धनगढी । सरकारले कञ्चनपुरको दोधारा–चाँदनीस्थित कन्जभोगमा सुक्खा बन्दरगाह निर्माणको घोषणा गरेको ३ वर्ष बितिसक्दा समेत कार्यान्वयन अगाडि बढेको छैन । सुक्खा बन्दरगाह नबन्दा भारत र तेस्रो मुलुकबाट नेपाल भित्रिने तथा यहाँबाट निर्यात हुने मालसामानमा एकीकृत सेवा पाउन नसकिएको गुनासो स्थानीय निजीक्षेत्रको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टर मोडल यातायात विकास समितिले पहिलो चरणमा सर्वे गरे पनि मुआब्जा विवादका कारण बन्दरगाह निर्माणमा अन्योल भएको उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद पाठकले बताए । ‘यस प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको सुक्खा बन्दरगाह कार्यान्वयन पहिलो चरणमै अन्योलमा पर्यो,’ उनले भने । विवाद समाधानका लागि टोली कञ्जभोग पुगे पनि ठोस निर्णयविनै फर्किएको उनको भनाइ छ ।
महाकाली नदीमाथि चार लेनको पुल र सुक्खा बन्दरगाह निर्माण एकसाथ अगाडि बढ्नुपर्ने हो । तर, पुल निर्माणले गति पाए पनि सुक्खा बन्दरगाह सरकारी घोषणामै सीमित बनेको उद्योग वाणिज्य संघ, कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्लले बताए । ‘न त संघीय सरकारले यो विषयलाई आप्mनो नीति, कार्यक्रम तथा बजेटमा राख्यो, न प्रदेश सरकारले नै,’ उनले भने । कञ्जभोगमा ५६/५७ बिगाहा जमीन सुक्खा बन्दरगाहका लागि छुट्ट्याउने तयारी भइरहेका बेला मुआब्जा विवादले कुनै काम हुन नसकेको सरोकारवालाको भनाइ छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गरिने घोषणा गरेका थिए । देउवाको २०७४ भदौ ७–११ को भारत भ्रमणका क्रममा जारी गरिएको ४६ बुँदे संयुक्त वक्तव्यको २४ नम्बर बुँदामा दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रसंग उल्लेख थियो । उक्त सुक्खा बन्दरगाह सहितका १० ओटा परियोजनालाई नेपालले प्राथमिकता दिएको र तिनलाई द्विपक्षीय समन्वयमा अगाडि बढाउन सहमति जुटेको संयुक्त वक्तव्यमा उल्लेख थियो ।
तर, देउवा प्रधानमन्त्रीबाट हटेलगत्तै सुक्खा बन्दरगाहको निर्माण अगाडि नबढ्दा यहाँको निजीक्षेत्र निराश बनेको छ ।
नेपालले आफ्ना आठओटा नाकालाई भविष्यका लागि अन्तरराष्ट्रिय व्यापारको केन्द्र बनाउने नीति तय गरेको छ । झापाको काँकडभिट्टा, मोरङको रानी, धनुषाको जनकपुर, पर्साको वीरगञ्ज, रूपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको दोधारा–चाँदनी उक्त सूचीमा छन् । दोधारा–चाँदनीबाट पारिपट्टि भारतीय भूमिमा ब्रोडगेज रेलमार्ग पनि निर्माणाधीन छ । उक्त रेलमार्ग उत्तराखण्डको बनवासाबाट टनकपुरसम्म विस्तार हुने क्रममा छ । दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भए भारतीय रेलमार्गलाई त्यहाँसम्म विस्तार गर्न सकिने सम्भावना पनि छ । दोधारा–चाँदनीलाई भारत गुजरातको मुन्द्रास्थित समुद्री बन्दरगाह र नयाँदिल्लीको सुक्खा बन्दरगाहसँग जोड्ने सरकारी सोच देखिन्छ ।
सुदूरपश्चिमको विकासका लागि पनि महाकालीमा चार लेनको पुल र दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह अपरिहार्य भएको कैलाली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शंकर बोगटीले बताए । ‘तर, पुल निर्माण मात्र अघि बढ्नुलाई ठूलो उपलब्धि मान्न सकिँदैन,’ उनले भने । महाकाली नदीमा निर्माणाधीन पुल २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । ८ सय मिटर लम्बाइको महाकाली पुलको काम वारिपारि करीब आठ किमीका ६ लेन सडकसमेत निर्माण हुनेगरी काम अगाडि बढाइएको छ । २३ दशमलव ८ मीटर चौडाइको उक्त पुल निर्माणका लागि रू. ३ अर्ब २७ करोडको ठेक्का सम्झौता भएको छ ।