ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्वोच्च अदालतको नयाँ नजीर : अवाञ्छित दोषपूर्ण गतिविधि पनि भ्रष्टाचारको पर्याप्त आधार

Jun 10, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार हुनका लागि आर्थिक लाभ वा हानि मात्र आधार नहुने उल्लेख गर्दै अवाञ्छित किसिमको दोषपूर्ण गतिविधि पनि पर्याप्त हुने नजीर प्रतिपादन गरेको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले उक्त नजीर प्रतिपादन गरेको हो । परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा दायर भएको मुद्दामा सर्वोच्चले ५ महीनाअघि पैmसला दिएको भए पनि ३ दिनअघि मात्र नेपाल कानून पत्रिका मार्फत त्यसको पूर्ण पाठ सार्वजनिक गरेको हो । पाल्पाको जनजागृति निमाविका लागि प्राविस्तरको करार शिक्षक आवश्यकता भई विज्ञापन गरिए अनुसार २०७० जेठ १६ मा परीक्षा भएको थियो । परीक्षार्थीहरूको उत्तरपुस्तिका एकपटक परीक्षण गरेपछि आएको नम्बरमा टिपेक्स लगाई पुनः परीक्षण गरेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उत्तरपुस्तिका परीक्षण गर्ने मथुराप्रसाद ढकाल र डोलराज अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर दर्लामी, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि चन्द्रबहादुर कुँवर र प्रधानाध्यापक एकप्रसाद श्रेष्ठलाई प्रतिवादी बनाइएको थियो । विज्ञापन बमोजिम योग्यता पुगेका ८ जनाले परीक्षा दिएका थिए । तीमध्ये मीना भण्डारी ६४ दशमलव ९० अंक प्राप्त गरी प्रथम भएकी थिइन् । त्यसको केही समयपछि आठै जना परीक्षार्थीले प्राप्त गरेको अंकमा टिपेक्स लगाई सबैको प्राप्तांकमा फेरबदल गरियो । पहिले प्रथम भएकी भण्डारीको प्राप्तांक ५८ दशमलव ९० बनाइयो भने मानवी सोमैलाई ७० दशमलव ६० अंक दिइयो । जबकि, सोमैको पहिलेको अंक ६३ दशमलव ६० मात्रै थियो । त्यसपछि परीक्षामा प्रथम भएको उल्लेख गर्दै सोमैलाई नियुक्ति पत्र दिइएको थियो । यसरी परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । प्रतिवादीहरूका तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचार हुनका लागि आफू वा अरू कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने बदनियतले कुनै पनि प्रकारले परीक्षाको परिणाम फेरबदल गरिएको हुनुपर्ने जिकीर गरेका थिए । सो मुद्दामा विशेष अदालतले उत्तरपुस्तिका परीक्षण गर्ने ढकाल र अर्याललाई मात्र भ्रष्टाचारी ठहर गरी अन्य प्रतिवादीलाई सफाइ दिएको थियो । सर्वोच्चले पुनरावेदनको रोहबाट पनि विशेष अदालतकै फैसलालाई सदर गरेको हो । सर्वोच्चले अवाञ्छित किसिमको दोषपूर्ण गतिविधि पनि भ्रष्टाचारजन्य कसूरको अर्को महत्त्वपूर्ण आधार भएको स्पष्ट गरेको छ । पैmसलामा उल्लेख छ, ‘प्रतिवादीले त्यस किसिमको गैरकानूनी र अवाञ्छित किसिमको गतिविधि केवल आर्थिक लाभ हानि पुर्‍याउने मनसायका साथ गरेको थिएन भन्ने आधारमा मात्र उक्त दोषपूर्ण कार्यबाट निजले उन्मुक्ति पाउने अवस्था रहँदैन ।’ यस मुद्दामा प्रतिपादित नजीरले भ्रष्टाचारको दायरलाई केही फराकिलो बनाएको कानून व्यवसायीहरूले बताएका छन् । प्रतिवादीहरू ढकाल र अर्याललाई जनही ३ महीना कैद र रू. ५ हजार जरीवाना गरिएको छ । उनीहरूको सरकारी सेवा पनि समाप्त भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)