ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सातै प्रदेशको बजेट आज

Jun 16, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०७६/७७ का लागि सातओटै प्रदेशले आइतवार बजेट ल्याउँदै छन् । प्रदेश सरकारहरूले आगामी आवको बजेट असार १ गते ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ । संघीय सरकारले प्रदेशलाई तोकेको वित्तीय अनुदान, राजस्व बाँडफाँट र रोयल्टीको निर्धारणअनुरूप ती स्रोतमा आधारित भएर सातओटै प्रदेशका अर्थमन्त्रीहरूले प्रदेशसभामा बजेट पेश गर्नेछन् । प्रदेशको आन्तरिक राजस्व र आन्तरिक ऋणलाई समेत आधार मान्दै बजेट बनाइएको छ । चालू आव २०७५/७६ मा रू. ३५ अर्ब ९३ करोड बजेट ल्याएको प्रदेश–१ सरकारले बजेटको आकार २०–२५ प्रतिशतसम्म बढाउँदै छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रस्तुत गर्ने बजेटमा प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई जोड दिने भएको छ । आगामी वर्षको बजेट जलस्रोत, पूर्वाधार, कृषि, पर्यटन लगायत क्षेत्रमा परिचालन गरिने नीति रहेको मन्त्री आङ्बोले आर्थिक अभियानसित बताए । यस्तै, चालू आवमा रू. २९ अर्ब ७८ करोड बजेट ल्याएको प्रदेश–२ सरकारले रू. ३० अर्बभन्दा बढीको बजेट ल्याउँदै छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रस्तुत गर्ने बजेटमा चालू आवमा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसदहरूलाई रू. २५ लाख दिने कार्यक्रमलाई निरन्तरता दिइँदै छ । आगामी आव २०७६/७७ का लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुरूप स्वाथ्य, शिक्षा, सिँचाइ लगायत क्षेत्रलाई बजेटले जोड दिने मन्त्री यादवले जानकारी दिए । उनका अनुसार चालू आवको बजेट खर्च गर्न कर्मचारीको अभाव र कानूनी समस्या मुख्य थियो । समस्या समाधानका लागि संघीय सरकारसँग बजेटपछि कुरा गर्ने उनको भनाइ छ । चालू आवमा रू. ३५ अर्ब ६१ करोड बजेट ल्याएको प्रदेश–३ सरकारले बजेटको आकार ३० प्रतिशतभन्दा बढी बढाउँदै छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आइतवार अपरा≈न ४ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तालिका रहेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले जानकारी दिए । उक्त प्रदेशको बजेट मुख्यतः आगामी २ वर्षभित्र प्रदेशका महानगरपालिकाभित्रका खरको छानो हटाउनेदेखि २०८५ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापन गर्नेसम्म योजनामा केन्द्रित हुँदै छ । यस्तै, चालू आवमा रू. २४ अर्ब बराबरको बजेट ल्याएको गण्डकी प्रदेशले यस वर्ष १० प्रतिशतभन्दा बढी आकार बढाउँदै छ । मुख्यतः बजेट पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारमा केन्द्रित हुनेछ । प्रदेश–५ का मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले प्रदेशसभामा प्रस्तुत गर्ने बजेटको आकार बढाइँदै छ । चालू आवमा उक्त प्रदेशले रू. २८ अर्बको बजेट ल्याएको थियो । नीति तथा कार्यक्रममा प्राथमिकतामा परेका शिक्षा, स्वास्थ्य, पूर्वाधारमा बजेट केन्द्रित रहने स्रोतको भनाइ छ । कर्णाली प्रदेश सरकारले रू. ३० अर्बभन्दा बढीको बजेट ल्याउँदै छ । आगामी आवका लागि ल्याइएको नीति तथा कार्यक्रममा बजेट केन्द्रित हुने आर्थिक मामिला तथा योजना मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । यस्तै, चालू आवमा २५ अर्बको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले पनि आगामी आवको बजेटको आकार बढाउँदै छ । नीति तथा कार्यक्रममा उल्लेख भएका सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासमा बजेट केन्द्रित हुने मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)