ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चन्द्रमाबाट पृथ्वीमा सौर्य ऊर्जा आपूर्ति !

Dec 3, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

विश्वका विभिन्न देशमा ऊर्जा सङ्कट प्रमुख समस्याका रुपमा रहेको छ । नेपालमा त झन् दैनिक १८ घण्टासम्म लोडशेडिङ हुने गरेको छ । यो समस्या समाधान गर्न धेरै उपाय कार्यान्वयन भए पनि कुनै महँगो त कुनै दिगो नहुने पाइयो । तर, पछिल्लो समय जापानको एक कम्पनीले भने यो समस्या सुल्झाउन एउटा अनौठो प्रस्ताव राखेको छ । जापानी कन्ष्ट्रक्शन कम्पनी सिमिजु कर्पोरेशनले ‘लुना रिङ’ नामक परियोजना ल्याएको छ, जसले चन्द्रमाबाट पृथ्वीमा सौर्य ऊर्जा आपूर्ति गर्नेछ । परियोजनाअनुसार चन्द्रमाको भूमध्य भागमा एउटा सोलार प्यानल निर्माण गरिनेछ । कम्पनीका अनुसार यस प्रणालीको माध्यमबाट १३ हजार टेरावाट बिजुली पृथ्वीमा ल्याउन सकिन्छ ।

यो परियोजनाको निर्माण सन् २०३५ को शुरूआतमा हुन सक्ने सम्भावना रहेको कम्पनीले औंल्याएको छ । निरन्तर बिजुली उत्पादन सुनिश्चित गर्न चन्द्रमाको भूमध्य रेखामा सोलार सेलको बेल्ट विस्तार गरिनेछ । यो बेल्ट करीब ४ सय किलोमिटरको चौडाइमा निर्माण गरिने कम्पनीले आफ्नो वेबसाइटमा बताएको छ । यसमा रोबोटको मुख्य भूमिका रहनेछ । रोबोटलाई चौबिसै घण्टा पृथ्वीबाट सञ्चालन गरिनेछ । चन्द्रमाको सौर्य सेलबाट ऊर्जा पृथ्वीको रिसिभिङ स्टेशनमा पठाइनेछ । त्यहाँको केबलले ऊर्जालाई प्रसारण लाइनमा स्थानान्तरण गर्नेछ । चन्द्रमामा बादल वा खराब मौसम नहुने भएकाले चौबिसै घण्टा ऊर्जा पाउन सकिनेछ । बिजुलीमा ऊर्जा प्राप्त गर्न केन्द्रहरुमा २० किलोमिटर डायमिटर भएको एण्टेना जडान गरिनेछ । बिजुली प्रसारण सही दिशामा भइरहेको सुनिश्चित गर्न पृथ्वीबाट पठाइएको गाइडेन्स विकन (रेडियो विकन) प्रयोग गरिनेछ ।

त्यस्तै, सोलार बेल्टको निर्माण र मर्मत सम्भारका लागि चाहिने सामग्रीसमेत यही रुट भएर पठाइनेछ । यस रुटमा ‘इलेक्ट्रिक पावर केबल’ जडान गरिनेछ । चन्द्रमामा सौर्य ऊर्जा उत्पादन गर्दा र सोलार प्यानल जडान गर्दा पृथ्वीमा भएको ऊर्जा केन्द्रहरु स्वचालित रुपमा परिचालन हुनेछन् । सन् २०११ को मार्चमा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण जापानमा आणविक ऊर्जा केन्द्र बन्दैछ । त्यहाँ ऊर्जा सङ्कट समाधान गर्न वैकल्पिक माध्यमको समेत खोजी भइरहेको छ । यसैक्रममा यो परियोजनाको अवधारणा ल्याइएको हो । तर, यसमा आउन सक्ने बाधा र अनुमानित लागत भने कम्पनीले केही खुलासा गरेको छैन । यस्तो खालको ठूलो परियोजनाको सोच ल्याउनु नै महत्वपूर्ण रहेको विश्लेषकहरुले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)