हाम्रो देशको माटोमा गणतन्त्रको युरिया पर्या मात्र के थ्यो, यी तीन चीज खूब फुल्न थाल्या छन्– दलाल, गुन्डा र नेता । कतिपयले रूपमा यी तीन भाइ फरक देखिए पनि सारमा एकै हो भन्छन् । अर्थात् यी तीन नाममध्ये जे भने पनि सारमा एउटै हो भन्ने बुझिन्छ । जस्तै– हाम्रै गाउँका अन्तरे पहिले एउटा सामान्यस्तरका स्थानीय गुन्डा थिए, जो जग्गा दलाली गरेर गुजारा चलाइरहेका थिए । तर गणतन्त्र आएपछि आफ्नो प्रतिभाले उनी मध्यम कोटिको दलाल हुँदै जिल्लास्तरका उत्तम कोटिकै नेता बन्न सफल भए । एक प्रान्तीय मन्त्रीको आशीर्वाद पाएपछि त उनी झन् फल्न फुल्न लागे । यसबीच उनी एक सरकारी संस्थानकै अध्यक्ष पड्काउन सफल भए । त्यसपछि त के चाहियो र ? जनताका लागि काम गर्दागर्दै उनका हातमा फल त कति फल्न लागे लागे । उनलाई स्वदेशी बैंकले नपुगेर विदेशी बैंकमा समेत खाता खोल्ने बाध्यता प¥यो । हिजोआज उनलाई प्रोजेक्टहरूको फाइल बोक्दै गाउँ पुगेका नयाँ सिंहदरबार, बालुवाटार र खुर्सानीटार गर्दैमा फुुर्सद छैन । फुर्सद होस् पनि कसरी, जब फाइल फाइलमै लटरम्म फल टिप्न पाइन्छ ।
तर देशमा केही समययता अन्तरे, जन्तरे, पानीमन्तरे नेताको उत्पादन यति बढेछ कि देशलाई नेताहरूको व्यवस्थापन गर्न हम्मे पर्ला जस्तो पो छ त !
एक त देशमा कुनै पनि प्रकारको आन्दोलन–सान्दोलन हुन नसकिरहेकोले बस्दा बस्दा नेताहरूको पुठो बाँदरको जस्तो रातै भैसकेको छ । नेताको मन स्वभावैले चञ्चल हुने, कुनै न कुनै उपद्रव गरी नै रहनुपर्ने । नारा, जुलुस, माइक, तोडफोड नभए खाना नरुच्ने । ठूला ठूला नेताका त यसो रिबन काट्ने, भाषण गर्ने, मिडियामा अन्तरवार्ता, लेख आदिमा समय कटिहाल्छ । तर अन्तरे र जन्तरे जस्ता मध्यम कोटिका नेताहरूका लागि भने समय कटाउन कष्टकर बन्दै गएको छ । यी बिचराहरूको यत्ति धेरै हैसियत पनि छैन कि, आफ्नो स्वास्थ्य सुधार्न भनेर कतै बाहिरतिरै गइहालून् । हदै गर्न सक्ने भनेको स्थानीय अस्पतालमा गएर ‘हामी नेता हौं । हाम्ले देश र जनताका निम्ति यति धेरै दुःख झेलेका छौं । जेल, नेल सबै पाएका छौं । आवश्यक परे फेरि भित्र जान तयार छौं । हामीसँग पनि शुल्क माग्ने ?’ आदि इत्यादि भनेर आफ्नो स्वरलाई तारसप्तकमा लगेर उपचार निःशुल्क गराउने ।
देशमा केही समययता अन्तरे, जन्तरे, पानीमन्तरे नेताको उत्पादन यति बढेछ कि देशलाई नेताहरूको व्यवस्थापन गर्न हम्मे पर्ला जस्तो पो छ त !
नेताहरू कहाँ छैनन् ? यिनीहरू सडकमा छन्, गिट्टी, ढुंगा, बालुवा र खोलामा, हाइड्रोको लाइसेन्स बोक्ने झोलामा छन् । यिनीहरू बालुवाटारदेखि भ्यूटावरमा, मेडिकल शिक्षामा, टीयू र पीयूमा सबैतिर छन् । जहाँ पेशा र पैसा छ, त्यहाँ नेता छन् वा पुग्छन् । कथं कुनै अन्तरे नेता बन्न सकेन भने कुनै तारतम्य मिलाएर एक दिन भने पनि भित्र पाहुना बन्न आफै जान्छ । अझ पुलिसकै कृपाले एकपटक मात्र गएर जेलभित्र बस्यो भने पनि गेट बाहिर निक्लँदा ऊ दरिलै नेता भएर निस्कन्छ ।
हुन पनि नेताविना हाम्रो समाज चल्नै नसक्ने अवस्थामा पुगिसकेको छ । त्यसैले जेलभित्र बस्दा कसैलाई अब जिन्दगीमा दलाली, गुन्डागर्दी वा अर्को शब्दमा नेतागिरी गर्दिनँ भन्ने जस्तो लागे पनि बाहिर आएपछि नेता नबनी सुख्खै पाउँदैन । किनकि एक त आफ्ना दुःखको वैतरिणी नेताले मात्र पार गराउन सक्छन् भन्ने मानिसहरूको कमी छैन देशमा । त्यस्ता मानिसहरु सधैं नेताकै शरण खोजिरहेकै हुन्छन् । जेल बाहिर फूलमाला, अबिर लिएर स्वागत जुलूस निकाल्न तम्तयार भएर बाहिर कुरिरहेकै हुन्छन् । दोस्रो, नेताजीले जीवनमा नेतागिरी बाहेक अरू गर्न पनि त केही जानेकै हुँदैन, अनि के गर्ने ? व्यवसाय गर्न पैसा र ढंग दुवै हुँदैन । पढाइ लेखाइ गर्न समयमा जाँगर चलेन । कतै जागीर खाऊँ, पियनमा पनि कसैले पत्याउँदैनन् । त्यसैले नेपालमा सबै दृष्टिकोणले लाभप्रद यै नेता बन्नुमा नै देखिन्छ । अझ जेल बसेको वा मान्छे नै गिँडेको वा गिँड्न आदेश दिएको प्रमाणपत्र छ भने त कुनै ठूलो पद पाउन त्यति गाह्रो हुँदैन । भूतपूर्व नै भए पनि ‘जेल तपस्वी’ हो भनेपछि बल्ल बजार भाउमा पनि फरक पर्छ । एकपटक मन्त्री वा राज्यमन्त्रीसम्म पड्काउन पाएपछि त जिन्दगीमा पछाडि फर्केर हेर्नैपर्दैन । जे बोले पनि वा जति झूठ बोले पनि चल्छ । सबैले पत्याइहाल्छन् ।
मन्त्री भइसकेपछि देशको हावापानी भने त्यति आफू अनुकूल हुँदैन । स–सानो चिसो–तातो मौसममा पनि रुघा लाग्न थालिहाल्छ, जसको उपचार स्वदेशी अस्पतालहरूले गर्नै सक्तैनन् । त्यसैले बेलाबेलामा उपचारका लागि विदेश उड्नैपर्छ । त्यसैले त चुनाव सकिएपछि प्रायः सांसद, मन्त्री गाउँ जानै सक्तैनन् । गाउँ जान कम्ति गाह्रो पनि त हुँदैन नि, घाम, पानी, हिलो, धूलो झेल्न सक्नुपर्छ । फेरि ७० प्रतिशत जनता किसान भएको देशमा कसलाई मात्र भेट्न जाने ?
ठूलो नेता, मन्त्री भैसकेपछि फेरि खाना पनि जे पायो त्यै नरुच्ने, नपच्ने भैसकेको हुन्छ । मार्सी चामल नै चाहिन्छ, साथमा चाहिन्छ हरेक दिन बँदेल, खसी वा कुखुरा । अझ सके हरिण वा कालिजको सुकुटी र विदेशी बोतलविना भाग बस्न मन लाग्दैन । प्राडो, पजेरो पनि असुविधाजनक लाग्नथाल्छ । पाएसम्म, भ्याएसम्म हेलिकोप्टरमै हिँड्न मन लाग्न थाल्छ । यो सबै व्यवस्थापन गर्न कम्ता गाह्रो छ ? सामान्यजन यस्ता कुरै बुझ्दैनन् । सबैलाई यो कुरा कसरी बुझाउने ? यी सबै व्यवस्थापन गर्न असहज भैरहेकोले नेताजीहरू थप बेरोजगार हुँदै गैरहेको स्थिति छ । कति त्यै सुन, सरकारी जग्गा, प्रेस स्वतन्त्रता आदिबारे बोलेर मात्रै बसिरहने ? यस्तो परिस्थितिमा तपाईं आफै भन्नुस् न पाठकवृन्द, बेरोजगार बिचरा नेताहरू गरून् पनि के ?