हामी सबैमा बचत गर्ने चाहना हुन्छ । बचत गर्नु राम्रो बानी पनि हो । यसले चाहिएको बेलामा पैसाको जोहो गर्न मद्दत गर्छ । तर, विभिन्न कारणले हामीले पैसा बचाउन सकिरहेका हुँदैनौं । हालै मात्र स्मार्टफोनका लागि यस्तो एप्लिकेशन विकास गरिएको छ, जसले मानिसले गर्ने खर्चमाथि कडा निगरानी राख्नुका साथै खर्चमा अङ्कुश लगाउन पनि सहयोग पुर्याउँछ । अमेरिकी बौद्धिक समूह ‘ब्रुकिङ्ग्स इन्ष्टिच्युशन’का पूर्ववैज्ञानिक म्याट फेलोजले कर्मचारीलाई लक्षित गरी ‘हेलो वालेट’ नामक मोबाइल एप्लिकेशन विकास गरेका छन् । यसले मासिक बजेट तय गर्न सहयोग गर्नुका साथै बढी खर्च गर्नबाट कसरी बच्ने भन्ने उपाय पनि सुझाउने बेलायती–अमेरिकी समाचार बेवसाइट म्यासेबलले बताएको छ । यस एप्लिकेशनमा साइन अप गर्दा दिइने आर्थिक जानकारीका आधारमा हेलो वालेटले पछिल्ला कारोबार, खाता तथा बजेट सारांशलगायतका जानकारी तुरून्तै प्रदान गर्छ । त्यस्तै, यसले उच्च खर्च कटौती गर्न सघाउनुका साथै खर्चसम्बन्धी अन्तर्दृष्टिका साथै बजेट निर्माणमा पनि मद्दत गर्ने म्यासेबलले बताएको छ । हेलो वालेटमा प्रयोगकर्ताको आम्दानी, बचत, क्रेडिट कार्ड, लगानी, स्वास्थ्यसेवालगायत सम्पूर्ण आर्थिक जानकारीलाई समेत राख्न सकिने कम्पनीले वेबसाइटमा भनेको छ । यसले खातामा रहेको रकम र कारोबारको जानकारी लिएर बजेट बनाउनसमेत सहयोग पुर्याउने बताइएको छ ।