ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमालेख धितो राखेर रू. २८ अर्ब कर्जा प्रवाह

May 31, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर बीमितहरूलाई गत चैत मसान्तसम्ममा रू. २७ अर्ब ९९ करोड ६० लाख कर्जा प्रवाह गरेका छन् । कम्पनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०७५/७६ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार १० प्रतिशत वार्षिक ब्याजदरमा यस्तो कर्जा प्रवाह हुँदै आएको छ । गत आव २०७४/७५ को सोही अवधिसम्म कम्पनीहरूले रू. १९ अर्ब ९६ करोड ८२ लाख बराबरको यस्तो कर्जा प्रवाह गरेका थिए । हाल नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । यस्तो कर्जाले बीमा बजारमा सकारात्मक प्रभाव पारेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । बीमितले बीमा गरेको २ वर्षपछि सम्बद्ध कम्पनीबाट यस्तो सुविधा उपभोग गर्न सक्छन् । बीमितले समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा पाउन सक्ने प्रावधान छ । बीमितले सो अवधिसम्म भुक्तानी गरेको बीमाशुल्क, आर्जित बोनस, बाँकी बीमा अवधि लगायत सूत्र प्रयोग गरेर समर्पण मूल्य निकालिन्छ । समर्पण मूल्य भनेको बीमितले नै पाउने रकम हो । बीमाशुल्क पनि भुक्तानी नभएको र कर्जा पनि चुक्ता नगरेको अवस्थामा बाँकी रहेको समर्पण मूल्यमार्पmत दुवै पक्षको हिसाब मिलान हुनेगरी कर्जा प्रवाह गरिएको हुन्छ । यस्तो कर्जाबाट बीमितहरूलाई साना तथा घरेलु उद्योग स्थापना गर्न सहयोग पुगेको सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले बताए । उनले भने, ‘अभैm पनि सानो बीमांकमा बीमा गर्नेहरू धेरै छन्, उनीहरूले पाउने कर्जाबाट ठूला उद्योग स्थापना गर्न सम्भव छैन ।’ खासगरी आकस्मिक रूपमा हुने आर्थिक संकट समाधान गर्न यसको महŒवपूर्ण भूमिका रहेको पाण्डेको भनाइ छ । पछिल्लो समय ठूलो बीमांकमा बीमा गर्ने व्यक्तिको संख्या पनि बढ्दो क्रममा छ । त्यस्ता बीमितले यस्तो कर्जामार्पmत निकट भविष्यमा ठूला उद्योग स्थापना गर्न सक्ने प्राइम लाइफ इन्स्योरेन्सका सीईओ मनोजकुमार भट्टराईले बताए । ‘अहिले करोडौंको बीमा गर्नेहरूको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘निकट भविष्यमा उनीहरूलाई कुनै उद्यम गर्न वा भइरहेको व्यवसाय विस्तार गर्न लगानीयोग्य पूँजी (तरलता)को अभाव हुँदैन ।’ सूर्या लाइफका सीईओ पाण्डेका अनुसार कतिपय बीमितले त्यस्तो ऋण चुक्ता गर्न नसक्दा बीमालेखहरू रद्द हुने गरेका छन् । कम्पनीहरूका अनुसार यस्तो कर्जा चुक्ता गर्न नसकेर धितोमा राखेका करीब २ प्रतिशत बीमालेख रद्द हुने गरेका छन् । कतिपय बीमितलाई कर्जाको किस्ता र बीमाशुल्क दुवै भुक्तानी गाह्रो हुने गरेको छ । त्यसकारण पनि बीमालेख रद्द हुने गरेको प्राइम लाइफका सीईओ भट्टराईले बताए । वित्तीय विवरण अनुसार नेपाल लाइफ इस्योरेन्सले सबैभन्दा बढी रू. ११ अर्ब २ करोड २८ लाख बराबरको यस्तो कर्जा प्रवाह गरेको छ । यस्तै, सबैभन्दा कम ज्योति लाइफले रू. ६ लाख ७९ लाख कर्जा प्रवाह गरेको छ । महालक्ष्मी, प्रभु, रिलायन्स, रिलायबल नेपाल र सानिमा लाइफले यस्तो कर्जा प्रवाह गरेका छैनन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)