ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मजदूर आन्दोलनका कारण हायात होटेल बन्द

Jun 18, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । सरकारी जग्गा र तारागाउँ विकास समितिको शेयर स्वामित्वसम्बन्धी विवादमा तानिएको काठमाडौंको पाँचतारे होटेल हायात रिजेन्सी अहिले मजदूर आन्दोलनका कारण बन्द भएको छ । दैनिक अक्युपेन्सी करीब ७० प्रतिशत रहेको उक्त होटलको सेवा जेठ ३० देखि मजदूरहरूको आन्दोलनका कारण बन्द भएको छ । तारागाउँ रिजेन्सी होटल लिमिटेडका जनसम्पर्क अधिकृत गोविन्दराम परियारका अनुसार आन्दोलनका कारण दैनिक रू. ५० लाखदेखि रू. ६० लाख घाटा बेहोर्नु परिरहेको छ । मजदूरहरूलाई काममा फर्काउन तीन पटकसम्म पत्राचार गरिएको उनले बताए । हालको परिस्थितिमा तत्काल सुधार नआए भविष्यमा होटल सञ्चालन गर्न कठिनाइ हुने कम्पनीले बताएको छ । सन् २००४ देखि २०१८ सम्म भएका सम्झौता कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रिनु परेको अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदूर संघका अध्यक्ष मुक्ति दाहालले बताए । ‘६ महीनादेखि कम्पनी व्यवस्थापनसँग छलफल भइरहेको थियो तर पनि सम्झौताहरू कार्यान्वयन भएनन्,’ उनले भने, ‘सम्झौता कार्यान्वयन गर्न कम्पनी तयार भए र काम गर्ने वातावरण भएमा आन्दोलन स्थगित गर्छौं ।’ उनका अनुसार कम्पनीका करीब ३६५ मध्ये ३२० जना कर्मचारी र कामदार आन्दोलनमा उत्रिएका छन् । हायात होटेलको सेवा बन्द भएको लिखित जानकारी कम्पनीले सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको छ । मजदूर आन्दोलनका कारण सेवा बन्द गर्नुपरेको र रिजर्भेशनसमेत बन्द गरिएको कम्पनीले नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ । जेठ ३० मा उक्त कम्पनीको प्रतिकित्ता शेयर मूल्य रू. ३२४ थियो । त्यस दिन २४ हजार ८७२ कित्ता शेयर खरीद विक्री हुँदा कम्पनीको रू. ८० लाख २३ हजार ९१८ बराबरको कारोबार भएको थियो । आन्दोलन जारी रहँदा उक्त कम्पनीको शेयर कारोबार र प्रतिकित्ता शेयर मूल्य पनि घटेको छ । सोमवार शेयर मूल्य प्रतिकित्ता रू. ३२१ मा झरेको छ भने कम्पनीको २१ हजार ९१० कित्ता शेयर खरीद विक्री हुँदा रू. ६९ लाख ९२ हजार ६३० बराबरको कारोबार भएको छ । संघले माग पूरा गराउने उद्देश्यले व्यवस्थापनलाई गलत प्रभाव र दबाब दिन प्रतिष्ठानमा कार्यरत एकदेखि चार तहसम्मका श्रमिक, कामदार र कर्मचारीलाई जबरजस्ती साथमा लिएको कम्पनी सचिव रमणकुमार कर्णको हस्ताक्षरमा नेप्सेलाई पठाइएको जानकारी पत्रमा उल्लेख छ । ‘गैरकानूनी हडताल र नारा जुलुसका कारण होटलको सम्पूर्ण सेवा र व्यवस्थापनका प्रशासनिक काम कारबाहीहरू अवरुद्ध भएका छन्,’ पत्रमा भनिएको छ, ‘होटेलमा रहेका पाहुनालाई आवश्यक सेवासुविधा पु¥याउन नसक्ने स्थिति भएकाले होटेल बन्द गर्न व्यवस्थापन बाध्य भएको छ ।’ तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालनमा आएको कम्पनी हो । पछिल्लो समय उक्त कम्पनी सरकारी जग्गा र तारागाउँ विकास समितिको शेयर अंश घटेको विषयमा विवादमा तानिँदै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)