काठमाडौं । तपाईं पक्कै पनि कुनै संस्था वा कम्पनीमा काम गर्नुहुन्छ होला । तर, महीना बित्न पाएको छैन, तलब कहाँ जान्छ थाहा हुँदैन । यो समस्याले अधिकांशलाई पिरोलिरहेको हुन्छ, जसले गर्दा नगरी नहुने किनमेल वा अरू केही होस् अर्को महीनाका लागि थाँती राख्नुपर्ने हुन्छ । तलब बैंक खातामा जम्मा भएको केही दिनमै कुन शीर्षकमा कति खर्च गर्ने भन्ने हेक्का नै नभई खर्च भइसक्छ ।
घरभाडा, गाडीभाडा, घरको मासिक किस्ता, केटाकेटीको स्कुल फी, दैनिक उपभोग्य सामान अथवा पानीको बिल । यस्ता कयौं शीर्षकमा धेरै रकम थाहै नपाई खर्च हुन्छ । खर्च केमा र किन भइरहेको छ भन्ने कुरातर्फ ध्यान नदिँदा पनि सोचेभन्दा बढी खर्च भइरहेको हुन सक्छ । अनावश्यक किनमेल वा अन्य कुनै कारणले खर्च बढिरहेको भन्ने पनि थाहा नहुन सक्छ । विज्ञहरूका अनुसार यस्तो समस्या छ भने मासिक बजेट योजना बनाउनु आवश्यक छ । यस्तो समस्याबाट छुटकारा पाउन विज्ञहरूले ५०/३०/२० को नियमको सहयोग लिन सुझाव दिएका छन् ।
के हो ५०/३०/२० को नियम ? अमेरिकी सीनेट र टाइम म्याग्जिनका १०० प्रभावशाली व्यक्तिमध्ये एक एलिजाबेथ वारेनले सर्वप्रथम आफ्नी छोरीसँग मिलेर घर खर्च तथा बचतका लागि ५०/३०/२० को नियम बनाइन् । उनीहरूले मासिक आम्दानीलाई जरुरी, चाहना र बचत गरी तीन भागमा बाँडे ।
वारेनका अनुसार रासन, घरभाडा, बिजुलीको बिल, मोबाइल खर्च, केटाकेटीको स्कुल फीजस्ता नभई नहुने दैनिक उपभोग्य वस्तुका लागि आफ्नो आम्दानीको ५० प्रतिशत छुट्याउनुपर्छ । । यसपछि मात्र ३० प्रतिशत आफ्ना आवश्यकता र चाहना अनुसारका शीर्षकमा खर्च गर्नुपर्छ । यो यस्तो खर्च हो जुन अर्को महीनामा पनि गर्न सकिन्छ । तर, यस्ता शीर्षक खरीद गर्दा तपाईं हामीलाई खुशी मिल्छ । महीनामा एक वा दुईपटक परिवारसँग सिनेमा हेर्नु, पार्लर जानु, शपिङमलमा कपडा किन्नु वा कुनै दिन समय मिलाएर होटलमा खाना खानुमा छुट्टै सन्तुष्टि पाइन्छ ।
आवश्यकता र इच्छापछि नै बचतको कुरा आउँछ । त्यो नै वास्तविक बचत पनि हो । ५०/३०/२० को नियमलाई आधार मान्ने हो भने आफ्नो आम्दानीको कम्तीमा २० प्रतिशत अवश्य बचत गर्नुपर्छ । किनकि, यो योजनाको उपयोग भविष्यका लागि आवश्यक हुन्छ । यसले वृद्धावस्था तथा आकस्मिक योजनामा पनि सहयोग पुर्याउँछ ।
एजेन्सीको सहयोगमा