जेठ ३०, वीरगञ्ज । चालिस वर्ष अघिसम्म समृद्ध र गुलजार बजारको रुपमा पहिचान पाएको भिस्वा बजार हिजोआज सुनसान देखिन थालेको छ । पश्चिमी पर्साको दर्जनभन्दा बढी गाउँ तथा सीमावर्ती भारतका मानिसहरुको किनमेल गर्ने थलोका रुपमा परिचय पाएको यो बजार कालान्तरमा आएर उजाड हुँदै गएको छ ।
ग्राहकको अभावमा अहिले परम्परागत शैलीको व्यवसाय र कष्टपूर्ण दैनिकी यहाँको व्यापारीको दिनचर्या भएको छ । त्यतिबेला सीमावर्ती भारतीय बजार सिकटा, भेलाही, इनर्वालगायतका ठाउँबाट भारतीय ग्राहकहरु चाइनिज, जापानी, कोरियन लगायतका विदेशी समान र कपडा खरीद गर्न भिस्वा बजार आउने गरेको स्मरण गर्दै व्यापार संघ भिस्वाका अध्यक्ष गणेश जैसवालले भने, ‘तर भारतले नै विदेशी कपडाको खुला व्यापार शुरु गरेपछि भारतीयहरुको यहाँ आउने क्रम घट्दै जाँदा अहिले यो बजारले आफ्नो आर्थिक साख गुमाउँदै गएको छ ।’
कर वापत सरकारलाई वार्षिक झन्डै रू. ५० लाख बुझाउँदै आएका यहाँका व्यापारीहरुले वीरगञ्जबाट सामान लैजांदा ठाउँठाउँमा सुरक्षाकर्मीले समात्ने, अनाहकमा दुःख दिने तथा सामान जफत गर्ने प्रवृत्ति बढ्दै गएपछि व्यापारीहरुले नेपाली करदाता बन्नुमा हिनतावोध भएको पीडा व्यक्त गरे । नुनदेखि सुनसम्म पाउने यो बजारमा अहिले पनि करीब ८० व्यापारीले आफ्नो व्यवसाय गर्दै आएका छन् । यस क्षेत्रका ग्रामीण भेगका ९० प्रतिशत नेपाली अहिले पनि भारतीय बजार सिकटामाथि नै निर्भर छन् ।
अहिले यो बजारको व्यापार घटेर दैनिक रू. २ लाख देखि ३ लाखमा झरेको अर्का व्यापारी महमुद आलम भन्छन, ‘७० वर्ष पुरानो यो बजार सुक्दै गएपछि यहाँ रहेका उद्योगहरु पनि बन्द भएका छन् ।’पर्सा जिल्लाको निर्वाचन क्षेत्र ४ र ५ का जनताको रोजाइमा भारतको सिकटा बजार परेकाले पनि यहाँको बजार खस्किँदै गएर यसको आर्थिक समृद्धि समाप्त हुन थालेको स्थानीयवासीको भनाइ छ । हिजोको जीवनशैली र दैनिकीबाट एकाएक भिस्वा बजारको परिचय लोप हुन थालेकामा स्थानीवासी चिन्तत छन् ।
स्थानीयवासी रामजीप्रसाद कानु भन्छन्, ‘बजारको बदलिँदो अवस्थामा सुधार ल्याउन केन्द्र, प्रदेश र स्थानीय सरकारले चासो देखाउन सकेको छैन । ’छिपहरमाई गाउँपालिका–५ मा पर्ने भिस्वा बजारको जनसंख्या करीब ४ हजार रहेको छ भने गाउँगाउँमा पुगेका सडकबाटोका कारण बजारसम्म आउन स्थानीयवासीलाई सजिलो भएका छन् । तरपनि उनीहरु भिस्वाबजारमा किनमेल नगरी भारतको सिकटाबजार जाने गरेकाले यो बजार उजाड हुँदै गएको छ ।
‘सदरमुकाम वीरगञ्जबाट करीब ३० किलोमिटर पश्चिममा भारतीय सीमासँग जोडिएको यो बजारको विकासमा ध्यान नदिँदा भिस्वा बजारले पुनर्जीवन पाउन सकेको छैन’, ४० वर्षदेखि व्यापार गर्दै आएका जमालुदिन मियाँ भन्छन्, ‘कुनै समयमा भिस्वाबजारको बढ्दो आर्थिक चहलपहलले सबै नेपालीका लागि व्यापार गर्ने थलोका रुपमा विकसित भइरहेको भिस्वा बजारले व्यापार घाटाका कारण अहिले आर्थिक समृद्धि हासिल गर्न सकेको छैन ।’
शिक्षा क्षेत्रमा राम्रै फड्को मारेको भिस्वाबजारमा हेल्थपोष्ट, निजी क्षेत्रका बैंक, छोटी भन्सार कार्यालय, प्रहरी चौकीलगायतका पूर्वाधार क्षेत्रमा यो बजारले फड्को मार्यो तर आर्थिक क्षेत्रमा भने फड्को मार्न नसकेकाले यो बजार आर्थिक रुपमा माथि उठ्न नसकेको स्थानीयवासी दिनेशप्रसाद कानुको भनाइ छ ।
सीमावर्ती भारतबाट भिस्वा नाका भएर भारतीय सवारी साधनहरु नेपाल भित्रिँदा छोटी भन्सार कार्यालयमा छुटपुर्जी काट्ने व्यवस्था नहुँदा त्यसले पनि भारतीयहरु आउन हिचकिचाउने गरेका छन् । करीब ७० वर्षको लामो इतिहास बोकेको भिस्वा बजारका व्यापारीहरुले आफ्नो व्यवसायलाई आधुनिकतासँग जोड्न नसक्दा यो बजार उजाड हुँदै गएको छ भने सीमावर्ती भारतीय बजार गुलजार हुँदै गएको जानकारहरु बताउँछन् । रासस