ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा चुनढुंगा ‘रिजर्भ’ १५० करोड टन : ७५ करोड टन प्रमाणित रिजर्भ

Jun 6, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । नेपालको ७ हजार वर्ग किलोमिटरमा चुनढुंगा रहेको खानी विभागको तथ्यांकले देखाएको छ । यो क्षेत्रफलमा रिजर्भ चुनढुंगाको परिमाण १ अर्ब ५० करोड टन रहेको विभागको अनुमान छ । त्यसमध्ये आधा अर्थात् ७५ करोड टन चुनढुंगा खानी भने प्रमाणित समेत भइसकेको छ । सिमेन्टको प्रमुख कच्चापदार्थ हो, चुनढुंगा । चुनढुंगाबाट क्लिंकर बनाइन्छ र त्यसबाट सिमेन्ट । अहिले क्लिंकर मात्रै उत्पादन गर्ने कम्पनीको संख्या १८ पुगेको छ । सञ्चालनमा रहेका ६१ सिमेन्ट उद्योगमध्ये अधिकांशले आपैmले उत्पादन गरेको क्लिंकरबाट सिमेन्ट उत्पादन गर्छन् भने बाँकीले क्लिंकर किनेर त्यसबाट सिमेन्ट बनाउँछन् । शिवम्, युनाइटेड, अर्घाखाँची, पाल्पा, नेपाल शालिमार, जगदम्बा, शुभश्री अग्नि सिमेन्ट प्रालि लगायत कम्पनीले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्छन् । विभागले पत्ता लगाएका ९ ओटा खानीबाट चुनढुंगा उत्खनन गर्न उदयपुर, हेटौंडा, कसमस र भूगर्भ सिमेन्ट उद्योगले लाइसेन्स पाएका छन् । सिमेन्ट निर्यातको सम्भावना सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा सिमेन्टलाई निर्यात वस्तुका रूपमा विकास गर्ने घोषणा गरेको छ । त्यसबाट निजीक्षेत्रका सिमेन्ट तथा क्लिंकर उत्पादकहरूमा उत्साह देखिन्छ । खानी तथा भूगर्भ विभागको तथ्यांकले पनि सिमेन्ट तथा क्लिंकर उद्योगमा लगानी र निर्यातको प्रचुर सम्भावना रहेको देखाउँछ । निर्यात बजारको ग्यारेन्टी हुन सके चुनढुंगा खानीको उपभोगमा थप लगानी आकर्षित हुनसक्ने सिमेन्ट उत्पादकहरू बताउँछन् । अहिले नेपालमा उत्पादित सिमेन्टको बजार देशभित्र मात्रै सीमित छ । निर्यात गर्ने बजारको अभावमा चुनढुंगा खानीमा गरिने लगानीमा जोखिम उच्च रहेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् । क्लिंकर र सिमेन्ट निकासी गर्न सके लगानी सुरक्षित र आकर्षित गर्न सकिने उनको तर्क छ । नेपालको चुनढुंगा क्लिंकर उत्पादनका लागि निकै राम्रो भएको अर्घाखाँची सिमेन्ट प्रालिका सञ्चालक पशुपति मुरारका बताउँछन् । उनी भन्छन्, ‘तर, अहिले नै सिमेन्ट र क्लिंकरको उपलब्धता मागभन्दा बढी भइसकेको छ, निकासी गर्नसक्ने वातावरण भए मात्रै यसमा थप लगानी हुनसक्छ र चुनढुंगाको उपयोग वास्तविक रूपमा हुनसक्छ ।’ चुनढुंगा खानीमा लगानी गर्न तयार भए पनि खानीसम्म पुग्नका लागि पूर्वाधारको विकास नभएको आरएमसी ग्रूपका निर्देशक राजेश अग्रवाल बताउँछन् । उनको लगानीमा स्थापित पाल्पा सिमेन्ट उद्योगबाट क्लिंकर पनि उत्पादन हुन्छ । सिमेन्टको उत्पादन लागत पनि घटाउन आवश्यक रहेको उनको तर्क छ । ५१ कम्पनीलाई उत्खनन अनुमति खानीमा रहेको चुनढुंगाको गुणस्तर र परिमाण यकिन भएपछि मात्र उत्खननको काम शुरू हुन्छ । त्यसका लागि हालसम्म ५१ ओटा कम्पनीलाई विभागले अनुमति दिएको छ । तीमध्ये निजीक्षेत्रका ४२ कम्पनी छन् । विभाग आफैले खोजतलास गरेर पत्ता लगाएका खानी खुला प्रतिस्पर्धाबाट अन्य ९ ओटा कम्पनीलाई उत्खनन गर्न लाइसेन्स दिएको छ । सिमेन्टबाहेक अन्य औद्योगिक प्रयोजनमा पनि चुनढुंगा उपयोग हुनसक्ने विभागको अध्ययनबाट देखिएको छ । सिमेन्टबाहेक चुनढुंगा प्रशोधन गरी ब्लिचिङ पाउडर, क्याल्सियम कार्बाइड, सिसा, साबुन, रंग, टूथपेस्ट, मदिरा, चिनी, ग्लिसिरिन, ग्लू, कीटनाशक, पंmगिसाइड र खनिज खाद्य पदार्थ (मिनरल फुडस्टफ) मा पनि प्रयोग गर्न सकिने विज्ञहरू बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)