ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा भाजपाको स्पष्ट बहुमत पक्का : नेपालमा के पर्ला प्रभाव ?

May 24, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । भारतमा फेरि भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेको गठबन्धन नै अर्को ५ वर्षका लागि सत्तारूढ हुने भएको छ । तल्लो सदन लोकसभाका लागि भएको चरणबद्ध निर्वाचनको बिहीवार सार्वजनिक मत परिणामअनुसार भाजपा एक्लैले २९८ सीटमा जित्ने देखिएको छ । खासगरी, उत्तरप्रदेश, मध्यप्रदेश, राजस्थान लगायत महत्त्वपूर्ण राज्यमा उच्च अग्रता कायम गरेपछि समग्रमा भाजपाको स्पष्ट बहुमत आउने पक्का भएको हो । यस्तै, भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३४९ स्थानमा जीत र अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार राति १० बजेको रुझानले यस्तो देखाएको हो । यो समाचार तयार पार्दै गर्दा मतगणना जारी थियो । बहुमतको सरकार बनाउन गठबन्धनलाई २७२ सीट मात्रै आवश्यक थियो । यसैगरी, सत्तारूढ गठबन्धनलाई कडा टक्कर दिने अपेक्षा गरिएको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले भने ४३ सीटमा जित तथा अग्रता लिएको छ । कांग्रेस नेतृत्वको प्रगतिशील गठबन्धन (यूपीए) ले भने ८६ सीटमा जित र अग्रता लिएको छ । यसअघिको एक्जिट पोलले पनि भाजपाले बहुमत ल्याउने देखाएको थियो । मोदीले किन जिते ? मोदीले पहिलो कार्यकालमा ल्याएका वस्तु तथा सेवा कर र अमौद्रिकीकरणले पारेको प्रभावका कारण जनता उनीसँग रिसाएको अनुमान थियो । तर, ती अनुमानलाई गलत प्रमाणित गर्दै मतदाताले मोदीको गठबन्धनलाई जिताएका छन् । यसमा आर्थिक तथा मौद्रिक नीति, ५ वर्षमा भ्रष्टाचारका ठूला काण्ड नहुनुले पनि जित सुनिश्चित भएको विश्लेषण गरिएको छ । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, अन्य पार्टी वा गठबन्धनको सरकार आउँदा आर्थिक वृद्धिदर खस्किने चिन्ता र कांग्रेसको कमजोर तयारीले पनि मोदीको जित अन्तर बढाएको विश्लेषकहरू बताउँछन् । केही राज्यमा गठबन्धन निर्माणमा कांग्रेसले गरेको खेलाँची, राजीव गान्धीको छविलाई कांग्रेसबाटै बिगार्ने प्रयास हुनुलाई पनि भाजपाको जितको कारण मान्नेहरू पनि छन् । नयाँ उचाइँमा पुगेर झर्‍यो शेयरबजार बिहीवार भारतीय शेयरबजारले नयाँ उचाइ छोएको थियो । चुनावको प्रारम्भिक नतीजाले मोदी नेतृत्वको बहुमतको सरकार सत्तामा आउने र अर्थतन्त्रलाई टेवा दिन उनले चालेका नीतिहरूले पुनः निरन्तरता पाउने अपेक्षामा लगानीकर्ता उत्साहित बनेका थिए । उक्त दिन बेन्चमार्क बीएसई इन्डेक्स २ दशमलव ५९ प्रतिशतले बढेर ४० हजार १२३ दशमलव ८६ अंकको कीर्तिमानमा पुगेको थियो । अर्को मुख्य शेयर परिसूचक एनएसई इन्डेक्स पनि २ दशमलव ५५ प्रतिशतले बढेर १२ हजारभन्दा माथि पुगेको थियो । यद्यपि, बजार बन्द हुँदा भने दुवै परिसूचक क्रमशः २९८ दशमलव ८२ अंक र ८० दशमलव ८५ अंकले घटेका थिए । आइतवार एक्जिट पोलको नतीजा सार्वजनिक भएपछि शेयरबजारमा भएको वृद्धिको लाभ उठाउन लगानीकर्ताले शेयर बेचेपछि बजार रातोमा आएको हो । मोदीको पहिलो कार्यकाल शुरू भएदेखि बुधवार बजार बन्द हुँदासम्म बीएसई इन्डेक्स ६३ दशमलव ६ प्रतिशतले बढेको थियो भने एनएसई इन्डेक्स ६४ दशमलव ८ प्रतिशतले बढेको थियो । मुद्रा बजारमा कारोबार बन्द हुँदा अमेरिकी डलरको तुलनामा भारतीय रुपयाको भाउ पनि ८ पैसाले बढेर ६९ रुपया ५१ पैसामा पुगेको थियो । पुनः बहुमतको सरकार बन्ने अपेक्षासँगै हालैका दिनमा भारतीय बजारमा विदेशी संस्थागत लगानीकर्ता (एफआईआई)हरूको लगानी बढेको छ । यसले पनि भारू बलियो भएको हो । न्यून मुद्रास्फीति, केन्द्रीय बैंकले प्रवाह गरिरहेको पर्याप्त तरलता र मौद्रिक नीति थप खुकुलो हुने अपेक्षाले ऋणपत्र बजारप्रति लगानीकर्ताको मनोबल बढाएको छ । नेपालमा असर अमेरिकी डलरको तुलनामा भारूको भाउमा भएको वृद्धिका कारण हालैका दिन भारूसँग आबद्ध गरिएको नेपाली रुपैयाँ पनि डलरभन्दा बलियो बनेको थियो । बिहीवार भने रुपैयाँभन्दा डलर केही बलियो बनेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शुक्रवारका लागि प्रतिडलर नेरूको विनिमय दर ११२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यो अघिल्लो दिनको तुलनामा ५६ पैसा बढी हो । भारू बलियो हुँदाहुँदै पनि नेरूको भाउ घट्नुको कारण भने खुट्याउन सकिएको छैन । मोदीको आगामी कार्यकालमा भारूको तुलनामा डलर सस्तो बन्ने क्रमले निरन्तरता पायो भने नेरू पनि बलियो हुने र यसले भारतलगायत तेस्रो विश्वबाट गर्ने आयात सस्तो पर्नेछ । तर, महँगो रुपैयाँको कारण यहाँबाट हुने निर्यात प्रभावित हुँदा विश्वसँगको हाम्रो व्यापार अन्तर भने धेरै नघट्न पनि सक्छ । पछिल्ला केही दिनको कारोबारमा नेपाली शेयर बजारमा उतारचढाव देखिए पनि बिहीवार ५ दशमलव शून्य ८ अंकले घटेर १ हजार ३१४ दशमलव ५५ मा बन्द भएको छ । भारतमा शेयर बजार दिनहुँ कीर्तिमानी उचाइँमा पुगेको अवस्थामा यहाँको पूँजी त्यसतर्पm पलायन हुने हो कि भन्ने चिन्ता बढेको छ । यसबारे विज्ञहरूले भने मिश्रित प्रतिक्रिया दिएका छन् । नेपालमा कस्तो होला प्रभाव ? पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतको चुनाव परिणामले क्षेत्रीय स्थायित्वलाई प्रवर्द्धन गर्ने आशा गर्न सकिने बताए । ‘भारतमा बहुमतको स्थिर सरकार आएको छ । तर, त्यसबाट नेपालको अर्थतन्त्र र लगानीको क्षेत्रमा धेरै ठूलो प्रभाव पार्ने देखिँदैन,’ उनले भने । पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालमा लगानी र व्यवसायको वातावरण नबन्दा भारततर्फ पूँजी र लगानी पलायन हुन सक्ने जोखिम औंल्याए । ‘नेपालमा पर्याप्त पूर्वाधार विकास हुन सकिरहेको छैन, व्यावसायिक वातावरण सुध्रन सकेको छैन । स्थानीय लगानीकर्ता नै सन्तुष्ट हुन नसकेको अवस्थामा नेपाल विदेशी लगानीकर्ताको लागि आकर्षक गन्तव्य बन्न सकेको छैन,’ डा. महतले भने, ‘भारतमा विश्वभरबाट विदेशी लगानी ओइरिँदा नेपालमा त्यसको आप्रवाह नगण्य छ । यस्तो अवस्थामा नेपालबाट पनि त्यसतर्फ पूँजी र लगानी पलायन हुने सम्भावना धेरै छ ।’ अर्थशास्त्री पोषराज पाण्डे भारतको चुनाव परिणामले नेपालको अर्थतन्त्रमा खासै प्रभाव नपार्ने बताउँछन् । ‘कांग्रेस–आईको गठबन्धन वा अरू कसैले केन्द्रमा सरकारमा बनाएको भए आर्थिक नीतिमा परिवर्तन हुन सक्थ्यो । तर, भाजपाकै सरकार बन्ने भएपछि यसअघिकै नीतिले निरन्तरता पाउने निश्चित छ,’ उनले भने, ‘मोदी सरकारले दोस्रो कार्यकालमा पनि आर्थिक वृद्धिदरलाई नै बढी ‘फोकश’ गर्ने बताउँदै आएको छ । भारतको उच्च आर्थिक वृद्धिदरको ‘स्पिलओभर’ प्रभावका कारण नेपाललाई पनि लाभ हुन सक्छ ।’ ‘मेक इन इन्डिया’को मूल्य शृंखलामा नेपाल जोडिन सक्दा त्यसबाट नेपाली अर्थतन्त्रलाई लाभ पुग्ने उनको विश्लेषण छ । भारतीय शेयर बजार बढ्दैमा यताबाट पूँजी पलायन हुने सम्भावना कम रहेको अर्थशास्त्री पाण्डेको बुझाइ छ । ‘नेपालमा अहिले ब्याजदर उच्च छ । यसले पनि पूँजी पलायनलाई रोक्ने देखिएको छ,’ उनले भने, ‘एफडीआईमा नेपाल भारतको प्रतिस्पर्धी होइन । त्यसैले यहाँ आउने एफडीआईमा खासै असर गर्दैन । बरु भारतमा एफडीआई आप्रवाह धेरै बढ्दा भारतीय लगानीकर्ताहरू यता आउने सम्भावना भने छ ।’ शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल भने मनोबल उच्च राख्न सरकार असफल देखिँदा घरेलु लगानीकर्ताहरूको लगानी भारततर्पm पलायन हुने जोखिम देख्छन् । ‘शेयर बजारप्रति सरकारको अपारदर्शी र गलत नीति तथा गरिएका निर्णय पनि कार्यान्वयन नहुँदा विदेशी पूँजी आप्रवाह प्रभावित भइरहेको छ,’ उनले भने, ‘सरकारले समयमै नीतिगत सुधारमा ध्यान दिन सकेन भने भारततर्फ पूँजी पलायन नहोला भन्न सकिँदैन ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)