नेपालमा गोयबल्सका पनि गुरू जन्मिइसकेका छन् । गोयबल्स अर्थात् हिटलरका सबैभन्दा प्रिय पात्र र सन् १९३३ देखि १९४५ सम्म नाजी सरकारका प्रोपोगाण्डा मन्त्री उनै पउल जोसेफ गोयबल्स । उनको प्रचारशैली त विश्वप्रसिद्ध नै छ, जो कालोलाई सेतो र झूठलाई सत्य प्रतीत गराउन हरदम सफल रहन्थ्यो । तर, गोयबल्सलाई पनि माथ गर्ने प्रोपोगाण्डा अर्थात् अतिप्रचारमन्त्री मन्त्री नेपालले पनि पाएको छ जसले औंशीलाई पनि पूर्णिमाको रात भनिरहन्छ । भलै यिनले बोल्ने कुराहरू यिनको मात्र नभई यिनका मालिकको पनि हो, जसलाई यिनले बडो भावभंगिमा सहित प्रस्तुत गर्ने गर्दछन् । आज देशका प्रत्येक व्यक्ति यिनको प्रस्तुतिबाट समेत थप प्रभावित छ ।
यिनका भक्त नभै कसैले पनि केही बोल्ने, लेख्ने वा गर्ने सामर्थ्य राख्दैन । यिनको आशीर्वाद विना न कसैले बजार भाउ लाउन सक्छ, न जुँगामा ताउ । न कुनै हारमा जितको सपना देख्न सक्छ, न जितमा जितकै ।
यी प्रोपोगाण्डा मन्त्रीको प्रलाप प्रचण्ड छ । विज्ञापनको युग हो यो । यिनको वाक् चातुर्य प्रलापका किरण समाजका सबै क्षेत्रमा भाइरससरी फैलिँदो छ । यिनका अनुसार देशले इतिहासमा कहिल्यै नगरेको प्रगति हासिल गरिसकेको छ । अब केवल चन्द्रमामा बस्ती बसाउन बाँकी छ । जर्मनी अहिले विकसित छ । त्यसमा सायद गोयबल्सको पनि योगदान छ । त्यस्तै ‘हाम्रा गोयबल्स’का अनुसार नेपालले पनि प्रगति गर्दै छ । अहिले नै देशबाट सबै भ्रष्टाचारी र अपराधीहरू भागिसके । बेरोजगारहरू समेत गायब भइसके । एयरपोर्ट बुटिक बनिसक्यो । देशका सडकमा विद्युतीय सवारीसाधन गुडिसके । त्यसैले शहरबाट धूलो, धूवाँ, खाल्डाखुल्डी गायब भैसके । देशभर थुपै्र नमूना शहर स्थापना भैसके । कृषिमा औद्योगिकीकरण भैसक्यो । देश राजनीतिक र आर्थिक रुपमा आत्मनिर्भर भैसक्यो । अहिले देशले हावामा उड्ने रेल र पानीमा कुद्ने जहाजको गतिमा उडान गर्दै छ ।
हिजोसम्म वीरेन्द्रले बनाइदिएको संसद् भवनमा बैठक सकेर महेन्द्रले बनाएको बाटोमा सांसद कोषको पैसाको पजेरो चढेर त्रिभुवनले बनाएको विमानस्थल पुगी घरि दिल्ली घरि थाइल्यान्ड वा अरू विदेशी ड्रिमल्यान्ड घुम्दै जनताका सपना पूरा गर्ने दिन गए । अब त जे गर्ने हो सबै कुरामा आत्मनिर्भर हुने बाटोमा गइसकेको छ देश । यो सबै यी नामी प्रोपोगाण्डा मन्त्रीको वाणीको प्रतापले सम्भव भएको हो । यस्तो प्रताप त रावणको पनि थिएन होला । यिनको हुलिया मात्र होइन बोली र अझ दृष्टि नै खतरा छ । यिनले त अमेरिकामा हुँदै नभएको प्रेस काउन्सिल पनि देखाइदिए । भारतमा सरकारले नै प्रेस काउन्सिलमा आफ्ना मान्छे भर्ती गर्या पनि देखाइदिए । यो अरूले देख्न सकेनन् ।
तपाईं भन्नुहुन्छ नेपालको संविधानमै प्रेस स्वतन्त्रता भनेर लेखेको छ । तर, तपाईंले भनेर हुन्छ ? यो कुरा त मन्त्रीजीले पो भन्नुपर्छ । उहाँलाई सोध्नुुस् न । आफै जान्ने भएर बोल्ने ? किनकि तपाईंको हातमा भएको र मन्त्रीजीले भनेको संविधान नै फरक छ । अझ कांग्रेसले त मिडिया काउन्सिल विधेयक नै नपढ्ने रे । किन पढ्नुपर्यो त ? मन्त्रीजीले आफै पढ्दिहाल्छन् नि ! संविधानमा भएका शब्दहरूको अर्थ त यी प्रोपोगाण्डा मन्त्रीको नियन्त्रणमा पो छ त । सबै अर्थ उनैले लगाउने हो । अरूले अर्थ लगाएर हुन्छ ? त्यसैले तपाईंले जति नै मिडिया काउन्सिल विधेयकको विरोध गरेपनि यसलाई यसो परिमार्जनको जामा पहिर्याइदिएर यसलाई प्रोपोगाण्डा मन्त्रीले जसरीपनि वैधानिकता प्रदान गर्ने नै छन् । किनकि, यसको विरोध गरेको नाटक गर्नेहरू धेरै प्रोपोगाण्डा मन्त्रीकै भजनमण्डलीका सदस्यहरू छन् ।
हुन पनि अहिले यिनका भक्त नभै कसैले पनि केही बोल्ने, लेख्ने वा गर्ने सामर्थ्य राख्दैन । यिनको आशीर्वाद विना न कसैले बजार भाउ लाउन सक्छ, न जुँगामा ताउ । न कुनै हारमा जितको सपना देख्न सक्छ, न जितमा जितकै । जजसका मनमा यिनको प्रतापको प्रभाव पर्छ, तब उसको संसारै बदलिन्छ । यी प्रोपोगाण्डा मन्त्रीले हावामा महल बनाए पनि, लिकविनै रेल र कल्पनामा बिजुलीबस र समुद्रविना पानीजहाज चलाए पनि मानिसहरूले पत्याइरहेकै छन् । त्यसैले त सामान्यजन यिनले भनेजस्तै बालुवाटारको जग्गा खरीदमा यिनका अर्का मालिक ठगिएका र अन्यायमा परेका देख्छन् । निर्मला हत्याकाण्डमा दोषी पक्राउ र कारबाहीमा पनि पर्छन् । वाइडबडीमा संलग्नहरू निर्दोष देखिन्छन् । यिनका नजरबाट हेर्दा दीपक मनांगे र रेशम चौधरीहरू बाल्मीकि ऋषिमा परिणत हुन बेर लाउँदैनन् । फोक्सोभरि धूलो र धूवाँ भरेर पनि स्वच्छ, सुन्दर र हराभरा शहर बन्यो भनेर मानिसहरूले पत्याइदिरन्छन् । त्यसैले त यिनको भाषण भूइँमा नझर्दै ताली पड्काउन आतुर हुन्छन् मानिसहरू ।
सरकारबाट चाहिनेभन्दा बढी नै आशा गरेको र संसारमा आएको परिवर्तनलाई मानिसहरूले आत्मसात् गर्न नजानेकोले उनीहरूको बुझाइ फरक परेका कारण केही मुठ्ठीभर मानिसहरूले सरकार र यी लोकप्रिय मन्त्रीको यदाकदा विरोध गरेको देखिन्छ । अहिलेको जमाना नानो टेक्नोलोजीको हो । नानो अर्थात् सानो । पहिलेपहिले घडीदेखि लिएर हरेक मेशिनरी ठूला बन्ने गर्दथे । तर, प्रविधिले गर्दा अहिले प्रत्येक वस्तु सानो तर बढी प्रभावकारी बन्दै गएका छन् । अर्थात् संसार सानो हुँदै गएको छ । तर, मानिसहरूको आशा ठूलो हुँदै गएको छ । समस्या यहींनेर छ ।
विश्वमा प्रविधिमा आएको परिवर्तनलाई बुझ्यो भने हाम्रा प्रोपोगाण्डा मन्त्रीले भन्ने गरेको कुरा पनि बुझ्न सकिन्छ । त्यसैले सरकारबाट ठूला आशाहरू गर्न छाडौं । नानो अर्थात् सानो सानो आशा मात्र पालौं । त्यसपछि बाँकी कुराहरू आफै ठीक हुँदै जान्छन् ।
धन्य छ प्रोपोगाण्डा मन्त्रीको प्रबल प्रताप ! यिनको प्रतापमा नझुम्मिने को छ र ? त्यसैले त मिडियाका कतिपय नकाबधारी बुद्धिजीवीहरू दिउँसो संविधान, पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा वकालत गरेको देखाउँछन् । तर, साँझसाँझ प्रचारमन्त्रीसँगै ह्विस्कीको चुस्की लिन भ्याउँछन् । यिनको प्रतापका अगाडि यस्ता पत्रकारका त कुरै छाडौं, कतिपय ठूला व्यापारी र बुद्धिजीवीका बिल्लाधारीहरूसमेत नतमस्तक हुन पुग्छन् । किनकि यिनको संगतमा परेपछि अयोग्यताको प्रमाणपत्र धूलोले छोपिन्छ र अझ त्यसमाथि लिपिस्टिक र पाउडरको कमालले बजारमा त्यै प्रमाणपत्रले नै बढी नाम र दाम कमाइरहन्छ । त्यसैले तपाईं पनि यो वैश्य युगमा दुनियाँलाई आफ्ना उत्पादन, सेवा वा दर्शनको दास बनाउन चाहनुहुन्छ भने यी प्रोपोगाण्डा मन्त्रीको चेला बनिहाल्नुस् र यिनको प्रोपोगाण्डाका मन्त्र जप्न थालिहाल्नुस् । यो लोकगणतन्त्रमा यी जस्ता जादुगर मन्त्री रहेसम्म तपाईं पनि फाइदामै रहनुहुनेछ ।