकम्पपछि अनुदानमा बनेका निजी घरहरूको बीमा कार्यक्रम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कारण ढिला हुँदै गएको छ । सरकार, राष्ट्रिय बीमा कम्पनी र प्राधिकरणको सहकार्यमा उक्त कार्यक्रम भूकम्प दिवसका अवसरमा गत माघ २ मा घोषणा गर्ने योजना थियो । उक्त दिन घोषणा हुन नसकेपछि प्राधिकरणले वैशाख १२ गतेको म्याद तोक्यो । त्यो म्याद गुज्रेको पनि २ साता भइसक्यो तर कार्यक्रमको अत्तोपत्तो छैन । कम्पनीको प्रस्तावमा प्राधिकरणले अनुदानमा बनेका घरहरूको बीमा गर्ने निर्णय पहिले नै गरिसकेको छ । त्यसपछि प्रधानमन्त्रीको अध्यक्षतामा रहने निर्देशक समितिले गत भदौ २१ मा बीमाका लागि आवश्यक कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पेश गर्न प्राधिकरणलाई निर्देशन दियो । मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, प्राधिकरण र बीमा कम्पनीका प्रतिनिधिको सहभागितामा बनेको मस्यौदा समितिले माघ २ मै लागू गर्न सकिने गरी कार्यविधि तयार गरेर गत मङ्सिरमै प्राधिकरणलाई बुझाइसकेको हो । तर, ५ महीना बितिसक्दा प्राधिकरणले सो कार्यविधि मन्त्रिपरिषद्मा पेश गरेको छैन । प्राधिकरणका सहसचिव मुकुन्द निरौला उक्त कार्यविधि छलफलका क्रममा रहेको बताउँछन् । भन्छन्, ‘हचुवाको भरमा बनाएर भएन, बीमा ऐन, २०४९ अनुसार बनाउनुपर्ने हुन्छ । त्यसैले गर्दा केही समय लागेको हो ।’ कार्यविधि कहिले लागू होला भन्नेबारे चाहिँ उनले केही बताउन सकेनन् । बीमा कम्पनी सम्बद्ध स्रोत भने प्राधिकरणका केही उच्च अधिकारीहरू यो योजना तुहाएर बीमाको काम निजी कम्पनीलाई जिम्मा लगाउने दाउमा रहेको बताउँछ । उक्त स्रोतका अनुसार निजी कम्पनीबाट बीमा गर्दा अभिकर्ताले मोटो कमिशन पाउँछन्, अधिकारीहरूको आँखा त्यसैमा गाडिएको छ । सरकारी स्वामित्त्वको राष्ट्रिय बीमा कम्पनीले भने त्यस्तो कमिशन घटाएर बीमाशुल्क निर्धारण गरेको स्रोतले बताएको छ । प्राधिकरणका अधिकारीमा बीमा सम्बन्धी चेतना नहुँदा पनि यस्तो समस्या देखिएको राष्ट्रिय बीमा कम्पनीका बजार विज्ञ सुकल्याण पराजुली बताउँछन् । भन्छन्, ‘यो काम निजी कम्पनीलाई दिए पनि हामी केही गुनासो गर्दैनौं । तर, जनताको हितका लागि यो योजना कार्यान्वयन गर्नुपर्थ्यो ।’ के छ कार्यविधिमा ? सम्भावित सबै जोखिमको रक्षावरण हुने गरी कार्यविधि तयार गरिएको मस्यौदा समितिका सदस्य समेत रहेका पराजुली बताउँछन् । भन्छन्, ‘घरको मूल्य जति भए पनि रू. ५ लाख बराबरको मात्र बीमा हुनेछ । पाँच वर्षका लागि एक घरको बीमाशुल्क, सरकारले दिने अनुदान कटाएर, १ हजार २७१ रुपैयाँ २५ पैसा मात्र तिर्नुपर्नेछ । यससँगै परिवारका हरेक सदस्यको निःशुल्क रूपमा रू. ५ लाख बराबरको दुर्घटना बीमा हुनेछ । प्रक्रिया अनुसार उक्त कार्यविधि प्राधिकरणले पारित गरेर मन्त्रिपरिषद्मा पठाउनुपर्छ । मन्त्रिपरिषद्ले कार्यविधि पारित गरेपछि अनुदानमा बनेका र निर्माणाधीन अवस्थामा रहेका ७ लाख ६३ हजारभन्दा बढी घर यसबाट लाभान्वित हुनेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)