ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन विमानस्थलमा २ ‘रिमोट पार्किङ वे’

Jun 5, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मंगलवारदेखि एउटा ‘रिमोट पार्किङ वे’ सञ्चालनमा आएको छ । अर्को ‘रिमोट पार्किङ वे’ ४ महीनाभित्र सञ्चालनमा ल्याउनेगरी काम अगाडि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रू. १ अर्ब ६ करोड परिचालन गरी साना जहाज र ठूला विमानको पार्किङका लागि ती संरचना निर्माणको योजना बनाएको हो । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा निर्माण गरिएको संरचनामा मंगलवारदेखि पार्किङ गर्न थालिएको हो । अर्को पार्किङ वे विमानस्थलको दक्षिणतर्पm निर्माणाधीन छ । मंगलवारदेखि सञ्चालनमा आएको ‘रिमोट पार्किङ वे’मा नेपाल वायुसेवा निगमको बोइङ–७५७ विमान पार्किङ गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । उक्त पार्किङ क्षेत्रमा वाइडबडी २ र न्यारोबडी ३ ओटासम्म जहाज पार्किङ गर्न सकिन्छ । दुवै पार्किङ वे सञ्चालनमा आएपछि विमानस्थलमा पार्किङको समस्या हटाउन सघाउ पुग्ने प्राधिकरणका निमित्त महाप्रबन्धक राजन पोखरेलले बताए । ‘अहिले अन्तरराष्ट्रिय टर्मिनलमा नौओटा विमान मात्र पार्किङ गर्न मिल्छ । त्यसले गर्दा कतिपय विमानलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘पार्किङ वे निर्माणले यो समस्या समाधानमा सहयोग गर्ने छ ।’ अहिले अन्तरराष्ट्रिय स्तरबाट हुने चार्टर्ड उडानका लागि पनि त्रिभुवन विमानस्थल कार्यालयले पार्किङ दिन सकिरहेको छैन । ग्राउन्डेड भएका जहाजको पार्किङ तथा विमानस्थलमा आइपर्ने अन्य सुरक्षा चुनौती समाधान गर्न पनि यसले सहयोग गर्ने पोखरेलले बताए । क्षत्रीका अनुसार उत्तरपूर्वको ‘रिमोट पार्किङ वे’ निर्माणमा रू. ४७ करोड खर्च भएको छ । दक्षिण कोटेश्वरतर्फको ‘पार्किङ वे’ निर्माणमा रू. ५९ करोड खर्च हुने अनुमान छ । निर्माणाधीन पार्किङ वे मा दुईओटा वाइडबडी र तीनओटा साना (एटीआर) जहाज राख्न सकिने क्षत्रीले बताए । के हो रिमोट पार्किङ वे ? ‘रिमोट पार्किङ वे’ विमानस्थलको मुख्य पार्किङभन्दा टाढा निर्माण गरिने वैकल्पिक स्थल हो । सुरक्षा जोखिमको शंका भएको विमानलाई त्यो स्थलमा पार्किङ गर्ने गरिन्छ । अन्तरराष्ट्रिय विमानस्थलमा कुनै जोखिमपूर्ण विस्फोटक पदार्थ बोकेको वा अपहरणकारीले कब्जा गरेको जहाज अवतरण गराउन मुख्य पार्किङ क्षेत्रभन्दा केही पर त्यस्तो संरचना बनाइएको हुन्छ । विमानस्थलमा भौतिक तथा मानवीय क्षति नपुगोस् भन्नाका लागि यसको प्रयोग गरिन्छ । लामो समय विमानस्थलमै रहने विमानलाई पनि ‘रिमोट पार्किङ वे’ मा राखिन्छ । त्यसका कारण नियमित उडानलाई अवरोध पुग्दैन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक यस्तो पार्किङ वे निर्माण गरिएको हो । उक्त विमानस्थलबाट तीन नेपालीसहित ३१ ओटा वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् । यस्तै, आन्तरिकतर्पm १० हेलिकोप्टरसहित २० ओटा वायुसेवा प्रदायक कम्पनीले सेवा दिइरहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)