जागीर खानेहरुले अनेक तनावयुक्त अवस्थाको सामना गर्नुपर्ने हुन्छ । समस्या सुल्झाउन नसक्दा उनीहरु राजीनामा दिन पनि पछि पर्दैनन् । तलबको कुरा नमिल्दा, भ्रष्टाचार हुँदा, काम गर्ने वातावरण असहज हुँदा र काम गर्ने स्थल सुरक्षित नहुँदा राजीनामा दिने कुरा त हामी सबैलाई थाहै छ । तर, पोल्याण्डका एक उच्च अधिकारीले भने आफूले बाँधेको घडी आफ्नै भएको प्रमाण दिन नसकेकै कारण राजीनामा दिएका छन् । पोल्याण्डका यातायातमन्त्री स्लावोमिर नोवाकले घडीकै कारण राजीनामा दिएका हुन् । आफ्नो २० हजार ४ सय ज्लोटी (६ हजार ६ सय डलर) मूल्यको नाडी घडी आफ्नो रहेको भन्न नसकेपछि सरकारी अधिवक्ताले उनलाई कानून उल्लङ्घन गरेको आरोप लगाएका थिए । नोवाकको राजीनामा स्वीकृत गरिसकेको भए पनि उनी फेरि पदमा फर्कन सक्ने सम्भावनातर्फ पोल्याण्डका प्रधानमन्त्री डोनल्ड टष्कले औंल्याएका छन् । यस मामिलाको अनुसन्धानले उनी निर्दोष रहेको प्रमाण दिएको खण्डमा र यदि उनी पदमा फर्कन चाहेमा उनको स्वागत हुने टष्कले बताएका छन् ।
प्रधानमन्त्रीको उत्कृष्ट दाबेदारका रुपमा चित्रण गरिएका नेवाकको हब्लट र युलिसिस नार्डिजनजस्ता महँगा घडीप्रतिको मोहबारे यो वर्षको शुरूआतमा स्थानीय सञ्चारमाध्यमहरुले बाहिर ल्याएका थिए । नेवाकले भने सो घडी परिवारले उपहार दिएको वा सापटी लिएको बताउँदै आएका छन् । त्यस्तै, उनले महँगो घडी लगाए पनि आफू कुनै गलत काममा नलागेको पनि प्रस्ट्याएका छन् । यस अभियोगका कारण टष्क सरकारको प्रतिष्ठामाथि प्रश्न उठ्ने विश्लेषण गरिएको छ । पछिल्लो समयमा गरिएको सर्वेक्षणअनुसार सरकारको लोकप्रियता घट्ने क्रममा रहेको पाइएको छ । नोवाकले आफ्नो महँगो घडीको स्वामित्वको प्रमाण दिन नसकेकाले उनीमाथि गरिएको सन्देह उचित रहेको पत्र सरकारी वकीलको कार्यालयले संसद्लाई पठाएको थियो । ‘अनुसन्धानका क्रममा नोवाकका साथमा ६ हजार ६ सय डलर मूल्य पर्ने घडी रहेको पाइएको छ,’ जिल्ला सरकारी अधिवक्ता कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नोवाक संसद्का एक सदस्य भएकाले उनलाई अदालतमा उभ्याउन सरकारी वकीललाई कुनै अधिकार छैन । यद्यपि, संसद्ले उनीविरूद्धमा मतदान गरेमा उनलाई अदालतमा लैजान पाइनेछ । कानूनबमोजिम नोवाकले आफूसँग भएको १० हजार ज्लोटीबराबरको सामानको स्रोत खुलाउनुपर्ने छ । यससम्बन्धी थप बुझ्न खोज्दा नोवाकले कुनै अभिव्यक्ति दिन चाहेनन् ।