ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उकालो लाग्दै मूल्यवृद्धि : खाद्य र गैरखाद्य दुवै समूहको मुद्रास्फीति बढ्यो

Jun 20, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, तरकारी, घिउतेल र माछामासु महँगिँदा मूल्यवृद्धि दर बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको मुलुकको १० महीनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार खाद्य र गैरखाद्य दुवै समूहको मुद्रास्फीति पछिल्लो समय बढेको छ । आर्थिक वर्ष (आव) २०७५/७६ वैशाख महीनामा मुद्रास्फीति ५ दशमलव ३ प्रतिशत पुगेको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । यस्तो मुद्रास्फीति चैत महीनामा ४ दशमलव ४ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार खाद्य सेवाभन्दा गैरखाद्य समूहको मुद्रास्फीति बढिरहेको छ । आव २०७५/७६ को पहिलो १० महीनामा यस समूहको मूल्यवृद्धि ५ दशमलव ८ प्रतिशत पुगेको छ । खाद्यान्न, तरकारी, माछामासु तथा घिउतेलको मूल्य बढ्दा खाद्य समूहको मुद्रास्फीति ४ दशमलव ७ प्रतिशतले बढेको केन्द्रीय बैंकले बताएको छ । त्यसैगरी गैरखाद्य समूहमा घरायसी सेवा, लुगा तथा जुत्ता, यातायात र फर्निचर महँगिएका छन् । केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ, तरकारीको मूल्य ६ दशमलव ३ प्रतिशतले, माछामासुको मूल्य ४ दशमलव ७ प्रतिशतले तथा घिउतेलको मूल्य ८ दशमलव २ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट पछिल्ला महीनामा मूल्यवृद्धिको केही दबाब देखिएको स्वीकार्छन् । यद्यपि, मूल्यवृद्धि चालू आवमा ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य भएकाले यसभन्दा कम रहन सक्ने उनको दाबी छ । पूरिएन शोधनान्तरको खाडल नेपालमा भित्रिनेभन्दा बाहिरिने रकम बढ्दै जादा शोधनान्तर घाटा रू. ६८ अर्ब २० करोड पुगेको छ । गत आव २०७४÷७५ को सोही अवधिमा शोधनान्तर रू. १८ अर्ब ९३ करोडले घाटामा थियो । आयात उच्च दरले बढ्नु, अध्ययन, स्वास्थ्योपचार, विदेश घुमफिर लगायतमा विदेशी मुद्रा उल्लेखनीय रूपमा बाहिरिँदा शोधानान्तरमा दबाब आएको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । शोधनान्तर घाटासँगै चालू खाता पनि घाटामा छ । राष्ट्र बैंकका अनुसार पहिलो १० महीनामा चालू खाता घाटा रू. २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ, जो गत आवको सोही अवधिमा रू. १ खर्ब ९२ अर्ब ५ करोड थियो । राष्ट्र बैंकको तथ्यांकले मुलुकको व्यापार घाटा तीव्र रूपमा बढिरहेको देखाउँछ । यस अवधिमा व्यापार घाटा १९ दशमलव ७ प्रतिशतले विस्तार भएको छ । समीक्षा अवधिमा कुल वस्तु निर्यात १८ दशमलव १ प्रतिशतले वृद्धि भई रू. ७८ अर्ब ५३ करोड पुगेको छ भने आयात १९ दशमलव ६ प्रतिशतले बढेर रू. ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ । तथ्यांकअनुसार पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको छ । तर सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार लगायत वस्तुको आयात घटेको तथ्यांकमा उल्लेख छ । विकास निर्माणका लागि बढेको आयात घातक नभए पनि अन्य विलासिताका वस्तु र उपभोग्य वस्तुको आयातले भने देशको अर्थतन्त्रमा प्रभाव पार्नसक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. भट्टको भनाइ छ । सेवा क्षेत्रमा बाहिरिँदै अर्बौं रकम समीक्षा अवधिमा खुद सेवा आय रू. ९ अर्ब ४६ करोडले घाटामा छ । गत आवको सोही अवधिमा सेवा आय रू. ४० करोडले घाटामा थियो । सेवा खाता अन्तर्गत पर्यटन आय ११ प्रतिशतले वृद्धि भई रू. ६३ अर्ब २८ करोड पुगेको छ । गत आवमा यस्तो आय रू. ५७ अर्ब थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा पर्यटन व्यय १४ दशमलव ७ प्रतिशतले वृद्धि भई रू. ७३ अर्ब ६५ करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्फको खर्च रू. ३७ अर्ब ६७ करोड छ । गत आवको सोही अवधिमा पर्यटन व्यय रू. ६४ अर्ब २१ करोड थियो । ८ महीनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति दश महीनामा आयात गरेको आधार अनुसार बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८ महीनाको वस्तु तथा सेवा आयात मात्र धान्न सक्ने देखाएको छ । कुल विदेशी विनिमय सञ्चिति २०७६ वैशाख मसान्तमा रू. १० खर्ब ६० अर्ब ७० करोड छ । २०७५ असार मसान्तमा रू. ११ खर्ब २ अर्ब ५९ करोड थियो । विप्रेषणमा निरन्तर वृद्धि वैदेशिक रोजगारीका लागि बाहिरिने नेपालीको संख्या घटे पनि उनीहरूले पठाउने विप्रेषणको रकम भने बढेको छ । चालू आवको १० महीनामा यस्तो विप्रेषण आप्रवाह १९ दशमलव ६ प्रतिशतले वृद्धि भई रू. ७ खर्ब २५ अर्ब ३० करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८ दशमलव ६ प्रतिशतले घटेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)