ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्चीको पानी अर्को दशैंमा पनि आउन कठिन

May 23, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । २०७५ पुसभित्र कुनै पनि हालतमा मेलम्चीको पानी काठमाडौंमा ल्याइसक्ने भनी सरकारले गरेको वाचा २०७६ त के, २०७७ सालको दशैंमा पनि पूरा हुन कठिन देखिएको छ । पाँच महीना अघिदेखि ठप्प भएको आयोजनाको काम शुरू गराउनेबारे कुनै निर्णय लिन सरकारले आजसम्म जरुरी ठानेको छैन । ६ महीना अघिदेखि ‘५ प्रतिशत बाँकी रहेको’ भनिँदै आएको सुरुङको कामका लागि ‘आवश्यक निर्णय लिन’ मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी भइरहेको बताइन्छ । प्रस्ताव कहिले लगिने हो र त्यसमा मन्त्रिपरिषद्ले केकस्तो निर्णय लिने हो, थाहा छैन । खानेपानी मन्त्रालय स्रोतले आर्थिक अभियानलाई दिएको जानकारी अनुसार मन्त्रिपरिषद्ले तत्काल नयाँ ठेकेदार नियुक्त गर्ने निर्णय लिएमा र सबै काम युद्धस्तरमा हुन सकेमा पनि मेलम्चीको पानी आउन कम्तीमा १ वर्ष लाग्नेछ । स्रोतले भन्यो, ‘तर, अर्को दशैंमा आयो भने पनि भाग्य भन्ठान्नूस् ।’ दुई दशकअघि शुरू भएको मेलम्ची खानेपानी आयोजनाबारे राजधानीवासीलाई वर्तमान सरकारले थुप्रै आश्वासन दिइसकेको छ । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले पदभार सम्हालेपछि हरेक सार्वजनिक कार्यक्रममा छिट्टै मेलम्चीको पानी काठमाडौंमा आउने आश्वासन दिने गरेकी थिइन् । २०७५ कात्तिकमा मेलम्चीको पानी काठमाडौंमा झारिसक्ने घोषणा पूरा नभएपछि पछिल्लो पटक उनले पुसभित्र मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने घोषणा गरेकी हुन् । तर, पानी आउनु त कता हो कता, उल्टो ठेकेदार कम्पनी नै काम छाडेर हिँड्यो । आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी पाँच महीनाअघि काम छोडेर हिँडेपछि आयोजना ठप्प छ । त्यसउप्रान्त मेलम्ची विकास समिति अहिलेसम्म कति काम भयो र अब कति काम बाँकी छ भन्ने हिसाब मात्र केलाएर बसेको छ भने खानेपानी मन्त्रीले पनि मौन बस्नु नै उचित ठानेकी छन् । मेलम्ची विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँणेलका अनुसार सुरुङ मार्गको ९५ प्रतिशत काम सकिएको छ र ५ प्रतिशत काम मात्र बाँकी छ । ‘अब नयाँ ठेकेदारका लागि नेपाल सरकारको निर्णयको पर्खाइमा छौं । सरकारले निर्देशन दिएपछि बाँकी काम शुरू गर्नेछौं,’ उनले भने । यसैबीच मेलम्ची आयोजनाको काम फेरि शुरू गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी भइरहेको विभागीय मन्त्री बिना मगरले संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा बताएकी छन् । खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले चाहिँ बाँकी काम सम्पन्न गर्न सरकारले सर्वदलीय समिति गठन गर्ने तयारी गरेको जानकारी दिएका छन् । ‘एक वर्षभित्रै पानी ल्याउने गरी काम अघि बढाउछौं,’ शर्माले भने । संसदीय समितिले भने सरकारलाई बारम्बर निर्देशन दिँदा समेत काम अघि नबढेको स्पष्ट पारेको छ । विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले संसदीय समितिलाई खानेपानी मन्त्री र सचिवले बारम्बार बनावटी जवाफ दिइरहेको बताइन् । आयोजनाको बाँकी काम तत्काल अघि बढाउन समितिले सरकारलाई पुनः निर्देशन दिएको छ । काठमाडौं उपत्यकाको खानेपानी अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न दैनिक ५१ करोड लिटर पानी ल्याउने लक्ष्यका साथ मेलम्ची खानेपानी आयोजना आर्थिक वर्ष २०५५/५६ मा शुरू भएको थियो । यसमा अहिलेसम्म साढे २६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । हाल राजधानीमा दैनिक ४० करोड लिटर पानी खपत हुने गरेकोे काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)