जेठ १६, सिन्धुली । यस जिल्लाको स्थानीय तहका पूँजिगत खर्च सन्तोष जनक नभएको पाइएको छ । गाउँपालिकामा भन्दा नगरपालिकाको बजेट खर्च दर कम देखिएको छ ।
बजेटको खर्च दर पनि भौतिक संरचना निर्माण भन्दा चेतनामूलक काममा बढी भएको पाइएको छ । जिल्लाका नौ ओटै स्थानीय तहको बजेट अवस्थालाई हेर्दा ५६ दशमलव ८४ प्रतिशत पूँजिगत बजेट खर्च भएको देखिन्छ । जिल्लाका दुई नगरपालिका मध्ये दुधौली नगरपालिका कार्यालयको पूँजिगत बजेट खर्च ३७ दशमलव २७ प्रतिशत भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पौडेलले बताए । दुधौली नगरपालिकाले चालु आवका लागि रू. ३८ करोड ८९ लाख ५७ हजार ४३५ बजेट विनियोजन गरेको थियो ।
जिल्लाकै पहिलो नगरपालिका कमलामाईको पूँजिगत खर्च ४६ दशमलव १६ प्रतिशत रहेकोे छ । नगरपालिकाले चालु आवका लागि रू. २६ करोड ७९ लाख ९१ हजार ३७१ पूँजिगत बजेट विनियोजन गरेकोमा हाल सम्म रू.१२ करोड ३७ लाख ७ हजार ३८२ खर्च भएको लेखा अधिकृत टेकेन्द्र कार्कीले बताए । खर्चको दर कमजोरै रहेको उनको भनाई छ । यस्तै हरीहरपुरगढी गाउँपालिकाको पूँजिगत खर्चदर करीब ५६ प्रतिशत रहेको प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सापकोटाले बताए । गाउँपालिकाले चालु आवका लागि रू.९ करोड ८६ लाख पूँजिगत बजेट विनियोजन गरेकोमा हालसम्म रू.५ करोड ५५ लाख ९१ हजार ४४८ खर्च भइसकेको उनले बताए ।
यसैगरी मरिण गाउँपालिकाको पूँजिगत खर्च भने करीब ४९ प्रतिशत भएको लेखा अधिकृत सपना शर्माले बताईन् । आफु पनि भरखरै यस गाउँपालिकामा आएको बताउँदै उनले बजेटको यकिन सिलिङ भने हेर्न नभ्याएको बताईन् । तीनपाटन गाउँपालिकामा पनि पूँजितगत खर्च करीब ७० प्रतिशत भएको छ । जिल्लाको पूर्वि क्षेत्रमा रहेको फिक्कल गाउँपालिकाको खर्च दर भने ६४दशमलव ९७ प्रतिशत रहेको प्रमुख प्रशासकीय अधिकृत दिपक रिजालले बताए ।
गाउँपालिकाले चालु आवका लागि रू. १५ करोड ३३ लाख पूँजिगत खर्च विनियोजन गरेकोमा हालसम्म रू. ९ करोड ९६ लाख खर्च गरेको छ । यसैगरी घ्याङलेक गाउँपालिकाको पूजिगत खर्चदर ४३ द शमलव १८ प्रतिशत रहेको छ । उक्त गाउँपालिकाले चालु आवका लागि रू. १२ करोड २१ लाख पूँजिगत खर्च विनियोजन गरेको थियो ।
गोलञ्जोर गाउँपालिकाको पूँजिगत खर्च हाल सम्म ८० प्रतिशत भइसकेको छ । गाउँपालिकाले चालु आवका लागि छुटयाएको बजेटमा करीब ८० प्रतिशत खर्च गरिसकेको छ । सुनकोशी गाउँपालिकामा पूँजिगत खर्च ६५ प्रतिशत भइसकेको छ । गाउँपालिकाले चालु आवका लागि पूँजिगत बजेट करीब रू.२८ करोड विनियोजन छ ।