ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तातोपानी नाका सञ्चालनको तयारी : चिनियाँ पक्षको काम तीव्र, नेपाली पक्ष अन्योलमै

May 27, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
तातोपानी (सिन्धुपाल्चोक)। सिन्धुपाल्चोकको तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा ल्याउन चिनियाँ पक्ष अन्तिम तयारीमा जुटेको छ । तर, नेपालतर्फ कार्यालय र व्यापार सञ्चालनका लागि आवश्यक पूर्वाधार पूर्ण रूपमा तयार नभइसकेकाले तत्काल नाका सञ्चालनमा आउनेमा व्यवसायीहरू विश्वस्त देखिँदैनन् । २०७२ वैशाख १२ को भूकम्पबाट उक्त क्षेत्र नै क्षतिग्रस्त भएकाले तातोपानी नाकाबाट हुँदै आएको व्यापार ४ वर्षदेखि ठप्प थियो । नेपाली पक्षको बारम्बारको ताकेतापछि चिनियाँ पक्षले नाका खोल्ने अन्तिम तयारी गरिरहे पनि नेपालतर्फकै तयारी कमजोर देखिन्छ । ‘तत्काल नाका खोल्ने चीनको तयारी रहे पनि नेपाली पक्षले गर्नुपर्ने काम धेरै बाँकी देखिन्छ,’ तातोपानीको स्थलगत अवलोकनमा पुगेका नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आर्थिक अभियानसँग भने, ‘त्यसैले नाका पूर्ण सञ्चालनमा आउन अझै केही समय लाग्न सक्छ ।’ तातोपानीका भन्सार अधिकृत कृष्ण बस्नेतले पनि केही प्राविधिक काम बाँकी रहेको स्वीकारे । ‘नाका सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको छ । चीन सरकारले सुक्खा बन्दरगाह पनि बनाइदिएको छ,’ उनले भने, ‘तर इन्टरनेट जडान, फर्निसिङ लगायत काम बाँकी छन् ।’ उनका अनुसार सुक्खा बन्दरगाहमा आवश्यक फर्निचर पनि चिनियाँ पक्षले नै उपलब्ध गराउने बताएको छ । व्यवसायीहरूले सामान आयात गर्न नाकाको पूर्ण तयारी र मालसामानको सुरक्षाको प्रत्याभूति आवश्यक रहेको महासंघका प्रथम उपाध्यक्ष नयन पण्डितले बताए । व्यवसायीले आगामी दशैंका लागि अहिलेदेखि नै सामान अर्डर गर्नुपर्ने भएकाले पूरै प्रणाली तयार नहुँदासम्म नाका खुले पनि सामान आयात गर्न गाह्रो हुने महासंघकी उपाध्यक्ष (महिला) रुक्मिणी सेढाईंले बताइन् । चीनले तातोपानी नाकादेखि ६ किलोमिटर तल भोटेकोशी गाउँपालिका–४ मा सुक्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । यस्तै, दुई मुलुकबीचको मितेरी पुल निर्माणलाई तीव्रता दिएको छ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको चीनतर्पmको लिपिङ र नेपालतर्फ कोदारी–तातोपानी क्षेत्रका सडक पुनर्निर्माण भइरहेका छन् । चीनले मितेरी पुल बन्नासाथ सुक्खा बन्दरगाह हस्तान्तरण र नाका सञ्चालनमा ल्याउने जनाउ दिइसक्दा नेपाली पक्षको तयारी भने सोही अनुरूपको छैन । नाका खुल्ने पहिलो दिन चीनको खासाबाट ऊन बोकेका ६ ओटा ट्रक नेपाल प्रवेश गर्ने भनिएको छ । तर, सुक्खा बन्दरगाहमा चीनले बनाइदिएको भव्य तर रित्तो भवनबाहेक केही पूर्वाधार छैन । नेपाली पक्ष फर्निचर समेत चीनबाटै प्राप्त गर्ने आशामा बसेको छ । सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ छन् । नेपाली पक्षले गर्नुपर्ने प्राविधिक तयारी भने शून्यजस्तै छ । एक भन्सार अधिकृतसहित केही कर्मचारी तातोपानी पुगे पनि व्यापार कसरी सञ्चालन गर्ने भन्नेमा उनीहरू नै अन्योलमा देखिन्छन् । गृहमन्त्री रामबहादुर थापा र पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद अग्निप्रसाद सापकोटाले शनिवार नाका सञ्चालनमा भइरहेको प्रगति अवलोकन गरे । उनीहरूले पनि चीनले सुक्खा बन्दरगाह र मितेरी पुल हस्तान्तरण गर्नासाथ नेपालले कसरी व्यापार शुरू गर्छ भन्ने स्पष्ट पार्न सकेनन् । गृहमन्त्री थापाले नाकालाई व्यवस्थित रूपमा सञ्चालनका लागि आफ्नो मन्त्रालय मातहतका सबै निकायलाई व्यवस्थित बनाउने तयारी गरिएको मात्र बताए । छिमेकीको चासोलाई समेत सम्बोधन गर्ने गरी शान्ति सुरक्षाको सबै प्रबन्ध गरिएको मात्र उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)