छिटै बजारमा आउन लागेको एक मिडिया हाउसका लागि उदीयमान पत्रकारहरूको तुरुन्त आवश्यकता छ । यो मिडियामा नेपालका राजनीतिमा लागेर रातारात धनी बन्न सफलहरू, केही सुन व्यापारी, जग्गा व्यवसायी र खासगरी अहिलेका जल्दाबल्दा नेताहरूको विशेष लगानी छ । (त्यसकारण यो मिडिया अन्य कथित मिडिया हाउसहरू जस्तो आज खुल्ने र केही समयपछि बन्द हुने खालको होइन) । त्यसैले माथि उल्लिखित लगानीकर्ताका भनसुनबाट आएका उम्मेदवारहरूलाई विशेष ग्राह्यता दिइनेछ । लगानीकर्ताका नाम यहाँ उल्लेख गरिएको छैन, ताकि उम्मेदवारको खोजी पत्रकारिताको स्तर मापन गर्न सकियोस् । स्वतन्त्र उम्मेदवारहरूमा भने निम्नलिखित योग्यता हुन आवश्यक छ :
नैतिक बन्धन यो देशको प्रगतिका लागि सबैभन्दा ठूलो बाधक बनेको छ । त्यसैले यो मिडिया हाउसमा प्रतिभाशाली पत्रकारहरू नैतिक बहसमा नपर्ने खालका होऊन् भन्ने अपेक्षा गरिन्छ । नैतिकता व्यक्तिगत कुरा हो ।
अनुभव : यस मिडियाको विद्युतीय प्लेटफर्ममा बहस कार्यक्रम चलाउँदा आमन्त्रित व्यक्ति चाहे मन्त्री, प्रधानमन्त्री, उपप्रधानमन्त्री, पक्षी–विपक्षी दलको नेता, विश्वविद्यालयको कुलपति, प्राध्यापक वा कुनै प्रतिष्ठित व्यक्ति जोसुकै होस्, ऊसँग गर्ने व्यवहार र आफ्नो अफिसमा पिएनको जागीरका लागि आउने उम्मेदवारसँग गर्ने व्यवहार समान गर्न सकेको प्रमाणित अनुभव चाहिन्छ । अन्तरवार्ता दिनेलाई हप्काउने, आवश्यक पर्यो भने स्टुडियोबाट गैहाल्नुस् भन्न सक्ने आँट र अनुभव भएको हुनुपर्छ । अनलाइन प्लेटफर्मको हकमा भने समाचार जुनसुकै स्रोतबाट आएको भए पनि भेदभाव नगरी वा अरू कसैले प्रकाशित गरिसकेको भए पनि त्यसलाई मसालेदार बनाएर न्यूज ब्रेकका रूपमा पस्कन सक्ने हुनुपर्छ । जस्तै, कोही गम्भीर बिरामी छ भन्ने खबर आयो भने त्यसभन्दा एकदुई कदम अघि बढेर फलानो त म¥यो भनेर दिन सक्ने हिम्मत हुनुपर्छ । किनकि, ढिलोचाँडो बिरामी एक दिन त मर्छ नै । तर, समाचारमा भने ब्रेक गर्न सक्ने तागत राख्नुपर्छ ।
शैक्षिक योग्यता : यस मिडिया अन्तर्गत अनलाइन, टिभी वा प्रिन्ट सबै विधाका लागि बढीमा प्रवीणता प्रमाणपत्र पास भए काफी हुन्छ । कम्तीमा एसएलसी (हाल एसईई) पढेको भए पनि पुग्छ । स्नातकभन्दा माथिका उम्मेदवारलाई चाहिँ सर्ट लिष्टमा पनि राखिने छैन । पीएचडी आदिहरूले अप्लाई नगर्नू भनेर सावधान गरिन्छ । साथै, आना कोर्सका किताब बाहेक जीवनमा ४ भन्दा बढी पुस्तक पढेका उम्मेदवारलाई अन्तरवार्ताका दौरान छाँटिनेछ । किनकि, आफूभन्दा वरिष्ठ, गरिष्ठ वा कनिष्ठ सबैमा हीनग्रन्थी महामारीका रूपमा फैलन सक्ने खतरा रहन्छ ।
भाषा : शुद्ध लेख्न र बोल्न नसके पनि बोलचाल गर्दा वा कार्यक्रम प्रस्तुत गर्दा बीचबीचमा अंग्रेजी घुसाउने कलामा पारंगत हुनुपर्छ । बोल्दा सकेसम्म नेपाली शब्दलाई अंग्रेजी लवजमा बोल्ने ढंग रंग हुनुपर्छ । तर, अंग्रेजीका लागि काम गर्नेका हकमा अंग्रेजीलाई नेपाली स्टाइलले लेख्ने बोल्ने छूट दिइन्छ । त्यस्तै, प्रसंग मिले पनि नमिले पनि आफैले ती प्रसंग वा शब्दहरू नबुझे पनि ठाउँठाउँमा उदाहरण, महान् व्यक्तित्वहरूको विचार आदिका बहानामा उद्धृत गर्न जान्ने हुनुपर्छ । बोल्दा शुद्ध नेपाली मात्र जान्नेले अप्लाई नगर्नुहोला ।
वैवाहिक स्थिति : पुरुष उम्मेदवार भए विवाहित र महिला भए अविवाहित भएको अपेक्षा राखिन्छ । कुनै उम्मेदवारले आफ्नो वैवाहिक स्थिति नखुलाउन चाहेमा त्यसलाई प्रोत्साहित गरिन्छ ।
नैतिक योग्यता : नैतिक बन्धन यो देशको प्रगतिका लागि सबैभन्दा ठूलो बाधक बनेको छ । त्यसैले यो मिडिया हाउसमा प्रतिभाशाली पत्रकारहरू नैतिक बहसमा नपर्ने खालका होऊन् भन्ने अपेक्षा गरिन्छ । नैतिकता व्यक्तिगत कुरा हो । नैतिक द्वन्द्वका कारण समाचारको प्रस्तुति र प्रभावमा फरक पर्न हुँदैन ।
विशेष योग्यता : मिडिया अरू सबैभन्दा फरक पेशा हो । उम्मेदवारमा निम्नलिखित चरित्रगत विशेषता जति बढी भयो उति नै उत्तम । जस्तै, समाजले घृणा गरे पनि त्यसबापत कुनै लाज–शरम नभएको, अल्पज्ञानमा पनि अति घमन्ड गर्न सक्नु, आएका अवसर कुनै हालतमा नछोड्नु, सिद्धान्तको बन्धनबाट मुक्त, वस्तु र विपरीत लिंगीप्रति केवल भोगवादी दृष्टिकोण राख्न सक्नु, असामाजिक, पहिचानमा गर्व गर्नु, सोमत नभएको भनेर अरूले भनेमा त्यसलाई बेवास्ता गर्न सक्नु, सधैं आफूलाई तेस्रो ग्रहबाट झरेको जस्तो ठान्नु, नबोलाएको कार्यक्रममा पनि छिरेर प्रशस्त धोक्न सक्नु, ठाउँ कुठाउँमा मिडियाको आईडी कार्ड देखाइहाल्ने हिम्मत हुनु, हप्कीदप्की लाउन सक्नु, आवश्यकता अनुसार सत्ताधारी दल वा तिनका नेताको ताबेदारी गर्न सक्नु, मौका परे छिमेकी देशहरूलाई स्वदेशका सूचना बेच्न पनि तयार हुनु, मौका अनुसार गधालाई पिताजी र पिताजीलाई गधा भन्न सक्नु र तलकालाई भने हप्काएरै काममा जोताउन सक्नु, हाकिमलाई खुशी बनाउन रातलाई दिन र दिनलाई रात भन्न पछि नपर्न सक्षम हुनु आदि ।
तलब : मिडिया हाउसले काम दिने हो । तलब लिने ग्यारेन्टी आफैले गर्ने हो । काम गर्ने ढंग नपुगे केही छैन । कुनै राजनीतिक दलको पुच्छर समात्ने वा सांसद मन्त्रीलाई विभिन्न तरीकाले प्रेसर गराएर भने पनि काम नगरे पनि आफ्नो तलब चैं सुरक्षित गर्न सक्ने हैसियत आफैले बनाउने कुरा हो ।