सामान्यतया दक्षिण कोरियाको आयातभन्दा निर्यात बढी नै हुने गरेको छ । त्यसैकारण यहाँ व्यापारघाटा कमै मात्र हुने गरेको पाइएको छ । पछिल्लो समय दक्षिण कोरियामा उल्लेख्य आर्थिक विस्तार हुनुका कारण पनि यहाँको बलियो निर्यातलाई लिन सकिन्छ । तर, केही वर्षयता दक्षिण कोरिया बडो विडम्बनापूर्ण व्यापारघाटाको अवस्थाबाट गुज्रिरहेको छ । त्यो हो– त्यहाँको राष्ट्रिय परिकार ‘किम्ची’ (विभिन्न प्रकारका तरकारी मिसाएर बनाइने पिरो र अमिलो अचार)को व्यापारघाटा । कोरिया लामो समयदेखि त्यहाँको प्रसिद्ध राष्ट्रिय परिकार ‘किम्ची’को स्थानीय माग आयात गरेरै पूर्ति गर्नुपर्ने अवस्थामा पुगेको छ ।
हिउँदको शुरुआतसँगै घरघरमा किम्ची बनाउने तयारी चलिरहेको छ । राजधानी सोलनजिकै करीब ३ हजार महिला पञ्जा, एप्रोन मास्क र सर्जिकल ह्याट लगाएर किम्ची बनाउने तयारीमा जुटेको देख्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ । करीब ४ घण्टामा नै उनीहरुले २ सय ५० टन कोरियाली किम्ची बनाइसकेका थिए । यो किम्ची शहरभरिका न्यून आय भएका परिवारलाई प्रदान गरिने बताइएको छ । थोरै समयमा नै यति ठूलो मात्रामा किम्ची उत्पादन भए पनि यो कोरियाका जनताले भने त्यति सजिलै उपभोग गर्न नसक्ने विश्लेषकहरु बताउँछन् । जति यो परिकार निर्यात हुन्छ, त्योभन्दा बढी त यो आयात नै हुने गरेको छ । ठूला ठूला रेष्टुराँबाहेक सोलका प्रायः फूड आउटलेटमा किम्चीजस्तै खुर्सानी, नून, लसुन र बन्दा हालेर बनाइएको चिनियाँ परिकारको विक्री धेरै हुने गरेकाले त्यहाँ किम्ची घाटा बढ्दो छ । त्यो चिनियाँ परिकार किम्चीको तुलनामा ज्यादै सस्तो हुने भएकाले यसको विक्री बढेको बताइन्छ । मूल्यमा भएको विशाल अन्तरका कारण सन् २००६ यता कोरियाले किम्चीमा घाटा बेहोर्दै आइरहेको छ ।
गत वर्ष कोरियाली किम्चीको निर्यात १० करोड ६६ लाख डलरको कीर्तिमानी उचाइमा थियो भने आयात त्योभन्दा बढी ११ करोड ८० लाख डलर रहेको कोरिया मत्स्यपालन तथा खाद्य व्यापार कर्पोरेशन (केएएफटीसी)ले बताएको छ । किम्ची निर्यातको ८० प्रतिशत जापानमा भएको थियो भने ९० प्रतिशत आयात चीनबाट भएको थियो । यसरी किम्ची घाटाको आकार ४२ लाख डलर रहेको केएएफटीसीले जानकारी दिएको छ । सन् २०१३ मा भने जापानी येनको अवमूल्यन तथा टोकियो–सोलबीचको तनावपूर्ण सम्बन्धले किम्ची निर्यातमा उच्च कमी आएको बताइन्छ । सन् २००९ मा बाहेक सन् २००६ देखि कोरियाले हरेक वर्ष किम्ची घाटा खेपिरेहेको छ ।
‘स्थानीय रेष्टुराँमा किम्ची हराउँदै जानु विडम्बना हो,’ केएएफटीसीका एक अधिकारीले बताए । कतिपय रेष्टुराँमा चिनियाँ किम्चीलाई नै कोरियाली भनेर ग्राहकलाई ठग्ने प्रवृत्ति बढेको उनको कथन छ । हरेक वर्ष नोभेम्बर महीनामा परिवार तथा छरछिमेकी जम्मा भई जाडोका लागि किम्ची बनाउने प्रथा पुस्तौंदेखि चलिआएको छ । यद्यपि, बढ्दो आधुनिकीकरणका कारण पारिवारिक र सामाजिक संरचनामा आएको परिवर्तनसँगै प्रायःजसो युवावर्गमा यस किसिमको जमघट दुर्लभ हुँदै आएको विश्लेषकहरुको भनाइ छ । ‘हाम्रो परम्परा यसरी लोप हुँदै जानु दुखद हो,’ किम्ची बनाउँदै गरेकी एक महिलाले बताइन् । यो स्वादिष्ट परिकार बनाउन आफूले आफ्ना हजुरआमा तथा आफ्ना पुर्खाबाट सिकेजस्तै छोराछोरीले पनि त्यसैगरी सिकुन् भन्ने उनको चाहना छ । रासस/एएफपी