दुई हजारभन्दा धेरै टुक्रा हीरा पोको पारिएको कण्डम निलेर तस्करी गर्न लागेका एक जना श्रीलङ्काली नागरिक पक्राउ परेका छन् ।
चेन्नई विमानस्थलबाट ६ लाख ७० हजार अमेरिकी डलर (झण्डै ५ करोड) बराबरका २ हजार ६० वटा हीराका टुक्रालाई कण्डममा क्याप्सुल बनाएर निलेका ४३ वर्षीय मोहमद साखेपलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
गोप्य सूचनाका आधारमा साखेपलाई हिरासतमा लिइएको बीएनओ समाचार सेवाले सम्प्रेषण गरेको समाचारमा उल्लेख छ । पक्राउ परेपछि उनको स्थानीय अस्पतालमा एक्सरे गरिएको थियो । अस्पतालमा तस्करीको अभियोग स्वीकार गर्दै उनले 'भाडाको भरिया'का रूपमा आफूले बहुमूल्य रत्न ओसारपसार गरेको बताए ।
प्रहरी सोधपुछका क्रममा साखेपले मेचमा नबसेर अस्वाभाविक गतिविधि देखाएका थिए । पेटमा हीरा भएकाले उसलाई बस्न असजिलो भएको थियो ।
महानगरीय प्रहरी आयुक्तका अनुसार उसले गुदद्वारमा घाउ भएकाले बस्न कठिन भएको झूटो बयान दिएको थियो । उसलाई भरपेट केरा ख्वाएर हीरा निकालिएको थियो ।