गाउँमै अर्गानिक तरकारीखेती : छुटायो मुग्लानको बाटो
May 16, 2019
 
रोजगारी
वीरेन्द्रनगर । महीनाभर मेहनत गरेर लगाएको खेतीले खान पुग्दैनथ्यो । आम्दानीको अन्य कुनै स्रोत थिएन । गाउँघरमा अरूको काम गर्दा मेहनतअनुसार ज्याला नपाउने समस्या । त्यसैले वीरेन्द्रनगर–२ कोलडाँडाका कालीबहादुर अधिकारीलाई घरखर्च चलाउन मुग्लान जानैपर्ने बाध्यता थियो ।
अधिकारी १२ महीनामा २ महीना (दशैं–तिहारका बेला) मात्र घर आउँथे । ९ जनाको परिवार उनकै भरमा थियो । जीविकोपार्जनकै लागि भए पनि भारतमा मजदूरी गर्नुको विकल्प उनीसँग थिएन । नेपाल–भारत गर्दा गर्दै १ दशक बित्यो । तर उनको जीवनस्तर भने उस्तै थियो, भारत पसे मात्र परिवारको छाक टर्थ्यो । ‘परिवार नै ठूलो थियो, एकजनाले मजदूरी गरी कमाएको पैसाले कति नै पुग्थ्यो र ?’ उनी विगत सम्झन्छन्, ‘कमाएर घर पुग्दा भएको घरखर्च बुझाउँदैमा पकेट खाली भइसक्थ्यो ।’
तर समय सधैंै किन एउटै धारमा चल्थ्यो र ? एक दिन अधिकारीको सोच बदल्ने अवसर बनिदियो । वीरेन्द्रनगरका केही ठाउँमा व्यावसायिक तरकारीखेती गरेको देख्दा उनलाई पनि यसले आकर्षित गर्यो, सँगसँगै चुनौती पनि तेर्सियो । एक त उनलाई तरकारी खेतीबारे ज्ञान थिएन, अर्काे पैसाको पनि अभाव । लहलह तरकारी बालीले मन ताने पनि उनलाई यसैबाटै जिन्दगीले काँचुली फेर्ला भन्ने पनि लागेन । तर सधैं भारतीय मजदूरी गरेर जीविका धान्न पनि सहज थिएन । अन्ततः उनी तरकारीखेतीमै भविष्य खोज्ने निर्णयमा पुगे ।
अधिकारीले २०४५ सालदेखि व्यावसायिक अर्गानिक तरकारीखेती शुरू गरे । हाल करीब १४ कठ्ठा जमीन भाडामा लिएर उनले यसलाई आफ्नो गरिखाने बाटो बनाएका छन् । ‘यही तरकारीले मेरो जीवन बदल्यो,’ उनी भन्छन्, ‘पहिलो कच्ची घरको बास थियो, अहिले पक्की घर बनाएको छु । भारतको मजदूरीले भन्दा कयौं गुणा बढी सन्तुष्टि मिलेको छ ।’
अर्गानिक तरकारीबाटै अधिकारीले वर्षमा ५ लाखभन्दा बढी कमाउँछन् । वर्षमा चारपटक तरकारी उत्पादन गर्दै आएका उनको ६ जनाको परिवारका लागि यही नै आम्दानीको भरपर्दो स्रोत बनेको छ । अधिकारीको बारीमा यतिबेला आलु, काउली, बन्दा, गोलभेँडा, बोडी, खुर्सानी, काँक्रा, सागलगायत तरकारीले ढकमक्क छ । ५७ वर्षीय उनी बिहान उठेदेखि साँझसम्म उनी तरकारीखेतीमै व्यस्त रहन्छन् । तरकारीमा विषादीको प्रयोग गर्दैनन् । भन्छन्, ‘औषधिमूलक झारपात तथा पशुको पिसाबबाट रोगकीरा हटाउने, मलजल गर्ने गरेको छु ।’
अधिकारीले अहिलेसम्म कुनै पनि संघसंस्था वा सरकारी निकायबाट तरकारीखेती सम्बन्धी तालीम लिएका छैनन् । सिकाइ अनुभव नै उनका लागि तालीम र अवसर हो । राज्यले किसानलाई दिने अनुदान समेत पाएका छैनन् उनले । उनी भन्छन्, ‘तरकारी खेतीभन्दा पनि समूह र सहकारी दर्ता गरे खेती नगरे पनि अनुदान पाइँदो रैछ ।’
राज्यले अनुदानको व्यवस्था गरे अझै तरकारीखेती विस्तार गर्ने अधिकारीको सोच छ । पानीको अभाव हुँदा सार्वजनिक कुवाबाट पानी बोकेरसमेत तरकारीखेती गर्दै आएका छन् उनले । उनकै सिको गरेर धेरैले तरकारीखेती गर्न थालेका छन् । कोलडाँडाका घर–घरमा करेसाबारी छन् । किसानले उत्पादन गरेको तरकारी बजारीकरणका लागि समेत कुनै समस्या छैन । व्यापारी खेतीबारीमै पुग्छन् । तरकारी धेरै भएमा वीरेन्द्रनगर–६ मा रहेको तरकारी हाटबजार केन्द्रमा ल्याएर पनि विक्री गर्छन् ।