५९० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा : अख्तियारले थाल्यो अनुसन्धान
May 23, 2019
 
समाचार
मुख्य खबर
काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकाको ५९० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । अख्तियार स्रोतका अनुसार त्यसमा संलग्नहरूको पहिचान गर्ने काम भइरहेको छ ।
‘केही व्यक्तिको पहिचान गरी बयानका लागि बोलाएका छौं,’ अख्तियार स्रोतले भन्यो, ‘कुन मितिमा र कुन सरकारी अधिकारीको पालामा उक्त जग्गा व्यक्तिको नाममा गएको हो भन्ने अनुसन्धान गरिरहेका छौं ।’ पहिचान भएका व्यक्तिहरूलाई सात दिनभित्र उपस्थित हुन बुधवार अख्तियारले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
बोलाइएको मितिभित्र उनीहरू नआएमा कानूनबमोजिम हुने पनि सूचनामा उल्लेख छ । उक्त जग्गा उनीहरूकै नाममा रहेको पाइएको छ । ‘सरकारी कर्मचारीहरूलाई पनि बोलाउने तयारी गरिरहेका छौं,’ अख्तियार स्रोतले भन्यो ।
साविक गुठीचौर गाविस–६ को कित्ता नम्बर ३ मध्येको उक्त जग्गा भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमको नाममा थियो । त्यसलाई व्यक्तिको नाममा सार्ने काममा संलग्न रहेको आरोपमा गुठीचौर–४ का कविदत्त न्यौपाने, गोमा न्यौपाने, पार्वती न्यौपाने, केशवराज न्यौपाने, देवेन्द्रप्रसाद उपाध्यायलाई बयानका लागि बोलाइएको हो । यस्तै, सोही ठाउँका विष्णुऋषि शर्मा न्यौपाने, विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने र मायालाल न्यौपानेलाई पनि अख्तियारले बयानमा बोलाएको छ । त्यसरी बोलाइएकामा गुठीचौर–५ का जानकीदत्त देवकोटा पनि छन् । उक्त प्रकरणको छानबिन अख्तियारको अनुसन्धान महाशाखा नम्बर २ ले अगाडि बढाएको छ ।