ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाँच आर्थिक वर्षमा पुनर्बीमा कारोबार : २७ अर्ब बाहिरियो, २५ अर्ब भित्रियो

May 21, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । पछिल्लो ५ आर्थिक वर्ष (आव) मा पुनर्बीमाको प्रिमियम स्वरूप रू. २७ अर्ब ४० करोड ४४ लाख मुलुकबाट बाहिरिएको छ भने पुनर्बीमा दाबी भुक्तानी मार्फत रू. २४ अर्ब ९७ करोड ४५ लाख भित्रिएको छ । भूकम्प, बाढी, महामारी जस्ता विपत्तिमा ठूलो मात्रामा जनधनको क्षति हुने हुँदा बीमा कम्पनीहरूले दाबी भुक्तानी गर्न गाह्रो हुने गर्छ । त्यस्तो अवस्थालाई ध्यानमा राखी कम्पनीहरूले आफ्नो जोखिमको पनि बीमा गर्छन्, जसलाई पुनर्बीमा भनिन्छ । ‘नेपाली बीमा क्षेत्रमा पुनर्बीमाको अभ्यास र यसको प्रभाव’बारे बीमा समितिले गरेको अनुसन्धान प्रतिवेदनले पुनर्बीमा कारोबारको उक्त स्थिति देखाएको हो । समितिले आव २०७०/७१ देखि २०७४/७५ सम्मको पुनर्बीमा सम्बन्धी तथ्यांकका आधारमा अनुसन्धान गरेको थियो । यस अवधिमा जीवन बीमा कम्पनीको रू. ३ अर्ब ४५ करोड ७१ लाख र निर्जीवन बीमा कम्पनीको रू. २५ अर्ब ९४ करोड ९८ लाख पुनर्बीमा प्रिमियम निर्धारण गरिएको थियो । त्यसमा कम्पनीहरूले पाउने पुनर्बीमा कमिशन लगायत रकम कट्टा गर्दा उक्त रकम बाहिरिएको हो । सोही अवधिमा जीवन बीमामा रू. १ अर्ब ६९ करोड ७१ लाख र निर्जीवन बीमामा रू. २३ अर्ब १ करोड ६० लाख पुनर्बीमा दाबी भुक्तानी मार्फत भित्रिएको छ । जीवन बीमामा मृत्युको मात्र जोखिम हुन्छ । त्यस्ता जोखिमहरू स्वयं कम्पनीहरूले पनि वहन गर्न सक्छन् । त्यसैले जीवन बीमा कम्पनीले ‘व्यापक पुनर्बीमा’ (क्याटोस्ट्रोफी रि–इस्योरेन्स) मात्र गर्दै आएका छन् । यस्तो पुनर्बीमाले भूकम्प, बाढी, महामारी जस्ता कारणबाट ठूलो संख्यामा मानिसको मृत्यु भएमा भुक्तानी दिन्छ, जसअनुसार जीवन बीमा कम्पनीबाट पुनर्बीमाको नाममा कम रकम बाहिरिने गरेको छ । तर, निर्जीवन बीमामा जोखिम बढी हुन्छ । निर्जीवन बीमा कम्पनीले बढीमा ५ प्रतिशत जोखिम आफूले राखेर बाँकीको पुनर्बीमा गर्ने गरेका छन्, जसअनुसार निर्जीवन बीमाबाट पुनर्बीमाको नाममा बाहिरिने र भित्रिने दुवै रकम बढी हुने समितिको भनाइ छ । नेपालमा पुनर्बीमा गर्ने पर्याप्त कम्पनी नहुँदा भारत, मलेशिया लगायत मुलुकका कम्पनीमा पुग्नुपर्ने बाध्यता छ । नेपालमा पुनर्बीमा कम्पनी ‘नेपाल रि’ सञ्चालनमा आएपछि पुनर्बीमा मार्फत बाहिरिने केही रकम रोकिएको छ । निर्जीवन बीमामा बाहिरिने भन्दा भित्रिने रकम बढी निर्जीवन बीमा अन्तर्गत पुनर्बीमाको नाममा बाहिरिने प्रिमियमभन्दा पुनर्बीमा दाबी भुक्तानी मार्फत भित्रिने रकम बढी छ । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले खुद प्रिमियम बापत रू. १९ अर्ब ६५ करोड २६ लाख विदेशी पुनर्बीमा कम्पनीलाई बुझाएका थिए । तर, सोही अवधिमा विदेशी पुनर्बीमा कम्पनीहरूले दाबी भुक्तानी मार्फत रू. २३ अर्ब १ करोड ६० लाख यहाँका कम्पनीलाई बुझाएका छन्, जुन खुद प्रिमियमभन्दा रू. ३ अर्ब ३६ करोड ३३ लाखले बढी हो । बाहिरिने प्रिमियमभन्दा भित्रिने दाबी भुक्तानी बढी भएपछि यहाँका बीमा कम्पनीहरूको पुनर्बीमा गर्न गाह्रो हुने देखिएको छ । यद्यपि, अहिले निर्जीवन बीमा कम्पनीहरूको पुनर्बीमा गर्न त्यति समस्या नभएको सगरमाथा इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षत्रीको भनाइ छ । ‘तर, पुनर्बीमा कम्पनीले नेपालसँगको व्यवसायमा यही रूपमा नोक्सानी बेहोर्दै जाने हो भने निकट भविष्यमा यस्तो समस्या आउन सक्छ,’ उनले भने, ‘त्यस्तो अवस्था आउन नदिन पुनर्बीमा प्रिमियमलाई स्ट्यान्डर्ड बनाउन आवश्यक छ ।’ साथै, बीमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले सबै प्रकारका बीमाहरू जोखिमयुक्त नभएकाले यस्तो समस्या नआउने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)