ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कमोडिटी एक्सचेन्ज : धितोपत्र बोर्डविरुद्ध मुद्दाको तयारी

May 17, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । धितोपत्र बोर्डले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालन गर्ने सम्बन्धी पाँचओटा कम्पनीको आवेदन रद्द गरेपछि तीमध्येका केही कम्पनी अदालत जाने तयारीमा लागेका छन् । बोर्डले गत वैशाख ११ मा ती आवेदन रद्द गरी नयाँ आवेदन मागेको थियो । उक्त निर्णय गैरकानूनी रहेको बताउँदै कम्पनीहरू अदालत जाने तयारीमा हुन् । कमोडिटी फ्युचर्स एक्सचेन्ज (सीएफएक्स) लिमिटेड, नेपाल कमोडिटी (एनसीडीएक्स), नेपाल मर्कन्टाइल (नेक्स), राइजल कमोडिटी (आरसीडीएक्स) र मल्टी डेरिभेटिभ एक्सचेन्ज (एमडेक्स) गरी पाँच कम्पनीले आवेदन दिएका थिए । बोर्डले ती सबै आवेदन रद्द गरी वैशाख १२ मा सूचना प्रकाशित गर्दै २ महीनाभित्र नयाँ आवेदन मागेको थियो । आवेदन रद्द गरेको बोर्डको पत्र लिन पनि हालसम्म केही कम्पनी गएका छैनन् । ती कम्पनीले ‘वस्तु विनिमय बजार सम्बन्धी ऐन–२०७४’ र नियमावली–२०७४ अनुसार कागजात नपुर्‍याएको र अब नयाँ दुई कम्पनीलाई मात्र स्वीकृति दिने गरी पुराना आवेदन रद्द गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले बताए । तर, करीब २ वर्षदेखि परेका आवेदनबारे निर्णय नदिई एकाएक रद्द गर्नु कानून विपरीत रहेको भन्दै कम्पनीहरू अदालत जाने भएका हुन् । आवेदन र कागजात अध्ययन गर्दा लगानीकर्ता र सर्वसाधारणको हित हुनेमा बोर्ड सन्तुष्ट भएमा १२० दिनभित्र अनुमतिपत्र दिनुपर्ने ‘वस्तु विनिमय बजार सम्बन्धी ऐन–२०७४’ मा व्यवस्था छ । ‘त्यस अनुसार आवेदन दिएको १२० दिनभित्रै स्वीकृति दिने वा नदिने भन्नेबारे हामीलाई सूचित गर्नुपर्थ्यो । तर, त्यसो नगरेकाले यो निर्णय कानून विपरीत छ,’ आवेदक कम्पनीहरू मध्ये एउटाका सञ्चालकले आर्थिक अभियानसित भने, ‘लामो समय कुराएर गरेको यो निर्णयले हामीमाथि अन्याय भएको छ ।’ आवेदन प्राप्त भएपछि थप अध्ययन गर्नु परे आवश्यक कागजात र विवरण माग्ने अधिकार बोर्डलाई छ । बोर्डमा पेश भएका विवरण वा कागजातबारे थप स्पष्ट गर्नुपर्ने देखिएमा बढीमा ३० दिनको आदेश दिन पाउने व्यवस्था पनि ऐनमा छ । तर, बोर्डले ऐनको उक्त व्यवस्था पालना नगरेको कम्पनीहरूको भनाइ छ । बोर्डका प्रवक्ता गिरीले भने नियमावलीको नियम ५ को उपनियम १ अनुसार आवेदन दर्ता रद्द गर्ने अधिकार बोर्डलाई रहेको बताए । बोर्डले नयाँ आवेदन माग गरेको पनि २२ दिन बितिसकेको छ । यसबीचमा एउटा पनि आवेदन नपरेको प्रवक्ता गिरीले जानकारी दिए । बोर्डले तोकेको २ महीना अवधि आगामी असार १२ मा पूरा हुन्छ । यस अवधिमा कुनै आवेदन नपरे पुनः विज्ञापन गरिने उनले बताए । नेपाल कमोडिटी (एनसीडीएक्स) भने यसअघि आवश्यक कागजात नपुगेको स्वीकार गर्दै अब नियम अनुसार प्रावधान पुर्‍याएर आवेदन दिने तयारीमा छ । उक्त कम्पनीका अनुसार यसअघिका कतिपय सञ्चालक गैरआवासीय नेपाली (एनआरएन) थिए र उनीहरूले छाडेपछि नयाँ समूह बनाएर आवेदन दिने तयारी भइरहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)