असार १, काठमाडौं (अस)। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गरी करारमा कर्मचारी भर्ना गर्न दिएको निर्देशन संविधान तथा कानून विपरित भएको दाबी गरी आइतवार सर्वोच्च अदालतमा रिट निवदेन दायर भएको छ ।
अधिवक्ता राजाराज घिमिरेद्वारा दायर गरिएको रिट निवेदनमा लोक सेवा आयोगले निकालेको विज्ञापन यथावत राखी परीक्षा नरोक्न आदेशको माग गरिएको छ ।
आयोगले गत जेठ १९ गते ९ हजार १६१ पदमा कर्मचारी पदपूर्ति गर्न विज्ञापन गरेको थियो । त्यसरी विज्ञापन प्रकाशित गरेपछि राज्य व्यवस्था समितिले त्यसलाई रद्द गर्न गत जेठ २७ गते निर्देशन दिएको थियो । समितिले त्यस्तो निर्देशन दिएको भएपनि आयोगले विज्ञापन बमोजिम फारम बुझ्ने कार्य जारी राखेको छ ।
हालसम्म आयोगमा १ लाख भन्दा बढीले फारम भरिसकेका उल्लेख गरिएको छ । रिट निवेदनमा विज्ञापन बमोजिम आयोगले ठूलो लगानी गरिसकेको दाबी गरिएको छ ।