ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर राफसाफ चक्र : २ दिनमा झार्ने तयारी

May 23, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । शेयर कारोबारमा राफसाफ चक्रलाई २ दिन (टी जोड दुई) मा झार्ने तयारी भइरहेको छ । राफसाफ चक्रको विषयमा अध्ययन गर्न गठित समितिले हाल कायम रहेको ३ दिन (टी जोड तीन) को राफसाफ चक्रलाई घटाएर २ दिनमा झार्न प्रस्ताव गर्न लागेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल स्टक एक्सचेन्जकी कायममुकायम उपप्रबन्धक प्रविन पन्दाकको संयोजकत्वमा यस्तो समिति गठन गरी अध्ययन अघि बढाएको थियो । संयोजक पन्दाकले यस विषयमा शेयर कारोबार गर्ने ब्रोकर कम्पनीहरू र लगानीकर्तासँग छलफलपछि टी जोड दुईको चक्रलाई कार्यान्वयनमा लैजान प्रस्ताव गर्ने तयारी भएको बताइन् । उनले भनिन्, ‘विज्ञ समूहको सुझावलाई समेतलाई ध्यानमा राख्दा तत्काल १ दिनको राफसाप (टी जोड एक) को चक्रमा जानुभन्दा विस्तारै घटाउँदै लैजानु उचित हुने देखिएको छ ।’ समितिले ८० प्रतिशत काम सकिसकेकाले चाँडै नै प्रतिवेदन बुझाउने तयारी गरेको बताइएको छ । समितिले प्रस्ताव गरे पनि यस विषयमा आधिकारिक निर्णय भने नेपाल धितोपत्र बोर्डले गर्ने उनले जानकारी दिइन् । अन्तरराष्ट्रिय अभ्यास हेर्दा पनि धेरैजसो मुलुकमा टी जोड दुईको चक्र कार्यान्वयनमा रहेको संयोजक पन्दाकले बताइन् । उनका अनुसार सम्बद्ध सबै पक्षको सुझाव पनि टी जोड दुईकै पक्षमा देखिएकोले समितिले सोही प्रस्ताव लैजान लागेको स्पष्ट पारिन् । नेपालको सन्दर्भमा पनि हाललाई सोही चक्र लागू गर्न उचित हुने उनको भनाइ छ । पूँजीबजारको सुधारका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले दिएको ५८ बुँदे सुझावको ५४ नम्बरमा शेयर बजारमा हुने कारोबारलाई थप प्रभावकारी बनाउन हालको टी जोड तीनको राफसाफ प्रक्रियालाई टी जोड एकमा ल्याउनुपर्ने उल्लेख छ । समितिले आगामी असारभित्र सुझाव कार्यान्वयन गर्न भनेको हो । नेपाल धितोपत्र बोर्डले सोही सुझाव बमोजिम राफसाफ प्रक्रियालाई टी जोड एकमा ल्याउन सकिने/नसकिने अध्ययन गर्न सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको थियो । हालको व्यवस्थाअनुसार आइतवार भएको शेयर कारोबारको राफसाफ मंगलवारभित्र गरिसक्नुपर्छ । लगानीकर्ताको मिश्रित प्रतिक्रिया उच्चस्तरीय समितिको राफसाफ चक्र एक दिनमा झार्ने सुझाव कार्यान्वयनबारे लगानीकर्ताले मिश्रित प्रतिक्रिया दिएका छन् । यद्यपि सो समितिमा लगानीकर्ता संघका प्रतिनिधिहरूको समेत प्रतिनिधित्व थियो । शेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले नेपालको पूँजीबजारमा हाल १ दिनमै राफसाफ चक्र लागू गर्न सम्भव नभएको बताए । चक्रलाई विस्तारै घटाउँदै हाललाई २ दिनमा झार्नुपर्ने उनको सुझाव छ । शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले भने १ दिनमै राफसाफ गर्ने कुरा स्वागतयोग्य भएको प्रतिक्रिया दिए । उनले कार्यान्वयनको क्रममा भने कुनै पनि किसिमको समस्या नआउने तरीकाले अघि बढ्नुपर्ने पनि बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)