ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनीमा भ्रमण वर्षको तामझाम : पर्यटकको बसाइ भने डेढ दिन मात्र

May 22, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । यस वर्ष २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यसहित प्रदेश–५ सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ घोषणा गरेको छ । त्यसका लागि रू. १ करोड ९१ लाख ७० हजार बजेट पनि छुट्याइएको छ । तर, विज्ञहरू भन्छन्– लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउने कार्ययोजना नआएसम्म भ्रमण वर्षले सार्थकता पाउँदैन । ‘लुम्बिनीको पुरातात्त्विक महत्त्व’ विषयमा विद्यावारिधि गरेका प्रा.डा. गीतु गिरीका अनुसार लुम्बिनी आउने पर्यटकको औसत बसाइ १ दशमलव ८ दिन मात्र छ । जबकि, नेपाल आउने पर्यटकको औसत बसाइ १५ दिन हुने गर्छ । भ्रमण वर्ष घोषणा गरिसकेको प्रदेश सरकारसँग लुम्बिनी आउने पर्यटकलाई केही दिन त्यस क्षेत्रमा टिकाउने योजना भने छैन । लुम्बिनी विकास कोषको ३ वर्षको तथ्यांक अनुुसार त्यस क्षेत्रमा सरदर वार्षिक १५ लाख पर्यटक आउने गर्छन् । त्यसमा साढे १२ लाख नेपाली, डेढ लाखभन्दा बढी भारतीय र अन्य मुलुकका नागरिक करीब डेढ लाख हुने गर्छन् । ‘यस हिसाबले २० लाख पर्यटक पु¥याउन गाह्रो नहोला,’ डा. गिरी भन्छन्, ‘तर, उनीहरूको बसाइ अवधि नलम्ब्याउने हो भने संख्या गनेर केही फाइदा छैन ।’ प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल भने पर्यटनलाई आर्थिक समृद्धि र दिगो विकाससँग जोड्ने नीति अनुरूप भ्रमण वर्ष घोषणा गरिएको बताउँछन् । ‘लुम्बिनी विश्वभरिका डेढ अर्ब बौद्धमार्गीको तीर्थ हो । ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक हिसाबले पनि यो स्थान उत्तिकै महत्त्वपूर्ण छ,’ उनी भन्छन्, ‘जीवनमा एक पटक बुद्धको जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका दुनियाँभरिका बुद्धमार्गीलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न सकिन्छ भन्ने निष्कर्षका साथ प्रदेश सरकारले भ्रमण वर्ष घोषणा गरेको हो ।’ यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुर्‍याउने उनको धारणा छ । बृहत्तर लुम्बिनीका रूपमा विकास गर्दा कपिलवस्तु र नवलपरासी समेतलाई बौद्धमार्गीहरूको गन्तव्य बनाउन सकिने प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीको धारणा छ । प्रदेश सरकारले त्यही दिशामा काम गरिरहेको उनी बताउँछन् । निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन तथा अन्य पूर्वाधारको विकासले भ्रमण वर्ष सफल हुने मन्त्री गिरीको विश्वास देखिन्छ । यद्यपि, मन्त्री गिरीले भनेजस्तो बृहत् लुम्बिनीको अवधारणाले मूर्तरूप पाउन सकेको छैन । गौतम बुद्ध विमानस्थलको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि पूर्ण सञ्चालनमा आउन अझै समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

अलपत्र गुरुयोजना कपिलवस्तु, रूपन्देही र नवलपरासीमा गरी बुद्ध र उनको जीवनसँग सम्बद्ध १६० भन्दा बढी धार्मिक, पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक स्थल छन् । त्यसमा बुद्धले २९ वर्ष बिताएको तिलौराकोट, बुद्धत्व प्राप्तिपछि उनलाई भेट्न बाबु शुद्धोदनले बनाएको विहार रहेको कुदान, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटीहवा, बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा, मावली देवदह, हजारौं संख्याका शाक्यहरूको हत्या गरिएको स्थान सागरहवा मुख्य हुन् । ती सबैलाई समेटेर बृहत्तर विकासमा ध्यान नदिएसम्म पर्यटकको बसाइ लम्ब्याउन नसकिने विज्ञहरूले औंल्याउँदै आएका छन् । तर, सरकारको ध्यान मायादेवी मन्दिर र आसपासको संरक्षित क्षेत्रमा मात्र केन्द्रित देखिँदै आएको छ । भारतले भने बुद्धसँग सम्बद्ध स्थलहरूको धार्मिक, पर्यटकीय विकासका लागि ‘बुद्ध सर्किट’को अवधारणामा काम गरिरहेको छ । भारतमा पर्ने बुद्धस्थलहरू बोधगया, सारनाथ र कुशिनगरलाई समेटेर जापानको सहयोगमा उक्त सर्किट निर्माणाधीन छ । आप्mनो भूमिमा पर्ने बुद्धस्थलमा आउने भिक्षुहरूका लागि भारतले पाँचवर्षे भिसा नै उपलब्ध गराउँछ । भारतको केन्द्र सरकारको योजना ‘बुद्ध सर्किट’ले ७०० किलोमिटर क्षेत्र समेट्छ । नेपालमा भने बढीमा ५० किमीको दूरीभित्र पर्ने बुद्धस्थलहरू समेटेर बृहत्तर विकास गर्न सरकारले सकेको छैन । ४२ वर्षअघि जापानी वास्तुकलाविद् तथा अमेरिकाको हार्वर्ड विश्वविद्यालयका प्राध्यापक केन्जो टाँगेले तयार पारेको गुरुयोजनाको ८० प्रतिशत काम मात्र सम्पन्न भएको छ । उनलाई गुरुयोजना तयार गर्न जिम्मा दिएको लुम्बिनी विकास कोषको सहयोगका लागि १५ ओटा देशले गठन गरेको अन्तरराष्ट्रिय समिति पनि २६ वर्षयता निष्क्रिय छ । यस्तै, २०६५ कात्तिकमा १६ मा लुम्बिनी आएका संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान–कि–मुनको ठाडो निर्देशनमा यूएनडीपी र युनेस्कोले लुम्बिनी सहयोग परियोजना शुरू गरेका छन् । कोरियाली सहयोग नियोग (कोइका)को सहयोगमा जेजु विश्वविद्यालयका प्राध्यापक तथा वास्तुविद् योङ हुन क्वाकले अर्को गुरुयोजना पनि तयार पारिसकेका छन् । लुम्बिनी विकास कोषका सूचना अधिकारी ज्ञानिन राईका अनुसार क्वाकको योजना र बृहत् लुम्बिनीको अवधारणामा भने प्रारम्भिक काम मात्र भएको छ । दुवै योजनामा केही विज्ञहरूसँग छलफल र गोष्ठी बाहेकको ठोस काम भएको पाइँदैन । लुम्बिनी म्याराथन तथा बुद्ध सर्किटको अवधारणा अगाडि सारेका पर्यटन व्यवसायी विक्रम पाँडे ‘काजी’ लुम्बिनीको विकास अवधारणा नै परिवर्तन गर्नुपर्ने बताउँछन् । ‘बुद्धको आज्ञा अनुुसार बुद्धमार्गीले जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, पहिलो प्रवचन गरेको सारनाथ र महापरिनिर्वाण प्राप्त गरेको सारनाथको भ्रमण गर्नुपर्छ ।’ अहिले बुद्धको दर्शन उल्टो भएको बताउने पाँडे यसलाई चिर्दै समग्रतामा अगाडि बढाउन सके लुम्बिनीले मुलुकको समृद्धिमा ठूलो योगदान दिनसक्ने बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)