बिरामीका कारण कामबाट छुट्टी त सबैले लिने गरेका छन् । तर, महिला र पुरूष कर्मचारीमध्ये कसले बढी बिरामी बिदा लिन्छन् भन्नेचाहिँ चासोको विषय हुन सक्छ । प्रायः महिलाले काम तथा घरपरिवार दुवैको हेरचाह गर्नुपर्ने भएकाले उनीहरु बढी बिदा लिन्छन् । हालै भएको एक अध्ययनले समेत महिलाले पुरूषको तुलनामा बढी बिरामी बिदा लिने गरेको देखाएको छ । नयाँ दिल्लीस्थित ग्लोबल डेभलपमेण्ट नेटवर्क (जीडीएन)का अध्ययनअनुसार बिरामीका कारण कामबाट छुट्टी लिनेमा पुरूषभन्दा महिला अगाडि छन् ।
अध्ययनअनुसार महिला कर्मचारीले स्वास्थ्य समस्याका कारण १५ प्रतिशतभन्दा बढी कार्यदिन गुमाउने गरेका छन् । उता, पुरूषहरुमा यो दर ६ प्रतिशतमात्र छ । ‘पुरूषको तुलनामा बिरामीले महिला कर्मचारीको आम्दानीमा बढी प्रभाव पारेको छ, अर्कोतिर उनीहरुको स्वास्थ्योपचार खर्च पनि पुरूषको तुलनामा अधिक छ,’ स्थानीय प्रशासनको माध्यमबाट स्वास्थ्य सेवा प्रावधान र स्वास्थ्य परिणाम व्यवस्थापन नामक जीडीएनको कार्यपत्रमा भनिएको छ । त्यस्तै, महिला र पुरूषको बिरामी र उपचारमा स्थानीय प्रशासन र महिला सशक्तीकरणको उल्लेख सकारात्मक प्रभाव रहेको कार्यपत्रले देखाएको छ ।
सुरक्षित पिउने पानी, सफा र स्वच्छ वातावरणमाथिको पहुँच तथा स्वास्थ्य जनचेतनाले रोगलाई उल्लेख्य स्तरमा घटाउन सकिने कार्यपत्रमा बताइएको छ । यी तत्वहरुले सार्वजनिक र निजी स्वास्थ्य सेवाको उपयोग घटाउनुका साथै स्वास्थ्योपचारमा हुने निजी खर्च घटाउनसमेत सहयोग पुर्याउने बताइएको छ । त्यसैगरी, पैतृक सम्पत्तिमाथिको पहुँचले महिला र पुरूष दुवैमा बिरामी हुने घटनालाई समान स्तरमा कम गरेको पाइएको छ । पैतृक सम्पत्तिले पुरूषको तुलनामा महिलाको निजी स्वास्थ्य खर्चलाई धेरै मात्रामा घटाएको अध्ययनले देखाएको छ । यसले महिला र पुरूषको स्वास्थ्य सेवामाथिको पहुँचमा परिवारभित्रै भेदभाव रहेको सङ्केत गरेको अध्ययनमा भनिएको छ ।