ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘लुट नेपाल’ धारावाहिक

Jun 14, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
एक/दुईबाहेक नेपालमा चलेका ‘टीभी रियालिटी शो’ त्यति राम्रा, स्तरीय विषयवस्तु भएनन् भन्ने जनगुनासा धेरै सुनिन थालेको छ । प्रयास गर्‍यो भने कतै आफै पो एउटा खतरा कार्यक्रम बनाऊँ कि जस्तो लागेको छ । विषयवस्तु के हुन सक्छ भनेर गम खाँदै जाँदा एउटा गज्जबको कुरा फुरेको छ, जुन यस्तो छ :– अहिले नेपाली विद्युतीय पर्दामा प्रायः मनोरञ्जनात्मक कार्यक्रम धेरै छन् । ज्ञानप्रधान कार्यक्रम छैनन् भन्दा पनि हुन्छ । यस्तो ज्ञान, जसले हाम्रो व्यावहारिक जीवनमा पनि काम आओस् । अहिले देशमा जताततै लुटैलुट चलिरहेको देखिन्छ । शिक्षाका नाममा लुट, विकासमा काममा लुट, झन् सरकारी लुटको त सीमा नै छैन । त्यसैले यो विषय सबै हिसाबले आकर्षक हुन्छ भन्ने अनुमान छ । त्यसैले यो पंक्तिकार ‘लुट नेपाल लुट’ नामक कार्यक्रम बनाउने सोचमा पुगेको छ । किनकि एक त अहिले सबैतिर सबैभन्दा बढी यही चलिरहेको छ । शायद धेरै दर्शक, स्रोताहरू पनि यो कार्यक्रम हेरेर केही लाभान्वित हुन सक्छन् । ‘लुट’ भन्ने चलचित्रको सफलतापछि पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गीत पनि हिट भएको थियो । त्यो गीतले ‘लुट्न सके लुट’ भन्थ्यो । तर हाम्रो कार्यक्रमले भने लुुट मात्र भन्दैन, लुट्ने थरीथरीका तरीका नै सिकाउँछ ।
नेताजी भएपछि लुट नेपाल धारावाहिक नेपालको मात्र नभई विश्वकै एक हिट र एकमात्र नमूना कार्यक्रम हुनेमा यो पंक्तिकार पूर्ण विश्वस्त छ ।
यो कार्यक्रम यति जानकारीमूलक हुन्छ कि यो कार्यक्रमबाट दर्शकले देशलाई कति सजिलैसँग लुट्न सकिन्छ भनेर पूर्ण जानकारी पाउनेछन् । यस कार्यक्रमबाट देशलाई कति प्रकारले लुट्न सकिन्छ, को को मिलेर लुट्न सकिन्छ, जनतालाई कसरी कसरी मुर्गा बनाउन सकिन्छ आदिबारे पनि विस्तृत रूपमा जानकारी दिइनेछ । कार्यक्रममा लुट्ने तरीका सिकाउन आ–आफ्नो क्षेत्रका नामी बेनामी विज्ञहरूलाई प्रस्तुतीकरणका लागि अतिथि बनाएर बोलाइनेछ । लुट्ने तरीका सिकाउन जान्ने त देशमा थुप्रै किसिमका विज्ञहरू प्रशस्त छन्, जस्तै– कतिपय महायज्ञ लगाउनेहरू, धर्मगुरुहरू, जग्गा, खोला, बगर, गिट्टी, ढुंगा, बालुवा कारोबारीहरू आदि । उहाँहरूलाई कार्यक्रमको पछिल्ला श्रृंखलाहरूमा विस्तारै आमन्त्रण गर्दै गरौंला । तर शुरूमा अतिथिहरूमा एउटा छुटाउनै नहुने वर्ग हुनेछ शिक्षक र बुद्धिजीवीबाट कोही । देशलाई लुट्ने अनेकौं उपाय उनीहरूसँग भएको थाहा पाउँदा दर्शक–श्रोता दंगदास पर्नेछन् । शिक्षक र बुद्धिजीवी पनि थरीथरीका क्षेत्रमा छन् । कोही किताब लेखेका, गेसपेपर, गाइड लेखेर विद्यार्थीलाई चौर्यकलामा निपूण बनाउन सफल, कोही निजी कलेज चलाएर १–२ वर्षमै निजी भवन ठड्याउन सफलहरू पनि छन्, जसले विद्यार्थीलाई कि विदेश जाने कुरामा विभिन्न रूट र तौरतरीका सिकाउन सकेका छन्, कि स्वदेशमै कसरी काम नगरी गफ लगाएकै भरमा पैसा कमाउन सकिन्छ भन्नेमा पारंगत बनाउन सफल छन् । कोही देश सेवा गर्नकै लागि आईएनजीओको सेवामा पूर्ण समर्पित छन्, जसले देश कसरी नचलाउने भनेर विदेशीलाई राम्रै परामर्श दिन भ्याएका छन् । मुख्य त विगत र वर्तमानमा लाभका ठूला पदहरूमा काम गरेका ‘बुद्धिजीवी’हरूलाई कार्यक्रमका अतिथि बनाउनु बेस हुन्छ । किनकि उहाँहरूसँग देशलाई नीतिगत रूपमै कसरी लुँड्याउन सकिन्छ भन्ने प्रशस्त ज्ञान हुन्छ । कार्यक्रममा अर्का अतिथि हुन सक्छन् नीति नियम, कानून कार्यान्वयन गर्ने, गराउने तहमा काम गरेका र लुट्ने काममा असाधारण क्षमताका धनी श्रीमान् घोटाला शर्मा जस्ताहरू । प्रशासनमा रहेर यिनले २ नम्बरी, ३ नम्बरी वा ४ नम्बरी व्यापारी, एनजीओमार्फत देशको यति ‘सेवा’ गरिसकेका छन्, कि यिनको नाम ‘गिनिज बूक’मा आइसक्नुपर्ने हो । प्रशासन क्षेत्रमा घोटाला शर्माजस्ता थुप्रै विज्ञ छन्, त्यहाँबाट कसैलाई पनि अतिथि बनाएर ल्याउन सकिन्छ । कार्यक्रममा छुटाउनै नहुने अर्का अतिथि हुन् नवधनाढ्य, जो नयाँ पूँजीवादी धार (जसलाई हिजोआज ‘क्रोनी क्यापिटलिज्म’ अर्थात् याराना पूँजीवाद पनि भन्छन्)का सूत्रधार पनि हुन् । यिनै हुन् विभिन्न परियोजनाका नाममा नेताका पैसा तह लगाउन सक्षम । शब्द जे भने पनि काम चैं यी पूँजीवादीले पनि बेच्ने नै हो, चाहे त्यो पानी बेच्ने हुन्, जंगल बेच्ने हुन्, जग्गा–जमीन वा मोबाइल र प¥यो भने इमानसमेत बेच्ने हुन् । यिनले पाए भने सिंहदरबार, बालुवाटार, टुँडिखेल सबै बेच्नेछन् । त्यसमध्ये केही त बेचिसकेका पनि छन् क्यारे । त्यो बेच्नलाई नयाँ गुठी विधेयक हुबहु पास भयो भने शायद त्यसले पनि केही मद्दत नै गर्ला । तर जे जे बेचे पनि यिनले मुनाफा आपूmमात्र भने राख्दैनन् । भागबन्डा गर्ने कुरामा यिनीहरू इमानदार नै हुन्छन् । चोरहरू पनि त आ–आपूmबीच इमानदार रहन्छन् । त्यसैले वैश्य युगका यी व्यापारीले नेता, प्रशासक, प्रहरी आदिलाई पनि उनीहरूको योगदानअनुसार केही हिस्सा नाफा बाँड्ने गरेका छन् । व्यावसायिक जगत्का यस्ता हस्ती कार्यक्रममा अतिथि पाएपछि के चाहियो, कार्यक्रम त यसै हिट हुनेछ । कार्यक्रममा मुख्य अतिथि हुनेछन् कुनै एक नेता । राजनीति क्षेत्रबाट लुटतन्त्रमा विद्यावारिधि गरेका हजारौं एकसे एक अतिथि भेटिन्छन् नै । उनीहरूमध्ये जसलाई ल्याए पनि भयो । लुट्नकै लागि एक ढिक्का देशलाई गणतन्त्रको जामा लगाइदिएर कसरी भित्रभित्रै राजनीतिक रूपमा टुक्राटुक्रामा विभक्त गर्ने, कसरी एकआपसमा मिलेर बसेको समाजलाई जात, जाति, धर्म, वर्ग, लिंग, प्रदेश आदिका नाममा एक अर्कामा लडाएर र फुटाएर शासन गर्ने ता कि आफ्नो लूटमा जनताले हिस्सा नखोजून् भन्ने कला यी जस्ता अतिथिले पक्कै सिकाउनेछन् । कसरी होली वाइन पिएपछि सबै कुकर्मलाई सुकर्म बनाउन सकिन्छ, कसरी कला संस्कृतिको गला निमोठ्न सकिन्छ भन्ने ट्रिक पनि यिनले सिकाउँछन् । लुट्नकै लागि ऐन, नियम, कानून, कार्यविधि, आयोग बनाएर कसरी गर्न सकिन्छ, कसरी राम्रालाई भन्दा हाम्रालाई सरकारी ढुकुटीमा हुल्न सकिन्छ भन्नेजस्ता सबै तिगडमहरू यिनलाई राम्ररी थाहा छ । यी वा यस्ता नेताजी भएपछि लुट नेपाल धारावाहिक नेपालको मात्र नभई विश्वकै एक हिट र एकमात्र नमूना कार्यक्रम हुनेमा यो पंक्तिकार पूर्ण विश्वस्त छ । यति गरेपछि नहोला त यो नयाँ टीभी रियालिटी शो सफल ? पाठकवृन्द ! तपाईंसँग पनि कार्यक्रम चलाउन भन्दा पनि राम्रा विषय छन् भने कृपया ईमेल गर्न नभुल्नुहोला नि ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)