ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिहीवारदेखि काठमाडौंमा तेस्रो हिमालयन ट्राभल मार्ट, ४१ देशका करीब ७०० प्रतिनिधि सहभागी हुँदै

Jun 3, 2019  
बजार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ २०, काठमाडौं । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जेठको २३ देखि २६ गतेसम्म (जुन ६ देखि ९ तारिख) काठमाडौंका आयोजना हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा प्यासिफिक एशिया ट्राभल एशोसिएशन, नेपाल च्याप्टरले मार्टको आयोजना गर्न लागेको पर्यटन बोर्डमा सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मार्टको यसअघि सम्पन्न भएका दुई संस्करणहरुको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवर्द्धनमा नयाँ आयाम थपेको पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले बताए । ‘हिमालयन ट्राभल मार्ट नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने सशक्त माध्यम भएको छ,’ उनले भने, ‘नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा आयोजना गरिएको यो मार्टले भ्रमण वर्षलाई सफल बनाउन पनि थप सहयोग मिल्ने छ ।’

हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारहरुबाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले योे मार्ट सार्वजनिक निजी साझेदारीको सफल र प्रभावकारी नमूना भएको समेत बताए ।

काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरिने यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ ओटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाहरुले सहभागिता जनाउने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिए । मार्टमा ३८ जना अन्तरराष्ट्रिय ट्राभल ब्लगर्स तथा मिडिया प्रतिनिधिहरुले समेत सहभागिता जनाउने र समग्रमा नेपालसहित ४१ देशका करीब ७०० जनाले मार्टमा सहभागिता जनाउने शाक्यले जानकारी दिए ।

तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण वर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्य प्राप्तिमा केन्द्रित रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । जसअनुसार भ्रमण वर्षलाई सफल बनाउन मार्टको तेस्रो दिन ८ तारिख राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्लगर्स तथा मिडियाहरुलाई नेपालका पर्यटकीय गन्तव्यबारे ब्रिफिङको कार्यक्रम आयोजना गरिने भएको छ ।

मार्ट आयोजनाका लागि नेपाल पर्यटन बोर्डबाट विनियोजित रू. २ करोडसहित विभिन्न निजी क्षेत्रको सहयोग तथा सौजन्य गरी कुल रू. ६ करोड खर्च लाग्ने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बडालले जानकारी दिए । मार्टमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न स्वदेशी तथा विदेशी वक्ताहरुबाट पर्यटन क्षेत्रको विविध विषयवस्तुमाथि धारणा राख्ने र क्रेता र विक्रेताबीच बीटुबी बैठक आयोजना हुने उनले बताए ।

नेपाललाई हिमालयन प्रवेशद्वारको रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सन् २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा मार्ट आयोजना हुँदै आइरहेको छ । यो मार्ट नेपाललाई अन्तरराष्ट्रिय रुपमा चिनाउने सशक्त ब्राण्डको रुपमा विकसित हँुदै गएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)